कतार र साउदीसँग श्रम सम्झौता गरिदैँ, घरेलु कामदार पनि समेटिने

काठमाडौँ–सरकारले साउदीसँग एक महिनाभित्रै द्विपक्षीय श्रम सम्झौता गर्ने भएको छ। यूएईको ‘आबुधाबी डायलग’मा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका मानव संसाधन तथा सामाजिक विकास मन्त्री ई–अहेमद बिन सुलाईमान अल राझीबीच भएको वार्तामा यस्तो सहमति भएको हो।
‘साइडलाइन’ बैठकमा साउदीका अधिकारीहरूसँग विगत ८ वर्षदेखि गृहकार्यमा रहेकोे नेपालले श्रम सम्झौताको प्रस्ताव गरेको थियो। नेपालको प्रस्तावलाई साउदी सरकारले स्वीकारेको र एक महिनाभित्र श्रम समझदारी हुने सहमति भएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले जानकारी दिए। उनका अनुसार साउदीले केही बुद्धामा छलफल गरेर नेपालसँग श्रम सम्झौता गर्ने आश्वासन दिएको छ। त्यही अनुसार नेपालीले तयारी गर्ने उनले यूएईबाट जानकारी दिए।
बैठकमा नेपाली पक्षले प्रस्तावित सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’सहित सामाजिक सुरक्षा, कामदारको कार्य घण्टा, बीमा, पेशागत स्वास्थ्य सुरक्षालगायतका विषयलाई समेट्नुपर्ने माग बैंठकमा राखेको छ।
नेपाली कामदारका अधिकार सुनिश्चित नभएको अवस्थामा पनि अदक्ष नेपाली कामदारको ठूलो संख्या साउदी अरेबिया गइरहेको छ। नेपाल र साउदी अधिकारीहरूबीच पटक–पटक श्रम सम्झौताका विषयमा छलफल भएपनि साउदी अरेबियाले जनरल वर्करसँगै घरेलु श्रमिकका लागि पनि छुट्टै श्रम समझदारी गर्ने अडान लिँदा श्रम सम्झौता हुन सकेको छैन।
साइडलाइन बैठकमा सीपमूलक जनशक्ति उत्पादनका निम्ति नेपालमा तालिम केन्द्र स्थापना गर्न साउदी सरकारले दिएको सहयोगलाई निरन्तरता दिने तथा श्रमिकको सीप तथा क्षमता बढाउने विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको प्रवक्ता पोखरेलले जानकारी दिए।
उनका अनुसार साउदीसप्लाइ कम्पनीमा लगिएका कामदारको अकामा नबन्ने तथा उनीहरूलाई काम तथा तलब नदिने समस्या समाधानका लागि पनि आग्रह गरिएको छ। ‘छलफलमा कफाला प्रणालीले सिर्जना गरेको समस्याको समाधान तथा विभिन्न कारणले मृत्यु भएका कामदारको शव छिट्टै नेपालसम्म पठाउन सहजीकरण गर्ने विषयमा नेपाली पक्षले साउदी पक्षको ध्यानाकर्षण गराएको छ।’ उनले भने।
श्रमिकहरुको गुनासो यथाशक्य छिटो सम्बोधन गर्न बैंकिङ र स्वास्थ्य सूचना प्रणालीको प्रयोग बढाउने, स्वदेशमा हुने पूर्वप्रस्थान अभिमुखीकरण र सीप तालिमलगायतका कामहरुलाई डिजिटाइजेसन गर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ।
कतारसँग सन् २००३ मा भएको द्विपक्षीय श्रम सम्झौता विस्थापित गर्दै नयाँ श्रम समझदारी गर्ने तयारी छ। आइतबार नै नेपाल र कतारबीच पनि साइडलाइन बैठक भएको थियो। यूएईमा श्रम मन्त्री भण्डारी र कतारका श्रम मन्त्री डा।अलि विन समिख अल मारीबीच छलफल भएको हो।
बैठकमा कतारी अमिर तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको समयमा हस्ताक्षर हुने गरी श्रम समझदारी पत्र तयार गर्ने सहमति भएका श्रम मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए।
कतारी अमिर गत २० र २१ कात्तिकमा नेपाल आउो तय भएर पछि स्थगित भएको थियो। तर, छिट्टै कतारी अमिर थानीले नेपालको भ्रमण गर्ने योजना छ।
कतारले पनि साउदी अरेबियाले जस्तै घरेलु कामदारका विषयमा सम्झौता गर्न चाहेको छ। त्यहीअनुसार नेपालले पनि सरकारीस्तरमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ। श्रम मन्त्रालयका अनुसार सम्झौतालाई पुनरावलोकन गर्न दुवै देशले अनलाइनमार्फत छलफल अघि बढाउने निर्णय भएको छ। साउदी र कतारसँग हुने श्रम सम्झौतामा घरेलु कामदार पनि समेटिने गरी छलफल भइको श्रम मन्त्रालयले जनाएको छ।