कोशी अस्पतालमा अख्तियारको आँखा
विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा भइरहेको गैरकानुनी हर्कतलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन एवं अनुसन्धान सुरु गरेको छ ।

अस्पताल विकास समितिका नाममा गैरकानुनी निर्णय गरेर अस्पतालमा विभिन्न कामकारबाही र गतिविधि भइरहेको छ । त्यही गैरकानुनी निर्णय र गतिविधिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले छानबिन थालेको हो । छानबिन एवं अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कारबाही हुने अख्तियार इटहरीका प्रमुख एवं सह–सचिव सुरेश न्यौपानेले बताए ।
कोशी अस्पतालमा कानुनविपरीतका गतिविधि भइरहेको भनेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएको थियो । ‘समाचार प्रकाशन भएपछि अख्तियारको ध्यानआकर्षण भएको छ । छानबिन एवं अनुसन्धान सुरु गरिएको छ,’ न्यौपानेले भने, ‘यस विषयमा अख्तियारको केन्द्रीय कार्यालय टंगाललाई समेत लेखेर पठाइएको छ । अख्तियारले आफ्नो कारबाही अघि बढाइसक्यो ।’
अस्पताल प्रशासन र विकास समितिसमेतको मिलेमतोमा मूल्यांकन र टेण्डर नगरिकन सरकारी भवनहरु भत्काइएको छ । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन गैरकानुनी रूपमा भत्काएर काठ, इँटा, रड, टिनालगायतका निर्माण सामग्री गायब पारिएको छ । भवन भत्काउन अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालको डोजर प्रयोग भएको थियो ।
स्वास्थ्य मन्त्रालयको समेत स्वीकृति नलिइ आफूखुसी भवन भत्काइएको हो । मनोमानी हिसाबले भवन भत्काउने काममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले सहयोग गरेका थिए । बायोमेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक भर्नाका लागि विज्ञापनमार्फत दरखास्त आह्वान गरिएको छ । चलानी नम्बर र पत्र संख्या क्रमबद्ध नराखिकन एवं क्रम संख्या नै गायब पारेर शंकास्पद हिसाबले विज्ञापन गरिएको हो ।
