बीपी प्रतिष्ठानका डाक्टर रोशन प्रहरी नियन्त्रणमा

  • १ चैत्र २०८०, बिहीबार ०२:१९

धरानको भानुचोकमा सञ्चार माध्यम तथा सञ्चारकर्मीविरुद्ध गालीगलौज गर्दै पत्रिका जलाउन खोज्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नीका सर्जन तथा एसोसिएट प्रोफेसर डा रोशन कलवारलाई प्रहरीले नियन्त्रण लिएको छ।

mulpatra

प्रतिष्ठानको ऐन विपरित प्रतिष्ठानको प्रवेशद्वार अगाडि टाटा डाईग्नोसिस सेन्टर सञ्चालन गरिरहेको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि आक्रोशित बनेका डा कलवारले केही दिनयता सामाजिक सञ्जालमा गाली गलैज गर्दै आएका थिए।

उनले सञ्चारकर्मीहरुलाई जुत्ताको माला लगाउने धम्की दिंदै गाली गलैज गरेपछि नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय धरान र इलाका प्रशासन कार्यालय धरानमा आईतबार उजुरी समेत दिइएको थियो।

mulpatra mulpatra mulpatra

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत उनलाई कानुन विपरित कार्य गरेको भनेर स्पष्टिकरण सोध्दा समेत प्रतिष्ठानलाई नै चूनौति दिंदै मंगलबार साँझ धरानको ब्लाष्ट दैनिक पत्रिका जलाउने भन्दै भानुचोकमा भाषण गरिरहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सञ्चार माध्यम विरुद्ध अराजक रुपमा गाली गलौज गरेका उनलाई ईलाका प्रहरीका प्रमुख डिएसपी नवराज मल्लको कमाण्डमा रहेको प्रहरी टोलिले पटकपटक सम्झाउँदा पनि नमाने पछि नियन्त्रणमा लिएको हो। सार्वजनिक स्थलमा गालीगलैज गर्दै अराजक गतिविधि गर्ने डा.कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयराम आचार्यले बताए।

डा कलवारले २०७८ पुस २७ गते सिरहा कल्याणपुर नगरपालिका–११ का ललितकुमार साहको खुट्टाको शल्यक्रिया गर्ने क्रममा कुन कम्पनीको रड लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। उनले निःशुल्क लगाईदिनु पर्ने रड बिक्री गरेको पीडितहरूले बताएका थिए।

Image Source: © https://mulpatra.com

प्रहरीमा उजुरी परेपछि डा कलवारले पीडितहरूको पैसा फिर्ता दिई माफी समेत मागेका थिए। बिक्री गरेको पुष्टि भएपछि प्रतिष्ठानले डा कलवारलाई साइन नेल प्रयोग गर्न रोक लगाएको थियो। डा कलवारले रोक लगाएको साइन नेल आफै झोलामा बोकेर ल्याई जबरजस्ती प्रयोग गर्ने प्रयास गरेका थिए। उनकै नेतृत्वमा रहेको अन्य चिकित्सकहरूले साइन नेल प्रयोगमा रोक लगाइएकाले प्रयोग नगर्न आग्रह गर्दा विवाद उत्पन्न भएको थियो।

बिरामीका आफन्तले चिकित्सकको लापरबाहीका कारणले ज्यान खतरामा परेको र खर्च पनि वृद्धि भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो। उक्त घटनाको विषयमा छानबिन गरी कारबाहीको माग गर्दै प्रतिष्ठान प्रशासनले काउन्सिलमा उजुरी दिएको थियो। 

उजुरी परेपछि घटनाको छानबिन गर्न काउन्सिलका डा. हरिहर वस्तीको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको थियो। छानबिन समितिमा काउन्सिलका सदस्य डा. कालुसिंह खत्री र हाडजोर्नी विशेषज्ञ डा गणेश गुरुङ सदस्य रहेका थिए। उक्त समितिले दिएको प्रतिवेदनका आधारमा काउन्सिलको पूर्ण बैठकले निलम्बन गर्ने निर्णय गरेको डा वस्तीले बताएका थिए। निर्णय भए पनि थप स्पष्टीकरण सोधिएको बताएका थिए र सोही कुरा विषयमा ब्लाष्टले समाचार लेखेको थियो। डा कलवारले अमेरिकी दातृसंस्थाले निःशुल्क दिएको साइन नेल बिक्री गर्ने गरेको पुष्टि नै भएको हिजोको स्वास्थ्यखबरमा प्रकाशित गरिएको छ ।