चिसोका कारण तराईका विद्यालय बन्द गरिँदै

चिसोका कारण तराईका विद्यालय बन्द गरिँदै
  • ६ माघ २०८०, शनिबार १५:१५

पछिल्ला केही दिनदेखि तराईका जिल्लामा बढेको चिसोका कारण मोरंग, सुनसरी, सर्लाही, धनुषा लगायतका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको स्थानीय तहले बताएका छन् ।

विगत केही दिनदेखि सुरु भएको शीतलहरले स–साना विद्यार्थी प्रभावित हुन थालेका भन्दै जिल्लाका स्थानीय तहले सूचना जारी गरेर विद्यालय बिदा गरेका हुन् । हाल दिइएको बिदा जाडो र वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिने स्थानीय तहका शिक्षा शाखाले बताएका छन् ।

एक सातादेखि चिसो हावासँगै शीतलहर चल्दा बालबालिका, वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्तिका साथै गरिब, विपन्न र खुल्ला आकाशमा काम गर्ने वर्ग बढी प्रभावित भएका केही दिनका लागि जाडो बिदा थप गरेको हो ।

लगातार बढेको चिसोका कारण जिल्लाका बजारमा चहलपहल पनि घटेको स्थानीय व्यापारीले बताएका छन् । शीतलहर तथा तुषारोका कारण आलु, गोलभेँडा, प्याजको बेर्नालगायत तरकारी बाली प्रभावित बनेको किसानले बताएका छन् ।