४८० नेपाली साउदी जेलमा, कोर्रा हान्ने सजाय

काठमाडौँ– वैदेशिक रोजगारीका लागि साउदी पुगेका चार सय ८० जना नेपाली जेल परेका छन्। उनीहरु विभिन्न अभियोगमा जेल परेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदीमा रोजगारीका लागि आएका नेपालीहरु अवैधरुपमा घरेलु रक्सी कारखाना सञ्चालन, सेवन तथा बिक्री गरेको अभियोगमा जेल परेका हुन्।
४ सय ८० जना नेपाली जेलमा रहेको र जेलमा परेकामध्ये ८० प्रतिशतभन्दा बढी अवैध मदिराको उत्पादन, बिक्रीवितरण र सेवनमा संलग्न मुद्धामा पक्राउ परेको सूचना साउदी अध्यागमन विभागले दिएको सूचना पाएको रयादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीले जानकारी दिए।
गिरीका अनुसार नेपालबाट घरेलु रक्सी उत्पादन गर्ने मर्चालाई पिठोसँग मिसाएर लैजाने र स्थानीयस्तरमा पाइने चामल, गहुँ र खजुरजस्ता खाद्य पदार्थमा राखेर घरेलुु मदिरा बनाएर बिक्री गर्दै गरेको अभियोगमा धेरै नेपाली पक्राउ परेका छन्।
साउदीमा मदिराको उत्पादन, बेचबिखन गर्नेलाई जरिवानादेखि जेल सजाय हुने गरेको छ। साउदीमा घरेलु मदिरालाई अवैधानिक मान्न्छि। मदिराको मुद्धामा जेल परेको नेपालीलाई साउदी प्रहरीले थुन्ने र कोर्रा हान्नेसम्मको सजाय हुने गरेको छ। योे मुद्धामा पक्राउ परेका विदेशी नागरिकलाई ६ महिनादेखि सात वर्षसम्मको जेल सजाय हुने गरेको साउदीको काुननमा उल्लेख छ।
नेपालीहरु साउदी अरेबियामा मात्रै नभएर कुवेतमा पनि अवैध मदिरा उत्पादन तथा सेवन गर्ने गरेका कारण पटक–पटक पक्राउ पर्ने गरेको सूचना पाउने गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएकको छ।