‘प्रसाईका एजेन्डा राम्रो लागेर महाअभियानमा आएका हौं’

‘प्रसाईका एजेन्डा राम्रो लागेर महाअभियानमा आएका हौं’
  • १ फाल्गुन २०८०, मंगलवार ०७:२८

काठमाडौँ–झापाका पुन्यप्रसाद रिजाललाई अहिले पनि राजा आउने आस छ। उनी आजै झापाबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियान कार्यक्रमका लागि काठमाडौं आएका हुन्।

अहिलेको राजनीतिक गतिविधि देख्दा राजतन्त्रको आवश्यक छ। जनताले पनि विस्तारै राजा नै ठिक हो भन्न थालेको भृकुटीमण्डपमा भेटिएका रिजालले हिमाल प्रेससँग बताएका छन्। प्रजातन्त्र र लोकतन्त्रमा जनताको नाम बेचेका धेरै राजा उत्पन्न भए। यी राजाले देशलाई लुट्ने मात्र काम गरेको उनले बताए। ‘देशको अवस्था नाजुक हुँदै जादैँ छ। देशमा युवा छैन। बुढाखडाले मात्र विकास गर्न सम्भव छैन। नेता पनि बुढा–खडा र जनता पनि उस्तै। देश कसरी बन्छ छ।’ उनले भने।

नेपालमा जति विकासका योजना बने ती सबै राजतन्त्रकै बेला भएको उनको भनाइ छ।

रिजाललाई जस्तै, पाखेराका ६१ वर्षका ओम बहादुर कार्कीलाई पनि लोकतन्त्रभन्दा राजतन्त्र नै ठिक लाग्न थालेको छ। राजतन्त्रमा जनतासँग सिमित अधिकार भएपनि देशभित्रै केही गर्नुपर्छ भन्ने थियो। लोकतन्त्र लागेपछि जनता विदेश मात्र थालेको उनको बुझाइ छ। राजनीतिका कारण देशको मायाँ जनतामा हराउँदै गएको छ। देशको अर्थतन्त्र विदेशीको हातमा पुगेका कारण आजको दिन देख्नुपरेको उनले बताए।

भृकुटीमण्डपमा भेटिएका नवलपरासीका कृष्णकुमार श्रेष्ठलाई पनि राजतन्त्र फर्किन्छ भन्ने आस छ। उनी त्यही भरोसा बाकेर प्रसाईको महाअभियान कार्यक्रमका लागि काठमाडौंमा आएका हुन्। देशमा राजा चाहिन्छ भन्ने अहिले सबै जनतालाई लागेको र मलाई पनि राजा आउने विश्वास भएको श्रेष्ठले बताएका छन्। लोकतन्त्रले जनतालाई विश्वासघात गरेको छ। जनताको नाम बेचेर नेता राजा भइरहेको उनको आरोप छ।

‘जनताले राजा फयालेको होइन। केही सिमित नेताले राजतन्त्र फयालेका थिए। त्यही भएर फेरी राजतन्त्र आउँछ र जनताले ल्याउँछन्। अहिलेको अवस्था हेर्दा राजाको आवश्यक छ।’ उनले भने।

श्रेष्ठजस्तै पोखराका याम तिम्सिनालाई पनि राजा आउँछ भन्ने लागेको छ। उनीलाई दर्गा प्रसाईका एजेन्डा ठिक लागेर पोखरादेखि काठमाडौंको कार्यक्रममा आएको बताउँछन्। लोकतन्त्रमा जनताले दुःख पाएका छन्। त्यही भएर अहिले जनता राजतन्त्रको पक्षमा खुलेर लाग्न थालेको उनले जानकारी दिए। शहरभन्दा गाँउमा राजतन्त्रको माग र चर्चा बढी भएको उनले बताए। ‘शहरका जनताले दुख पाएका छैन। त्यही भएर अहिलेको समस्या राम्रो बुझने मौका पाएका पनि छैन। जब गाँउजस्तै शहर रित्तिन्छ अनि थाहा पाउँछन्।’ उनले भने।

गाँउ–घरमा मलामी पाइदैन्। यो सबै लोकतन्त्रको उपहार भएको उनको आरोप छ। गाँउमा जमिन बाँझो छ। उत्पादन शुन्यतिर पुग्न लाग्यो। स्थानिय सरकारले वास्ता नगरेपछि युवा जति वैदेशिक रोजगारीमा जान बाध्य भएको उनले जानकारी दिए।

गत वर्षको फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह र उनका केही पारिवारिक सदस्यलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले मंगलबार (फागुन १) वार्षिकोत्सव मनाउँदै छ।

प्रसाईंले आफ्नो महाअभियानका क्रममा ‘भ्रष्टाचारी’, ‘तस्कर’ आदि विशेषण दिएर उनले केही व्यक्तिको नाम पनि सार्वजनिक गर्ने कार्यक्रम पनि छ। १६ जना व्यापारी र बाँकी राजनीतिक दलका नेताहरू छन्। उनीहरूलाई सार्वजनिकरूपमै ‘तस्कर’ र ‘भ्रष्टाचारी’ घोषणा गर्ने समेत प्रसाईको सचिवालयले जनाएको छ। प्रसाईले गत वर्षदेखि देशव्यापी रुपमा महाअभियान चलाउँदै आएका छन्।

प्रसाईले बैंकको उच्च ब्याजदर एक बिन्दुमा ल्याउनु पर्ने माग, धितो लिलामी गर्न नपाउने, पत्रपत्रिकामा फोटो राख्न नपाउने, २० लाखसम्म ऋण मिनाहाजस्ता माग राखेर सडक आन्दोलन गर्दैै आएका छन्।