औषधी लिमिटेडको सिटामोल सहित २० प्रकारका औषधि उत्पादनको तयारी

औषधी लिमिटेडको सिटामोल सहित २० प्रकारका औषधि उत्पादनको तयारी
  • ८ माघ २०८०, सोमबार १५:५९

काठमाडौं । नेपाल औषधी लिमिटेडले सिटामोल उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । हाल उत्पादन गरिरहेका औषधीका अतिरिक्त सरकारले जनतालाई निःशुल्क वितरण गर्नका लागि आवश्यक पर्ने औषधी लिमिटेडले आफैँ उत्पादन गर्ने अन्तिम तयारी सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएको ९८ प्रकारका औषधीमध्ये २० प्रकारका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको हो ।

स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरेको महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागि परेको बताए ।

विगतमा लिमिटेडले एक सय ४६ प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । केही समय सिटामोलमात्र उत्पादन गर्दै आएको लिमिटेडले हाल नौ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि उत्पादनमा जोड दिँदै आएको लिमिटेडले पछिल्लो समय लगानीसँगै सेवा उत्पादनमा विविधिकरण गर्ने योजना बनाएको हो ।

वर्षेनि अर्बौको औषधिजन्य पदार्थको आयातलाई निरूत्साहित तुल्याउनका लागि पनि औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्दै उत्पादन बृद्धि गर्नुपर्ने देखिएको महाप्रबन्धक पनेरुले बताए । उनले सरकारले तत्कालका लागि लगानी गरेको अवस्थामा उत्पादन गरेर सरकारको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल औषधि लिमिटेडले पर्याप्त औषधि उत्पादन गरेर सरकारलाई उपलब्ध गराउने हो भने अर्बौको रकम विदेसिनबाट जोगिनेछ ।