Close

Recent Posts

तीन दशकदेखि नेपाली चियाको गुणस्तरमा भारतको प्रश्न ?

तीन दशकदेखि नेपाली चियाको गुणस्तरमा भारतको प्रश्न ?
  • १९ बैशाख २०८१, बुधबार ०५:२५

काठमाडौंँ– तीन दशकयता नेपाली चिया नियातमा भारतले रोक लगाउँदै आएको छ। गत साता भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेपछि गुणस्तरको समस्या देखाउँदै नेपाली चिया नियातमा एक साता रोक लगाइयो।

भारतले नेपाली चिया नियातमा गत सातामा मात्र होइन २०५२ सालले देखि रोक लगाउँदै आएको छ। तीन दशकयता नेपाली चियाको गुणस्तरमा भारतले प्रश्न उठाउँदै आएपनि नेपाली कुटनीतिक पहलमार्फत समझदारी गर्न नसकेको चिया व्यवसायीको आरोप छ।
सन् २०१९ मा नेपालको राष्ट्रिय खाद्य तथा दाना रेफरेन्स प्रयोगशाला र भारतको फूड सेफ्टी एण्ड स्टाण्डर्ड अर्थोरिटी अफ इण्डिया (एफएसएसआईए) बीच अर्को पनि समझदारी भएको थियो। तर भारतीय पक्षले अहिलेसम्म यस समझदारीलाई पालन नगर्दा चियाको गुणस्तरमा बर्षेनी प्रश्न उठने गरेको चिया व्यवसायीहरु बताउँछन्।

नेपाल भारत व्यापार सन्धी विपरित भारतले गुणस्तरको विषयलाई मुद्धा बनाएर नेपाली चिया नियातमा बर्षेनी रोक लगाउँदै आएको नेपाल चिया उद्योग एशोसिएसनका अध्यक्ष कमल मैनालीको आरोप छ।

भारतले नेपाल चिया खरिद गरेर भारतीय कम्पनीको ब्राण्डमा विदेशी बजारमा व्यापार गर्दै आएको उनले बताए। ‘नेपाली चियालाई भारतीय ब्राण्डमा व्यापार गरेपनि भारतले नेपाली चियाको गुणस्तरमा दुई दशकयता गुणस्तरमा प्रश्न उठाउनु लगत हो। यसमा सरकार कहिले गम्भीर भएन।’ उनले भने।

भारतले नेपाली चियाको नमूना कोलकात्तास्थित सेन्ट्रल फुड ल्याव (सीएफएल) मा पठाउन र उक्त नमूनाको परीक्षण प्रतिवेदन आउन कम्तिमा १५ देखि २० दिन लाग्छ। भारतले नेपाली चियामा सबैभन्दा ठुलो मुद्धा प्रतिवेदनको समयलाई देखाउने गरेको एशोसिएसनका अध्यक्ष मैनालीको भनाइ छ।

भारतसँग भएको समझदारीअनुसार यी दुवै निकायले जारी गरेको नमूना परिक्षणलाई गुणस्तरको मान्यता दिने गरेको छ। नमूना परिक्षणको प्रतिवेदन आउन १५ दिन लाग्दा हरियो चियाको सामान्य पात सुक्छ। हरियो चिया सामान्य ओलिएपनि भारतले गुणस्तरहिन भन्ने गरेको चिया एशोसिएसनको आरोप छ।

सन् १९५० मा भएको नेपाल–भारत सन्धीलाई समिक्षा गर्नुपर्ने चिया व्यवसायीले सरकारसँग माग गर्दै आएपनि यस विषयमा गर्दै आएका छन्।

नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउने ठाँउ नभएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा.दिपक खनालले जानकारी दिए। उनकाअनुसार विश्वमा नेपाली चियाको गुणस्तरीय छ भन्दै माग भइरहेको छ।

भारतले मात्र नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउनु गलत भएको उनले बताए। ‘नेपाली चियाका गुणस्तरमा समस्या छैन। भारतले बाहाना मात्र बनाएको हो। नेपाली चियाको माग भारतबाट पनि वर्षेनी बढ्न थालेपछि नेपाली चियाको गुणस्तरमा भारतले खोट देखाउँछ।’ उनले भने, ‘भारतीय व्यापारीले मात्र नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउँर्दै आएका छन्। त्यहाँका ग्राहकले नेपाली चिया गुणस्तर र पिउन योग्य भएको भन्दै नेपाली बजारबाट किनेर लैजान्छन्।’

भारतले नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउनुको मुख्य कारण भनेको भारतमा चियाको उत्पादन बर्षेनी घटनु भएको उनको भनाइ छ। दार्जिलिङका चियाका बोटहरु पुराना भए। अहिले त्यहाँ चियाको उत्पादन घट्दै गएपछि नेपाली चिया खरिद गरेर आफनो ब्राण्डमा व्यापार गरिरहेको उनको भनाइ छ।

भारतमा नेपाली चियाको बजारलाई निरुत्साहित गर्न २०७९ भदौंतिर तत्कालिन भारतीय साँसदहरुले चर्को लविङ गरेका थिए। पश्चिम बंगालको तत्कालिन साँसद शान्ता क्षेत्रीसहित दार्जिलिङको केही चिया बगानका सञ्चालकहरुको मिलोमतोमा भारतीय बजार खोस्न विश्व बजारमा नेपालीको प्रचार भइरहेको आरोप लगाएका थिए। त्यतिवेला उनीहरुले नेपाली चिया गुणस्तरहिन भएको भन्दै प्रचार समेत गरेका थिए।

नेपालको गुणस्तरयुक्त चिया भारत निर्यात हुन नदिन भारतका सांसदहरुले राज्यसभादेखि लोकसभासम्म चर्को लविङ भइरहेको हिमालयन अर्थोडक्स टी प्रोडयुसर्स एशोसिएसन(होट्पा) का उपाध्यक्ष उदय चापागाई बताउँछन्।

कागजी रुपमा गरिएको सन्धी, सम्झौंता र समझदारीलाई समेत भारतीय पक्षले मान्यता अहिलेसम्म नदिएको उनको आरोप छ। ‘नेपालको राष्ट्रिय खाद्य तथा दाना रेफरेन्स प्रयोगशालाले जारी गरेको गुणस्तरसम्बन्धी प्रमाणपत्रलाई एफएसएसआईएले मान्यता दिने भनेर एकातिर समझदारी भएको छ। तर भारतले यही विषयमा जहिले विवाद निकाल्छ।’ उनले भने।

भारतले नेपाली चियाको गुणस्तर परीक्षणको बहाना मात्र बनाएको उनको आरोप छ।
भारतमा नेपालबाट बार्षिक रुपमा ९० प्रतिशत अर्थोडक्स र करिब ५० प्रतिशत सीटीसी चिया नियात हुने गरेको छ। निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको कृषि मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी चिया निर्यातमा हुने नाकामै भारतले बर्षेनी रोक लगाउने गरेको छ।

नेपालबाट भारत बार्षिक एक करोड ७४ लाख किलो चिया निर्यात हुने गरेको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको तथ्यांकमा छ। नेपालबाट भारत वार्षिक साढे ६ लाखको चिया निर्यात हुँदै आएको छ। नेपाली हरियो चियाको पात अवैध बाटो हुँदै भारत तस्करी समेत हुने गरेको छ।
विश्व व्यापार संगठन (डब्लुटीओ) को प्रावधानअनुसार नेपालले भारतीय चियाको आयातमा लगाएको भन्सार शुल्कजस्तै भारतले पनि नेपाली चियाको निर्यातमा भन्सार शुल्क लगाउन छुट छ। तर नेपालले भने भारतीय चिया आयातमा ४० प्रतिशत भान्सार लगाउँदै आएको छ।
भारतबाट नेपालमा भित्रिने चियामा भने नेपाल सरकारले ४० प्रतिशत भन्सार शुल्क लगाएको छ। तर नेपालमा उत्पादन हुने चियामध्ये झण्डै ९० प्रतिशत शतप्रतिशत भन्सार छुटमा भारतमा निर्यात गर्दै आएको छ।

एण्टी डम्पिङ ऐन लगाएर नेपाली चियाको भारत निर्यातमा कम्तिमा ४० देखि १०० प्रतिशतसम्म भन्सार लगाउने व्यवसायीको माग छ। यस विषयमा पनि भारतीय चिया व्यापारीलाई चित्त नबुझेको उनीहरुको भनाइ छ।