सगरमाथा आरोहण अन्तिम चरणमा, ९० प्रतिशतले आरोहण गरे

सगरमाथा आरोहण अन्तिम चरणमा, ९० प्रतिशतले आरोहण गरे
  • १२ जेष्ठ २०८१, शनिबार ०६:४०

काठमाडौं– यस वर्षको सगरमाथा आरोहण अन्तिम चरणमा पुगेको छ । केही आरोहीले आउँदो मङ्गलवार आरोहण गर्ने बताए पनि आज बिहानदेखि धेरैजसो समूहको आरोहण सकिएको पर्यटन विभागको आधारशिविर फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमले दिएका छन् ।
९० प्रतिशत भन्दा धेरै आरोहीको आरोहण सकिएको उनले बताए ।

विभागले अस्ति बिहीवारसम्म पाँच सय ७० जना भन्दा धेरैले आरोहण गरेको विवरण सार्वजनिक गरेको थियो ।त्यसपछि थपिएका केही आरोहीको विवरण सङ्कलन गर्ने काम भइरहेको गौतमको भनाइ छ । विभागले मे २९ ताखिरसम्म आरोहणको अनुमति दिन्छ ।

आरोहण सकिने क्रमसँगै आरोहण व्यवस्थापन गर्ने कम्पनीहरुले माथिल्ला शिविरबाट आफ्ना पाल तथा अरु बन्दोबस्तीका समान आधार शिविरमा ल्याउन थालेका छन् । आधार शिविरबाट पनि थुप्रै पालहरु उठाइसकेको विभागले जनाएको छ । यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका थिए ।

उनीहरुमा सहयोगी समेत गरी झण्डै नौ सय जनाले आरोहण गर्ने अनुमान् रहेको र यकिन विवरण यस वर्षको आरोहण सकिएको केही दिनपछि मात्र प्राप्त हुने विभागले जनाएको छ । यस वर्ष आरोहणका क्रममा पाँच जनाको ज्यान गएको छ भने तीन जना हराइरहेका छन् ।