अधेरी रातमा नाच्ने युवती भन्छन् ‘मनोरञ्जन क्षेत्रलाई सेक्सहव सोचियो’
काठमाडौँ–मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई समाजले हेर्ने दृष्टिकोण सधैँ नकारात्मक हुने गरेको पर्वतकी मन्जु तामाङ २७ वर्षीय (नाम परिवर्तन) बताउँछिन्। मन्जुले जनसंख्यामा डिग्री गरेपनि रोजगारी पाइन। उनलाई राम्रो नृत्य गर्न आउन भएका कारण पढाइ सकेपछि डान्सबारमा काम पुगिन।
पहिले पहिले रातको समयमा काम गर्न नसक्ने भएपनि पछि अभ्यस्त हुँदै गएको मन्जुले बताइन्। ‘बारमा नृत्य गर्छु भन्दा हाम्रो समाजले घृणाको नजरले हेर्ने गरेको छ। एक त मनोरञ्जन क्षेत्र महिला कामदारका हकमा असुरक्षीत नै छ।’ उनले भनिन, ‘मनोरञ्जन क्षेत्रमा काम गर्ने केटी भनेपछि जे मन लाग्यो त्यही गर्दा हुन्छ भन्ने पुरुषको दिमाखमा छ। हाम्रो बाध्यता उनीहरु बुझदैनन्। मनोरञ्जन क्षेत्र भनेको सेक्सहव हो भन्ने मान्यता धेरै पुरुषमा छ। यो नै गलत हो।’
मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीहरुसँग पुरुष बिहे गर्नसमेत डराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
मन्जुले काठमाडौंको बालाजुमा एनजियोमा रोजगारी गर्छु भनेर आफनो पहिचान लुकाएर कोठा भाडा लिएकी छिन्। उनी नयाँ बसपार्कको दोहोरी र डान्सबारमा काम गर्छिन्।
मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिला प्रहरी प्रशासनबाट समेत असुरक्षित हुनुपरेको इलामकी २३ वर्षीय कविता माझी (नाम परिवर्तन) बताउँछिन्। बाहिर महिला अधिकारको आवाज उठाउने वकिल, प्रहरी, सरकारी कर्र्मचारी, मिडियाकर्मी र राजनीतिक दलका नेताले समेत मनोरञ्जन क्षेत्रका युवतीमाथि दुरुव्यवहार गर्नेगरेको उनको आरोप छ। ‘मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई सधैँ हेपाहा प्रवृत्ति र नकारात्मक नजरले हेर्ने गरिन्छ। यतिसम्म जनताको सुरक्षामा खटिएका प्रहरीले समेत नकारात्मक नजर हेर्ने र तँ त्यस्ती होस भन्दै जथाभावी हातपात गर्छन्।’ उनले भनिन, ‘प्रहरीले मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीलाई विभिन्न वाहानामा धम्क्याएर शरीरिक शोषण गर्छन्। डयुटीमा आएका प्रहरीले साहुसँग सेटिङ मिलाएर जबरजस्ती मनोरञ्जनको साधन बनाउँछन्।’
प्रहरीले भनेको मानेन भने, समाएर वेश्याबृत्तिमा लागेको आरोपमा जेल पु¥याउने गरेको उनको भनाइ छ।
विविएस उत्र्तीण गरेकी कविता काठामाडौं डिग्री अध्ययनका लागि आएकी थिइन्। उनको परिवारिक आर्थिक अवस्था कमजोर भएका कारण मनोरञ्जन क्षेत्रमा काम गर्न पुगेको बाध्यता सुनाइन्।
सानैदेखि राम्रो डान्स गर्ने भएका कारण यो क्षेत्रमा बाँच्नका लागि प्रवेश गरेको कविताले जानकारी दिइन्।
मन्जु र कविताजस्तै काठमाडौंकी २५ वर्षीय मनिता मगर (नाम परिवर्तन) पनि ठमेलको एक डान्सबारमा काम गर्छिन्। कवितालाई विवाह गरेका २ वर्षपछि श्रीमानले छाडेपछि आफनो पेट पाल्नमा डान्सवारमा काम गर्न पुगेकी थिइन्। ४ वर्षदेखि डान्सवारमा कार्यरत मगर कयौंपनि पुरुषबाट शारीरिक शोषण भएको बताउँछिन्।
बारमा मनोरञ्जन गर्न आएका पुरुषले नशाको तालमा जबरजस्ती गरेपनि कानुनी उपचार खोज्न नसकेको उनले बताइन्। ‘मनोरञ्जन क्षेत्रमा महिलामाथि अन्याय गर्ने क्षेत्रमै पर्दछ। यो क्षेत्रमा पुरुषका नामबाट धेरै शोषण हुन्छ। पछिल्लो समय नेपालसँग आएका विदेशी ग्राहकले समेत मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि दुरुव्यवहार गर्छन्।’ उनले भनिन।
नेपाली र विदेशी ग्राहकले जति सुकै दुरुव्यवहार गरेपनि कानुनी उपचार खोज्न नसकिने उनको भनाइ छ।
महिला नभई पुरुषलाई मनोरञ्जन नहुने, तर महिला पुरुषबाटै हिंसाको सिकार बन्नुपर्ने बाध्यता भएको उनको गुनासो छ। पुरुषहरूकै लागि मनोरञ्जन क्षेत्रमा काम गरेका महिलाको घरको आर्थिक अवस्था पुरुषहरूकै कारणबाट कमजोर हुनेगरेको उनका दाबी छ।
सरकारले मनोरञ्जन क्षेत्रका समस्या समाधान गर्न र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको सामाजिक सुरक्षासँगै समाजमा सम्मानजनक बाँच्न पाउने कानुनी मान्यता दिनुपर्ने उनीहरुको माग छ।
सरकारले मनोरञ्जन क्षेत्रमा रोजगारी गरिरहेका महिला होस पुरुष उनीहरुको सुरक्षा गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रवक्ता इन्दु घिमिरेले जानकारी दिइन्। घिमिरेका अनुसार रात्रिकालिन व्यवसायमा कार्यरत कामदारलाई आवश्यक जनचेतना, तालिम र उनीहरुको सुरक्षाका विषयमा सम्बन्धीत पक्षसँग छलफल समेत भइरहेको छ।
मनोरञ्जन क्षेत्रमा ७० हजार महिला कामदार
‘महिला मञ्च नेपाल’ले गरेको अध्ययनमा देशभर ४ हजार ‘मनोरञ्जन’ क्षेत्रमा ७० हजार महिलासँगै युवती कार्यरत रहेको जनाएको छ।
१४ देखि ४५ वर्षसम्मका महिलाहरू यस क्षेत्रमा काम गर्ने गरेको पाइन्छ। यस क्षेत्रमा काम गर्ने महिलाले मानसिक, आर्थिक र शारीरिक शोषण पनि भोग्नुपर्ने बाध्यता रहेको सुनाउँछन्।
काठमाडौँको गोंगबु, कलंकी सुन्धारा, कोटेश्वर, भक्तपुर, ललिपुरको झम्सिखेल, ठमेलका साथै पोखरा, विराटनगर, झापा विर्तामोड, धरान नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेस्टुराँ, दोहोरी साँझ, डान्सबारहरूमा धेरै महिलासँगै युवती श्रमिक रहेको मञ्च नेपालको अध्ययनमा उल्लेख छ।
यो अध्ययन महिला हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बुझाउने मञ्चले जनाएको छ।
मनोरञ्जन क्षेत्रमा लागेका महिलामाथि ग्राहक, परिवार र समाजलगायत अन्यहरूबाट यो क्षेत्रमा काम गर्दाका अवस्थादेखि आवागमनमार्गसम्ममा पनि महिलामाथि विभिन्न प्रकारका हिंसा तथा शोषण हुने गरेको यही क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाको अध्ययनमा समेत उल्लेख छ।
सिद्धान्ततः र कानुनतः महिला र पुरुषलाई समान हैसियतमा राखिएको छ। समानताको वकालत गर्ने क्रममा महिला र पुरुषलाई एक रथको दुई पाङ्ग्रा भनिएपनि त्यो कार्यन्वयन नभएको महिला अधिकारीकर्मी उमा तामाङले जानकारी दिइन्।
सामाजिक संरचना र नीतिगत कमी–कमजोरीका कारण महिलामाथि हिंसा भइरहेको उनले बताइन् । ‘हिंसापीडित महिलाले न्याय पाउन नसकिरहेको अवस्था हाम्रोसामु लुकेको विषय होइन। यो विषयमा राज्य बेखबर छैन। तर, राजनीतिक शक्तिका भरमा समस्या दबाउने काम भइरहेको छ।’
तामाङ भन्छिन् ‘मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको कामलाई राज्यले पहिचान गर्नुको साथै मान्यता दिनु आवश्यक छ। यसको लागि श्रम ऐनले उनीहरूको अधिकारलाई सम्बोधन गर्न आवश्यक छ।’
हाल सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १६ हजार तोकेको छ। कतिपय मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला श्रमिकहरुले सरकारले तोकेअनुसारको तलब नपाउने गरेको गुनासो गर्छन्। शहरी क्षेत्रहरूमा व्यावसायिक रूपमा सञ्चालन गरिएका विभिन्न सेवामूलक मनोरञ्जन क्षेत्रहरूमा युवती नै कामदार बढी हुन्न्छन्। मनोरञ्जन क्षेत्रमा युवतीको आकर्षण हुने गरेको यो क्षेत्रका व्यवसायी बताँउछन्।
नेपाल भित्रिने विदेशी पर्यटकलाई लक्षित गरी राजधानीका अति व्यस्त मानिएका दरबारमार्ग, ठमेललगायत क्षेत्रमा मनोरञ्जनात्मक व्यवसाय २४सै घन्टा सञ्चालन हुने गरेका पाइन्छन्।
स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याएका गजल, मसाज, पार्लर, क्याबिन, खाजाघर, दोहोरीसाँझ, डान्सबारलगायतका मनोरञ्जनात्मक व्यवसाय गर्ने क्षेत्रमा महिला तथा युवतीकै माग बढी हुन्छ।
मनोरञ्जन क्षेत्र भन्नाले रात्रिकालीन मनोरञ्जन क्षेत्र (मसाज पार्लर, क्याबिन, खाजाघर, दोहोरीसाँझ, डान्सबार आदि) जस्ता ठाउँमा कार्यरत श्रमिक महिला, किशोरकिशोरी र बालबालिकाको अवस्था निकै दयनीय छ।