Close

Recent Posts

सुपारीको पातले ल्याएको परिवर्तन

सुपारीको पातले ल्याएको परिवर्तन
  • ३ बैशाख २०८१, सोमबार २१:११

सुपारी कृषि नगदेबालीका रुपमा परिचित छ । झापा, मोरङ, सुनसरी, उदयपुर, इलामका दक्षिणी भेग सम्म फैलिएको सुपारी खेति विस्तारै अन्यन्त्र फैलने क्रममा छ । बहुतले खेतिगर्न सकिने र परम्परागत खेति भन्दा बहुमुल्य हुने भएकोले त्यसलाई ध्यान दिँदै नेपाल सरकारले झापालाई ‘सुपारी जोन’को रुपमा घोषणा गरेको छ । सुपारी खेती गरेर किसानहरुले मनग्यै आम्दानी गरिरहेको बेला सुपारीको पात समेत विक्री हुन थालेपछि किसानहरु झनखुसी छन ।
सुपारी खेति विकास सँगै जोडिएर आएको नयाँ व्यवसाय सुपारीको पातको दुना टपरीले धेरैलाई रोजगारी दिइरहेको छ । पहिले पहिले आगो बालेर, कुहिएर सकिने पातले समेत गोटाको तीन रुपिया सम्म हात लाउन थालेपछि किसानहरुको अतिरिक्त आम्दानी समेत थपिदिएको छ र त्यसको सुरुवात गरिदिएको छ नेपाल सुपारी खेतिविकास संस्थाले ।

कसरी भित्रीयो प्रविधि
२०६८ सालमा तत्कालिन झापा घरेलु उद्योग कार्यालयका प्रमुखको नेतृत्वमा नेपाल सुपारी खेति विकास संस्थाका पदाधिकारीहरु सुपारीको अध्ययन भ्रमण गर्न दक्षिण भारत जाँदा सुपारीको पातबाट दुना टपरी बनेको देखेपछि हुटहुटी जागेको नेपाल सुपारी खेतिविकास संस्थाका अध्यक्ष देवी खेतिवडाको भनाइ छ । उहाँ भन्नुहुन्छ ‘हामीले त पात खेर फालिरहेका थियौँ, जब पातबाट त्यति राम्रा दुना टपरी बनेको देख्यौँ तब मनमा हुटहुटी भयो यो प्रविधि कहिले नेपाल भित्र्याउन पाइन्छ भनेर । त्यसपछि तत्काल हामीले मेसिन बनाउने ठाउँको भ्रमण ग¥यौँ ।’
‘जब भ्रमण टोली नेपाल फर्कियो तब मेसिन कसरी ल्याउने, कसले चलाउने भन्ने कुराको निक्र्यौल गर्न सकेको थिएन, नयाँ प्रविधि, पात संकलन गर्ने समस्या र बजारको व्यवस्थापनको कुरा नौलो भएकोले कसैले हिम्मतै नगरेको बेला संस्थाका सदस्य बुधबारेमा कृषिउत्पादन र नर्सरी सन्चालन गरिरहेका नारायण रिजालले आँट देखाएर मात्र प्रविधि भित्र्याउन सफल भयौँ’ संस्थाका अध्यक्ष देवी खतिवडा ले भने ।
हल दुई दुई वटा उद्योग सन्चालन गरिरहनु भएका नारायण रिजाल भन्नुहुन्छ ‘२०७० सालमा लगानीको सुनिश्चितता भएपछि दोश्रो चरणमा हामी फेरी प्रविधि र सन्चालन कसरी गर्ने भन्ने सिक्न भारत गएर आएपछि जन्मियो ‘नानी देमा अर्गानीक प्लेट उद्योग २०७१’ यो नै नेपालको पहिलो सुपारीको पातबाट दुना टपरी बनाउने उद्योग हो ।’ नेपालमा पहिलो पटक सुपारीको पातबाट टपरी बनाउने नारायण रिजाल भन्नुहुन्छ ‘सुरुमा खेति विकासले सहयोग गरेपछि मेसिन त ल्याइयो तर पात संकलनमा चुनौति भयो, घर घरमा गएर पात संकलन गर्नु त्यति सहज थिएन, पछि बल्ल हामी सक्षम भयौँ र पातको पनि पैसा दिन थाल्यौँ अनिमात्र पात संकलनमा किसानहरुले सहयोग गरे ।’
खेर गइरहेको सुपारीको पातबाट टपरी बन्न थालेपछि जिल्ला घरेलु उद्योग कार्यालयको समन्वयमा नेपाल सरकार उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको आर्थिक सहयोगमा २०७२ मै बाहुन्डाँगीमा एक सहकारीलाई मेसिन हस्तान्तरण भयो ।

त्यसपछि २०७३ सालमा बुधबारे मै अर्को उद्योग थपियो ‘एरिकाना प्रा.लि.’ दुई महिला सन्चालक रहेको यो कम्पनीले आफ्ना उत्पादनलाई झापाका विभिन्न शहर देखि काठमाडांै सम्म पु¥यायो र बजारको विस्तार ग¥यो ।
दुई दुई वटा उद्योगले सुपारीको पातबाट दुना टपरी बनाउन थालेपछि स्थानीय बजार साथै काठमाडौंमा समेत यसको विक्री र उच्च माग हुनथाल्यो । मानिसहरु स्वास्थ्यका कारण प्लाष्टिक प्लेटको विकल्प खोजी रहेको बेला प्राकृतिक रुपमा सुपारीको पातको टपरी आएपछि यसले चाँडै बजार लियो । स्थानीयहरुले समेत दुना टपरी प्रयोग गर्ने र घरघरमा पात जम्मा गर्न थाले र विक्री गर्न थाले ।
त्यसपछि अर्को कम्पनी भित्रीयो ‘लिफ प्लस’ । मेचिनगरका कृषि उद्यमी हरि दहालले टपरी बनाउने उद्योग देखिरहेको र प्रयोग गरिरहेको बेला हेटौँडा र दाङका इन्जिनियर लगानीकर्ता साथी भेटेपछि २०७४ मा यो कम्पनीको स्थापना भयो । यसले विदेशमा समेत आफ्नो उत्पादन विक्री वितरण गर्दै आइरहेको छ ।

लिफ प्लसका को फाउन्डर हरि दहाल भन्नु हुन्छ ‘हामीले सुपारीको पातको दुना टपरी युरोप सम्म पु¥याएका छौं । नेपालमा लगभग चार करोड सुपारीको पात खेर गइरहेको छ । यी सबैलाई प्रयोगमा ल्याउने हो भने नेपाललाई प्लाष्टिक प्लेट निषेधित क्षेत्र बनाउन सकिन्छ र निर्यातबाट अतिरिक्त आम्दानी गर्न सकिन्छ त्यसले धेरैलाई रोजगारी प्रदानगर्न सकिन्छ ।’

सुपारीको पातको टपरीको सम्भावना देखेर नै हालसम्मकै ठुलो करिब छ करोड लगानीमा झापाको बुधबारेमा अर्को उद्योग पनि सन्चालनमा आएको छ ‘हिमालयन लुस’। अमेरिकामा स्थायी बसोवास गर्ने लगानीकर्ता समेतको लगानीमा सन्चालित उक्त उद्योगले मात्र तीस जना भन्दा बढीलाई रोजगारी दिइरहेको छ ।

त्यसैगरि गतवर्ष मात्र झापाकै खुदुनाबारीमा सन्चालनमा आएको इनर्जी क्रप्स प्रा.लि.का सन्चालक दिपक ढुंगाना भन्नुहुन्छ ‘हामीले उत्पादन गरिरहेका दुना टपरीले प्लाष्टिक प्लेट आयातलाई मात्र विस्थापन गरेन त्यसले वातावरणमा पार्ने प्रभावलाई समेत कम गरेको छ । सर्याैँ रोजगारी सिर्जना भएका छन । निर्यातबाट विदेशी रकम भित्रीएको छ । यस्ता उद्योगलाई राज्यले प्राथमिकतामा राखे देशमै केही गर्छु भन्नेहरुका लागि नयाँ अवसर हुन सक्दछ ।’
हाल झापामा मात्र सुपारीको पातबाट टपरी बनाउने सात वटा उद्योग सन्चालनमा छन भने मोरङ र इलाममा एक÷एक वटा उद्योग स्थापना भएका छन । यी सबै उद्योगले गरी नेपालमा दैनिक तीसहजार भन्दा बढी सुपारीको दुना टपरी उत्पादन गरिरहेका छन् । यसरी उत्पादित टपरी अमेरिका, युरोप र देशका विभिन्न भागमा विक्रीवितरण भइरहेको छ ।
नेपालमा स्थापित सुपारीको पातबाट दुना टपरी बनाउने उद्योगमा हालसम्म नौ करोड हाराहारी लगानी भएको र त्यसले बार्षिक सरदर चार करोड मुल्य बराबरको उत्पादन गरिरहेको देखिन्छ । स्थानीय स्तरमा एक हजारभन्दा बढीको रोजगारी सिर्जना गरेको सुपारीको दुना टपरी उद्योगले सयौँ पात संकलनलाई अप्रत्यक्ष रोजगारी समेत दिइरहेको छ ।
सानो लगानीबाट उद्योग सन्चालन गर्न सकिने र कच्चा पदार्थ गाउँमा पाइने हुनाले सुपारीको पातबाट मात्र होइन साल र भोर्लाको पातबाट समेत टपरी बनाउन सके आयात मुखी अर्थतन्त्रलाई केही सहयोग गर्ने कुरा छर्लग्ग छ ।
खेर गइरहेको सुपारीको पातबाट दुना टपरी बनाउने प्रयासले देशमा प्लाष्टिकको प्लेट आयातलाई प्रतिस्थापन मात्र गरेन त्यसबाट हुने वातावरणीय प्रदुषणलाई समेत कम गरेको छ । विदेशी निर्यात भइरहेको टपरीले समेत सानै भएपनि आयात प्रतिस्थापन गरेको छ, देशको अर्थतन्त्र सुदृढ गर्न सहयोग गरेको छ ।
देशमा दुई करोड भन्दा बढी सुपारीको पात खेर गइरहेको र हालसम्म लगभग पच्चीस लाखमात्र पात प्रयोग भइरहेको अवस्थामा खेर गइरहेको पातलाई प्रयोग गर्न सके देशमा थप सयौँ रोजगारी सिर्जना गर्न सक्ने, प्लाष्टिक प्लेट निषेधित गरी आयात प्रतिस्थापना गर्न सक्ने र निर्यातबाट समेत विदेशी मुद्राआर्जन गर्न सक्ने सम्भावना भएको यो उद्योगमा राज्यको ध्यानजान जरुरी छ ।