पैसा थुप्रिएपनि खराब कर्जा र ब्याज चेपटामा बैंक

पछिल्लो समय बैंकहरूले पनि क्रमशः निक्षेपको ब्याजदर एकल अंक अर्थात् ९ प्रतिशत हाराहारीमा झारेका छन्। माघदेखि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.८२ प्रतिशत घटाएका छन्। पुसमा भने यस्तो ब्याजदर ९.९९ प्रतिशत थियो। अब औसतमा ९.१७ प्रतिशत कायम भएको छ। यसअघि २०७५ सालमा पनि बैंकहरूले यसरी ब्याजदर घटाएका थिए।
मंसिर मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले कुल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप जम्मा गरेका छन्। त्यसमध्ये ४९ खर्ब ९७ अर्ब २१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी भएको बैंककै तथ्यांकमा छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६० खर्ब १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै करिब ५० खर्ब रुपैयाँ हाराहारी कर्जा लगानी भएको हो।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालुआर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार बैंकहरुको खराब कर्जा औसत ३.४ प्रतिशत छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको खराब कर्जा १.६६ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार वार्षिक करिब ५ खर्ब रुपैयाँ हाराहारीमा निक्षेप वृद्धि भइरहेको छ। तर जसरी निक्षेप बढेको छ कर्जा प्रवाह गर्ने क्षमता हुँदा पनि थप ऋण प्रवाह नभएको बैंक सञ्चालकहरुले गुनासो गर्दै आएका छन्। यसमध्ये बढी हिस्सा ओगट्ने वाणिज्य बैंकको मात्रै ५३ खर्ब ७२ अर्ब निक्षेप संकलन भएको राष्ट्र बैंकले हाल सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
अधिकांश व्यवसायीहरूले कर्जा लिन नसक्नुको कारण महँगो ब्याज भएको गुनासो गर्न थालेपछि बैंक व्याजदर पनि मासिक रुपमा घटाउन थालेका हुन्। कतिपय बैंकहरूको साना–साना ऋण भएकाले पनि त्यस्तो ऋण उठाउन सजिलो हुने गरेको छ। तर ठूला परियोजनामा लगानी भएको करोडौँ रुपैयाँ ऋणमा पैसा उठाउन समस्या हुने गरेको नेपाल बैंकर्स संघले जनाएको छ। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी बताउँछन्।
अन्तरबैंक ब्याजदर सीमाभन्दा तल गएकाले निक्षेप संकलनको बोलकबोलमार्फत बैंकिङ प्रणालीबाट पैसा तानेको हो। अहिले बैंकसँग भएको पैसा लगानी नहुँदा समस्या अर्को मोडमा पुगेको उनले बताए। ‘बैंकमा नयाँ कर्जाको माग नै नभएपछि लगानीयोग्य पुँजी पर्याप्त देखिएको हो। पछिल्लो समय कर्जा प्रवाह हुन नसक्दा बैंकिङ प्रणालीमा निरन्तर पैसा थुप्रिएको छ। यो क्रम बैशाखसम्म जाने देखिन्छ।’ उनले भने, ‘बैंकको पुस महिना दोस्रो त्रैमासिक प्रतिवेदनमा सकभर प्रवाह भएको कर्जा उठाएर राम्रो प्रतिवेदन बनाउन चाहन्छन्।
अहिले ऋण लिने पक्षमा छैनन्। त्यही भएर खराब कर्जा र लगानीको समस्या देखिएको हो।’ वर्किङ क्यापिटलको पोलिसीअनुसार अहिले थप कर्जा दिनभन्दा ब्याज र किस्ता उठाउने हो। त्यसमाथि पनि बैंकमा कर्जाका माग नभएको उनको दाबी छ। उनका अनुसार ऋणीले समयमा ऋण नतिरेमा बैंकले धितो लिलाम गरेर भए पनि आफ्नो ऋण चुक्ता गर्न सक्छ। अहिले यस्तो गर्दा पनि ऋण नउठने अवस्था छ।
हालसम्म समग्र बैंक तथा वित्तीय संस्थाबाट ५० खर्ब २९ अर्ब रुपैयाँ लगानीमा छ। यसमध्ये वाणिज्य बैंकको मात्रै ४४ खर्ब ४६ अर्ब रुपैयाँ लगानीमा छ। यसबाहेक ५ अर्ब ८२ अर्ब रुपैयाँ कर्जा विकास र वित्त कम्पनीमार्फत प्रवाह भएको छ। यसबाहेक विकास र वित्त कम्पनीहरूले ६ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। केन्द्रीय बैंकले पुस महिना सुरु भएयता निक्षेप संकलन उपकरणबाट १ खर्ब ८० अर्ब रुपैयाँ पैसा तानेको (प्रशोचन गरेको) छ।
कर्जा रकमको पाँच प्रतिशत रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। तर, पुसमा पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएको कर्जाहरू जुन वर्गमा वर्गीकरण भएका थिए, सोही वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था समेत छ। अहिले बैंकबाट कर्जा प्रवाह नभएका कारण पैसा जम्मा भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताएका छन्। चालु आर्थिक बर्षमा खराब कर्जा भन्ने नमिल्ने अवस्थामा रहेको छ।
वर्किङ क्यापिटलको पोलिसीअनुसार अहिले थप कर्जा दिनभन्दा ब्याज र किस्तामा सामान्य उत्तरचढाव भएको उनले जानकारी दिए। खराब कर्जाको समस्या समाधान हुँदै बैंकिङ प्रणालीमा केही परिवर्तन आउने उनको भनाइ छ। खराब कर्जाको वर्गीकरण राष्ट्र बैंकले खराब कर्जालाई चार भागमा वर्गीकरण गरेको छ। यसका आधारमा बैंकहरुले खराब कर्जाको सूची प्रकाशित गर्छ। तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जालाई कमसल, ६ महिनादेखि एक वर्षसम्म भाखा नाघेका कर्जालाई शंकास्पद, एक वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जालाई खराब र ऋणीले कर्जा तथा ब्याज तिर्न नसक्ने अवस्था नरहेको खण्डमा त्यसलाई पुनर्तालिकीकरण गर्नुपर्ने बैंकहरुले बताउँछन्।
वर्गीकरण अनुसार कर्जा रकमको १.२५ प्रतिशतदेखि शतप्रतिशतसम्म प्रावधान राख्नुपर्ने व्यवस्था छ। चालु आर्थिक वर्ष २०८०/८१ पुस मसान्तसम्म बैंकहरूको औसत खराब कर्जा ३.६१ प्रतिशत रहेको थियो। राष्ट्र बैंकले राखेको शतप्रतिशत प्रावधानभन्दा माथि नै रहेको छ। बैंकको गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३.०६ प्रतिशत रहेको खराब कर्जा ०.२७ प्रतिशत बिन्दुले घटेर २.७९ प्रतिशतमा झरेको थियो। चालु आर्थिक वर्षमा भने गत आर्थिक वर्षको तुलनामा खराब कर्जा माथि रहेको देखिन्छ। २०७५ सालमा खराब कर्जा योभन्दा कम र २.२४ प्रतिशतमा पुगेको राष्ट्र बैंकको तथ्यांकमा छ।