शहरपिच्छे म्यानपावर एजेन्टको विगविगी : उपत्यकाबाहिर ३२ लाई मात्र अनुमति

काठमाडौं– एक दशकयता नेपालका मुख्य शहरमा वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीका शाखा कार्यालय छन् । तीनै शाखा कार्यालयले स्थानिय सञ्चारमाध्यममा विज्ञापन गरी कामदार बटुल्ने काम गर्दैै आएका छन् ।
वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय तत्काल नवीकरण गराउन निर्देशन गत असोज महिनामै दिएको थियो । हालसम्म कतिपय म्यानपावरबार कम्पनीले शाखा कार्यालयको नवीकरण नगरेको विभागले जनाएको छ ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्थाहरुको स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७९ को दफा ५ को उपदफा १ मा प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र शाखा कार्यालयको नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार हालसम्म ३२ वटा म्यानपावर कम्पनीले शाखा सञ्चालनको अनुमति लिएका छन् । तर, हाल सञ्चालन रहेका ८ सय ५८ वटै म्यानपावरका शाखा कार्यालय देशका मुख्य शहरमा छन् । हाल सञ्चालनमा रहेका अधिकांश शाखा कार्यालय अवैध भएको समेत विभागको वार्षिक प्रतिवेदनमा भनिएको छ ।
यसरी अवैधमा रुपमा खोलिएका शाखा कार्यालयको विभागले अनुमगन गर्न सकेको छैन । जसका कारण उपत्यका बाहिर रोजगारीको खोजीमा रहेका कामदार ठगिए भनेपनि म्यानपावरले उन्मूक्ति पाउने गरेको वैदेशिक रोजगार विभागकै कर्मचारीहरुले बताउँदै आएका छन् । पछिल्लो समय देशका मुख्य शहरमा प्राय सबै म्यानपावरका शाखा कार्यालय रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए । हाल सञ्चालनमा रहेका कतिपय शाखा कार्यालय अवैध रुपमा सञ्चालन भइरहेको र यो विषयमा अध्ययन भइरहेको उनले बताए ।
कार्यविधि विपरित शाखा कार्यालय सञ्चालन
कार्यविधिमा प्रत्येक शाखा कार्यालयको धरौटी शुल्क दुई लाख रुपैयाँ तोकिएको छ । शाखा कार्यालयमा कार्यालय प्रमुख रहने कर्मचारीको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा र सहायक कर्मचारीका लागि एसईई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ । तर, शाखा कार्यालयमा कर्मचारीका नाममा म्यानपावरले एजेन्ट राखेका छन् ।
कार्यविधिमा शाखा कार्यालय नवीकरण गर्दा प्रत्येक शाखा कार्यालयको एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ ।
कार्यविधिमा वार्षिक एक हजार कामदार पठाउने म्यानपावर कम्पनीलाई एक, दुई हजार पठाउनेलाई दुई, तीन हजार पठाउनेलाई तीन, तीनदेखि पाँच हजार पठाउनेलाई पाँच र पाँच हजारभन्दा धेरै पठाउनेलाई केन्द्रीय कार्यालयसहित सात वटासम्म शाखा सञ्चालनको अनुमति दिने गरेको छ । तर, पछिल्लो समयमा देशका मुख्य शहरमा सबै म्यानपावरका शाखा कार्यालय खोलेर चलाएका छन् ।
एजेन्टकै भरमा ७० प्रतिशत म्यानपावर सञ्चालन
एजेन्टकै भरमा ७० प्रतिशत म्यानपावर सञ्चालनमा रहेको विभागकै कर्मचारीको दाबी छ । विभागले २०७२ सालमै एजेन्ट खारेजी गरेको थियो । तर, हाल पनि म्यानपावरको कर्मचारी भएर एजेन्टले गाँउ–गाँउबाट कामदार खोजेर राजधानी ल्याउने गरेका छन् ।
झापाको बिर्तामोड, सुनसरीको इटहरी तथा धरान, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, चितवनको भरतपुर र दाङमा म्यानपावरका शाखा कार्यालय सञ्चालनमा भएको विभागले जनाएको छ । तर, गत वर्ष विभागले देशका हरेक मुख्य शहरमा रहेका शाखा कार्यालयमा अनुगमन गरेको प्रतिवेदन भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थन्किएको छ ।
देशभर करिब २ हजारभन्दा बढी एजेन्टले म्यानपावरको सहयोगी भएर काम गरिरहेको विभागले जनाएको छ । उनीहरु सबै म्यानपावरसँग जोडिएको समेत विभागको भनाइ छ । म्यानपावर प्राय एजेन्टमार्फत चलेका छन् । यादि एजेन्ट नहुनु भने ८० प्रतिशत म्यानपावरले कामदार खोज्न नसक्ने अवस्था आउने विभागका एक कर्मचारीले बताएका छन् ।
एजेन्टले महिनैपिच्छे कामदार खोजेर म्यानपावरसँम्म ल्याउँछन् र हरेक कामदारबाट २० हजारसम्म कमिशन लिने गरेको पाइएको ती कर्मचारीले जानकारी दिए ।
एजेन्टबाटै म्यानपावरले कामदार वैदेशिक रोजगारीमा पठाउँदा नगद कारोवार समेत गर्दै आएको र यो वैदेशिक रोजगार नीति विपरित भएको उनले बताए । ‘रोजगारीको खोजीमा रहेका कामदार खोज्ने, पैसा उठाउने, कामदारसँग पैसाको कुरा मिलाउने, रोजगारीको बारेमा जानकारी गराउन र काठमाडौंसम्म कामदार ल्याउने काम पनि एजेन्टले गर्छन् । यो क्षेत्रमा अहिले म्यानपावरभन्दा एजेन्ट बलियो छन् ।’ उनले भने, ‘पछिल्लो समय म्यानपावर कम्पनीले विदेशबाट डिमाण्ड ल्याउनुअघि नै शाखा कार्यालयमार्फत विज्ञापन गरी कामदारसँग अग्रिम पैसा समेत उठाउने गरेका छन् । यस्तो उजुरी दैनिक विभागमा आउने गरेको छ ।’
कामदारसँग उठाएको पैसा म्यानपावरले भिसा व्यापारमा लगानी गर्दै आएको उनको भनाइ छ ।
एजेन्टले वैदेशिक रोजगारीको खोजीमा रहेका कामदारसँग चर्को रकम लिने गरेको समेत स्यंम कामदारले बताउँदै आएका छन् । एजेन्टले चलाएकै म्यानपावरका शाखा कार्यालयबाट कामदार बढी ठगिएको गरेको उजुरी समेत दैनिक विभागमा पर्ने गरेका छन् ।
पछिल्लो म्यानपावर कम्पनीले धेरैजसो आर्थिक कारोवार म्यानपावरको शाखा कार्यालयबाटै नै हुने गरेको पनि कामदारनै बताउँछन् । हाल, वैदेशिक रोजगारीमा दैनिक ४२ वटा देश दैनिक १ हजार ४ सय जना जाने गरेको विभागले जनाएको छ ।