रैथाने गाईको नश्ल सुधार नहुँदा लोप हुँदैँ, संरक्षाको योजना छैन

रैथाने गाईको नश्ल सुधार नहुँदा लोप हुँदैँ, संरक्षाको योजना छैन
  • २ चैत्र २०८०, शुक्रबार ०५:३१

काठमाडौँ–नेपालमा रैथाने गाई लोप हुन् थालेका छन्। नेपालमा पाइने स्थानीय जातका ७ किसिम गाईहरु अछामी गाई, खैला गाई, लुलु गाई, पहाडी गाई, तराई गाई, सिरी गाई र याक छन्। यी गाईलाई रैथाने गाईको सूचीमा राखेको पशु सेवा विभागले जनाएको छ।
नेपालमा रैथाने गाई पाउन छाडेको छ। रैथाने गाई किसानले दुध थोरै दिने भएका कारण पालन छाडेको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकाल बताउँछन्। उनका अनुसार पहिल्लो समय मठमन्दिरमा मात्र रैथाने गाई केही संख्यामा होलान्।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार नेपालमा २०७८–७९ मा गाई र गोरुको संख्या ७४ लाख ६६ हजार छ। यसमध्ये दूध दिने गाई १२ लाख ९ हजार मात्रै रहेका छन् । बाच्छी र दूध नदिने गाईको संख्या करिब २५ लाख रहेको केन्द्रको तथ्यांकमा छ। केन्द्रको तथ्यांकमा कति संस्थामा रैथाने गाईको संख्या छुट्याइएको छैन। तर, ७०–८० हजार जति रैथाने गाईको संख्या रहेको विभागको अनुमान छ।
नेपालमा विकासे पशु आयात गर्न थालेको १७२ वर्ष वर्ष पूरा भएको छ। वि.सं. १९०७ मा जंगबहादुर राणाले वेलायतबाट दुइटा जर्सी गाई ल्याएपछि पशु आयात सुरु भएको थियो। पशु सेवा विभागको नश्ल सुधारसम्बन्धी एक अध्ययनमा १९०७ मा जंगबहादुर राणाले वेलायतबाट ल्याएका जसी गाई पनि नश्ल सुधार भएकै थिए। ती गाईबाट उत्पादन भएको बाछा १४ कृषि केन्द्रमार्फत वढा–हाकिमलाई वितरण गरिएको थियो। त्यसपछि यी गाईको बारेमा केही खुलाइएको छैन।

नश्ल सुधारको प्रयोग नै गरिएन
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय पशु विज्ञान अनुसन्धान केन्द्रले रैथाने गाईको नश्ल सुधारको अभ्यास नगरेको पाइएको छ। रैथाने गाईको संरक्षण र नश्ल सुधारका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समेत केही पहल नगरेको पाइएको छ।
स्थानिय गाईलाई नश्ल सुधार गर्नुपर्छ भन्ने योजना नआएका कारण नश्ल सुधारको काम नभएको नेपाल कृषि अनुसन्धान परिषद्का प्रवक्ता सूचना अधिकारी डा.लुमा निधि पाण्डे लौदरीले जानकारी दिए। उनका अनुसार रैथाने गाईको नश्ल सुधारका लागि छलफल त भए होला तर, यहि विषयलाई योजनामा समेटिएन।
सरकारले उन्नत जातका गाई उत्पादनका लागि नश्ल सुधार गरी चौपाय उत्पादन गर्दै आएपनि रैथाने चौपायलाई समेट्न नसकिएको उनले बताए। ‘रैथाने चौपायालाई पनि नश्ल सुधार गरि नयाँ चौपाया उत्पादन गर्न सकिन्छ। तर नेपालमा यसको अभ्यास गरिएको छैन। आगामी दिनमा रैथानेको संरक्षण र नश्ल सुधारका लागि पहल गर्नुपर्छ।’ उनले भने।

नेपाली कृषि, खासगरी पशुपालनमा पार्ने प्रभाव भने दीर्घकालीन हुन्छ। यसका लागि सरकारले ध्यान नदिएको कृषिविज्ञको गुनासो छ। नेपाली रैथाने बालीदेखि चौपायाहरुको ८० प्रतिशत मौलिक गुण लोप भएको कृषिविज्ञहरुको आरोप छ। कृषि क्षेत्रा रैथानेको जगेर्ना गर्न नसक्दा यस्ता मौलिक गुण फर्काउन समस्या भइरहेको उनको बुझाइ छ।
नेपालमा रैथाने चौपाया, कृषिका सामाग्री र तरकारी समेत लोप भइसकेको कृषि विज्ञ कृष्ण पौडेल बताउँछन्। सरकारमा सहभागी राजनीतिक दलको महत्वमा कृषि नपर्दा अहिले यस्तो समस्या उत्पन्न भएको उनले बताएका छन्।

उनका अनुसार राम्रो नश्ल छान्न सके त्यसबाट उन्नत जातको जस्तै दुध गर्ने गाई उत्पादन गर्न सकिन्छ। विकाशित देशले त्यसरी नै नश्ल सुधार गरिरहेका छन्। नेपालमा रैथाने गाईको नश्ल विकास भएन। यो नै ठुलो समस्या भएको उनले बताए। ‘नेपालका रैथाने आछामी, सिरी, लुलु गाईको खानपानमा ध्यान दिए राम्रो परिमाणमा दूध दिन्छन्। रैथाने गाईको नश्ल सुधार गरेर त्यसैको नयाँ प्रजाति विकास गर्न सकिन्थ्यो। तर सरकारको महत्वमा परेन।’ उनले भने, ‘कृषिका बाली तथा वस्तुभाउको मौलिक जैविक गुण निरन्तर विघटन भइरहेको छ। कतिपय प्रजाति नै लोप भइसकेका छन्। वर्णशंंकर बनाउने प्रक्रियाको विकास नहुँदा रैथाने गुण लोप हुँदैछ। सरकारले संरक्षणको योजना ल्याउन सकेन।’
अहिले पनि स्थानीयमध्ये पनि कुनैले धेरै कुनैले कम र बढी दूध दिन्छन् भनेर अध्ययन गरि नश्ल सुधार गर्न सकिनेको उनको भनाइ छ।
स्थानीय गाईलाई कृत्रिम गर्भाधान गराएर धेरै दूध दिने वर्णशंकर गाई उत्पादन गर्न सकिन्छ। यसका लागि ठुलो बजेट आवश्यक नपर्ने कृषिविज्ञहरुले बताउँदै आएका छन्।
कृषि मन्त्रालयले रैथाने गाई संरक्षणका लागि खर्च बजेटमा नसमेटिने गरेको छ। जसका कारण रैथाने गाईको संरक्षणका लागि पशु सेवा विभागले कार्यक्रम ल्याउन नसकेको बताउँदै आएको छ।

नेपालमा पाइने रैथाने गाई
नेपालमा तराई, पहाडी, खैला, सिरी, लुलु, अछामी र याक गाई पाइन्छ। अहिले यी जातका गाई गाँउमा मात्र भेटिने गरेको राष्ट्रिय पुश प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारले जनाएको छ।

लुलु गाई –लुलु गाई मुस्ताङमा भए पनि मनाङ र डोल्पामा पनि पालिन्छ। यसको उत्पत्ति मुस्ताङमा भएको पशु सेवा विभागको पशु अध्ययनमा भनिएको छ। लुलु गाईले करिब एक पटकमा २ लिटरसम्म दुध दिने गरेको विभागको अध्ययनमा उल्लेख छ।
जुर्रा नभएको, उच्च हिमाली भेगका सुख्खा चिसोमा पनि हुर्कन सक्ने, होचो कद, लामो पुछर, छोटा खुट्टा वाक्ला रौं भएको लुलु गाईको १५० देखी– २२५ केजी सम्म हुन्छ।

खैला गाई – खैला गाई सुदुर पश्चिम क्षेत्रमा भएको पाइन्छ। यो गाई सुदुर पश्चिमका पहाडीसँगै तराई जिल्लामा पालिन्छ। खैला गाईले दैनिक दुध २.५ लिटर दुध दिने गरेको विभागको पशु अध्ययनका भनिएको छ।
खैला गाई बलियो शरीर, रिसालु स्वभाव, जोत्नको लागि उपयुक्त र अन्य स्थानिय जातभन्दा ठुलो शरीर भएका हुन्छन्। यो गाई बाछाबाछी उत्पादनमा लागि बढी पालिन्छ।
पहाडी गाई –पहाडी गाई नेपालको मध्य पहाडी भेगमा पाइने पहाडी गाईहरु भूटान, सिक्किम र दार्जि्लिलङबाट भित्रिएको पाइन्छ। मुख्यतया यी गाईहरु गोरु, मल र धार्मिक र सामाजिक कार्यको लागि पालिन्छन्। पहाडी गाईले सरदर एक वेतमा १५०–२०० लिटर सम्म दुध दिन्छन् र सरदर ३–४ वर्षमा पहिलो चोटी ब्याउछन्। यी गाईहरुको शारीरिक तौल २००–३०० के.जी सम्म हुन्छ । शरीरको रड्ड कालो, रातो, फुस्रो र टाटेपाटे पनि हुन सक्छ ।

अछामी गाई– अछामी गाईको उत्पत्तीः यस गाईको उत्पत्ती अछाम जिल्लामा भए पनि बझाङ, बाजुरा र डोटीमा १० वर्षअघि सम्म पाइने गाई हो। नौमुठे गाई या अछामी गाई नेपालमा पाइने सानो जातको गाई हो। पशु सेवा विभागका अनुसार संसारको सबैभन्दा सानो मानिएको यस गाईलाई नौमुठ्हे गाई पनि भनिन्छ।
विभागको पशुपंन्छी विकास अध्ययनमा अछामी गाईले दैनिक दुध १.५ देखि २ लिटर र बढीमा ४ लिटर सम्म दिन्छन्। यो गाईको शारिरिक वजन १२० देखी १५० केजी सम्म हुन्छ।

तराई गाई ः मुख्यरुपमा नेपालको तराई क्षेत्रमा पालिने यो गाई बहर उत्पादन गरी गाडा तान्ने र जोत्ने कार्यको लागि निम्ति पालिने गरिन्छ। हाल हरियाणा, जर्सी, साहिवालको वर्णसंकरले गर्दा तराई गाई करिब–करिब लोप अवस्थामा नै छ। तराई गाईले दैनिक पाँच लिटर दुध दिन्छन्। यी गाई गर्मी मौसम सहज रुपमा पालिन्छ।

याक, नाक र चौरी – याक र नाकलाई पहाडी गाई र गोरु संग प्रजनन गराई खच्चड उत्पन्न गरिन्छ। जसलाई चौरी भनिन्छ। पहाडी गोरु(किर्को) र नाकको प्रजननबाट निस्कने गाईलाई दिम्जो चौरी भनिन्छ भने गोरुलाई दिम्जो झोप्क्यो भनिन्छ। त्यस्तै याक र पहाडी गाईको प्रजननबाट जन्मने गाईलाई उरंग चौरी र गोरुलाई उरंग झोप्क्यो भनिन्छ।
यस्तो अन्तर्जातीय प्रजननबाट जन्मने चौरीहरुले सन्तान उत्पादन गर्न सक्छन् भने भालेहरु (झोप्क्यो) ले सधै सन्तान उत्पादन गर्न नसक्ने हुन्छन्। दूध उत्पादनको लागि दिम्जो चौरी उत्तम मानिन्छ भने भारी बोक्न र चढ्नको लागि उरंग झोप्क्यो उत्तम मानिन्छ।
यसको रौं लामा, सिङ तिखो, लामो र बलियो हुन्छ, अत्यधिक चिसो सहन सक्ने क्षमता यी जातका गाईमा हुन्छ। शारिरिक वजन १९३ केजी र दुध उत्पादन २–३ लिटर हुन्छ।
याक अथवा चौरी गाई २ सय २० केजी र दैनिक ४ लिटर दुध दिन्छन्। नाक र स्थानिय जातको बहरको क्रशबाट जन्मेको डिम्जो चौरी र याक र स्थानिय गाईको क्रशबाट जन्मेकोलाई उराङ चौरी भनिन्छ।
समुन्द्र सतह भन्दा ३००० देखी ४५०० मिटर उचाई सम्म सजिलै हुर्कन सक्ने यसको भालेलाई याक र पोथिलाई नाक भनेर चिनिन्छ।
नेपालमा एक दशकयता रैथाने गाईको सट्टामा ब्रोन स्विस, होलिस्टेन फ्रिजन र शाही वाल जातका विकाशित गाई पाल्न थालिएको छ। यी जातका गाईले दैनिक १५ देखि २१ लिटर दुध दिने भएका कारण रैथाने गाईभन्दा उन्नत जातका गाईको आकर्षण बढेको हो।
सिरी गाई – नेपालबाट लोप भयो भनिएको सिरी जातको गाई लोप नभएको २०७८ सालमा राष्ट्रिय पुश प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटार पुष्टि गरेको थियो।
पूर्वी नेपालको ताप्लेजुङ साब्लाखुलाई पकेट क्षेत्र मानेर ल्याइएका गाई सिरी जातकै भएको प्रमाणित भएको थियो। केन्द्रकाअनुसार दुई वर्ष अघि गरिएको अनुसन्धानबाट नेपालमा सिरी गाई जीवितै रहेको तथ्य फेला परेको केन्द्रका दाबी छ।
नेपालमा पहिचान भएका ६ वटा रैथाने गाईमध्ये सिरी गाईले धेरै दूध दिने केन्द्रको अध्ययनमा भनिएको छ। यसका जातका गाईले दैनिक २० लिटरसम्म दुध दिनेको केन्द्रले जनाएको छ।
नेपालमा रैथाने गाई कति छ भन्ने यकिन तथ्यांक नभएको विभागले जानकारी दियो। पछिल्लो समय जिल्ला कृषि पशु सेवा विभागबाट तथ्यांक संकलन गर्न काम भइरहेको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले दिएका छन्।

रैथाने गाईको दुध पौष्टिकतायुक्त
आयातित जातका गाई भन्दा रैथाने जातका गाईको दूधलाई पौष्टिकतायुक्त हुने विभिन्न अध्ययनमा औल्याइको छ।
रैथाने गाईको दुधले पौष्टिक तत्वले भरिपूर्ण दूध र दुग्धजन्य पदार्थको उत्पादन र उपभोग स्वच्छ र स्वस्थ हुने कृषि क्यापस रामपुरका विद्यार्थीले गरेको एक अध्ययनमा उल्लेख छ।

विद्यार्थीले कृषि मन्त्रालयमा बुझाएको एक अध्ययनमा शरीर वृद्धिको लागि आवश्यक पर्ने खनिज लवणहरू क्याल्सियम, म्याग्नेसियम, क्लोरिन, पोटासियम, सोडियम आदिले शरीर सन्तुलन राख्नुका साथै शारीरिक विकासमा सहयोग पु¥याउँछ। यसमा रैथाने दुध उपयोगी हुने सुझाव दिएका छन्।
दूधमा पानी, चिल्लो पदार्थ (फ्याट), प्रोटिन, ल्याकटोज, खनिज पदार्थ (क्याल्सियम, फोस्फरस, म्याग्नेसियम, पोटासियम, स्ट्रटियम), भिटामिन (ए, बी, बीथ्री, बी १२, सी, डी, इ, के) र पाचन रस (इन्जाइम) तत्व बढी पाइने भएका कारण बालबालिका हकमा बढी रैथाने गाईको दुध उपयोगी हुने अध्ययनमा भनिएको छ।
यस्तै, अध्ययनमा भिटामिन ‘के’ले चोटपटक लागेको बेला रगत जमाउन मद्दत गरी रगत खेर जानबाट जोगाउन सकिने समेत बताइएको छ। भिटामिन ‘सी’ले गिजा सुन्निनबाट जोगाउँछ। भिटामिन बी कम्प्लेक्सले शारीरिक वृद्धि हुने तथा खाना रुचि बढाउने समेत अध्ययनमा उल्लेख छ।
यस्तै, भिटामिन ‘डी’ले हड्डी मजबुत बनाउने, भिटामिन ‘इ’ले मांसपेशी मजबुत बनाई पक्षाघातबाट जोगाउन भएका कारण रैथाने गाईको दुध अहिलेका विकाशित दुधभन्दा बढी उपयोगी हुने अध्ययनमा छ।

भिटामिन ‘ए’ले रतन्धो हुनबाट जोगाउने र प्रजनन क्षमताको विकास गर्ने र शारीरिक विकासमा सहयोग पु¥याउने समेत अध्ययनमा भनिएको छ।

दूधमा क्याजिन प्रोटिनको मात्रा ८० प्रतिशत र ह्वे प्रोटिनको मात्रा २० प्रतिशत हुन्छ। त्यसमा सबैभन्दा बढी रैथाने गाईमा पाइने कृषि अधिकृत बासुदेव नाथ बताउँछन्।
बिटा क्याजिनमा ए१ र ए२ प्रोटिन दुधमा पाइने भएका कारण यसका लागि रैथाने गाईको दुध उपयोगी हुने उनको दाबी छ।

दूध एक महत्वपूर्ण पौष्टिकतायुक्त खाद्य पदार्थ हो। यसका लागि रैथाने दुध बढी उपयोगी हुने उनले बताए। ‘दूधमा भएको चिल्लोले शक्ति सञ्चय गरी बिरामी मानिस वा शारीरिक कमजोर भएका मानिसलाई आन्तरिकरूपमा यहीँ सञ्चित शक्तिको प्रयोग गरिन्छ। यसका लागि नेपालमा पाइने रैथाने गाईको दुध राम्रो हुन्छ।’ उनले भने।

नेपालमा रहेका रैथाने जातका पशुहरूको व्यवस्थापनका लागि उचित उत्पादन गर्न सके त्यसबाट दूध उत्पादन तथा उत्पादकत्वमा उल्लेख्य सुधार गर्न रैथाने चौपाया पालनमा सरकारी योजना आवश्यक रहेको उनको भनाइ छ।