अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कठिनाइ छैन

काठमाडौं–आप्रवासन नीतिमा बदलावसँगै अष्ट्रेलियाले विद्यार्थी भिसामा पनि कडाइ गर्न थालेको छ । यसबाट वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको ठूलो सङ्ख्या प्रभावित भएका छन् ।
तर, शैक्षिक तथा आर्थिक रूपमा सक्षम विद्यार्थीलाई अष्ट्रेलियाको भिसा पाउन समस्या नरहेको शैक्षिक परामर्शदाताहरू जिकिर गर्छन् । विद्यार्थी भिसालाई पढ्नेभन्दा अष्ट्रेलिया प्रवेश गर्न चाहने बाटो बनाउन चाहनेहरू यसबाट प्रभावित भइरहेको उनीहरूको दाबी छ ।
कोरोना महाव्याधिपछि जनशक्ति अभावका कारण अष्ट्रेलियाले आवेदन दिने अधिकांश विद्यार्थीलाई भिसा दिंदै आएको थियो । त्यसैले विदेशी विद्यार्थीको संख्या अत्यधिक बढ्यो । हृवात्तै बढेको विद्यार्थीका कारण अष्ट्रेलियामा वासस्थान तथा रोजगारीको संकट देखियो ।
एईसीसी ग्लोबलका कन्ट्री हेड शैलेस झा विद्यार्थी भिसाको लागि आवेदन दिएका विदेशीहरूको शैक्षिक तथा आर्थिक पक्ष केलाएर सक्षम व्यक्तिलाई मात्रै अष्ट्रेलिया सरकारले विद्यार्थी भिसा दिन थालेको बताउँछन् ।
विश्वविद्यालयमा शैक्षिक शुल्क महँगो पर्न जाने भएकोले कमजोर आर्थिक अवस्था भएकाहरू महँगो शुल्क तिरेर अध्ययन गर्न सक्दैनन् । नीतिगत परिवर्तनपछि भर्ना मापदण्ड कडा भएसँगै कमजोर शैक्षिक र आर्थिक अवस्था भएका विद्यार्थीको भिसा स्वीकृति दर घट्न थालेको हो ।