गणतन्त्रको १६ वर्षमा १३ वटा सरकार, सबैभन्दा बढी प्रचण्ड प्रधानमन्त्री
काठमाडौं– गणतन्त्रपछि देशमा १३ वटा सरकार बनेका छन् । यी १३ सरकारमा ३३४ मन्त्री, ३५ उपप्रधानमन्त्री, १०८ राज्यमन्त्री र दुई सहायकमन्त्रीले अवसर पाए ।

तीनपटक प्रधानमन्त्री भएका प्रचण्ड सरकारमा पटक–पटक गरी मन्त्री १०९ मन्त्री, १२ जना उपप्रधानमन्त्री र नौजना सहायकमन्त्री भएका थिए । माधव नेपाल सरकारमा मन्त्री २७ जना, उपप्रधानमन्त्री दुई र राज्यमन्त्री १६ जना थिए । झलनाथ खनाल सरकारमा उपप्रधानमन्त्री तीन, मन्त्री ३१, राज्यमन्त्री १२ जना थिए ।
बाबुराम भट्टराई सरकारमा उप्रधानमन्त्री दुई, मन्त्री ४१, राज्यमन्त्री २० जना थिए । यसैगरी खिलराज रेग्मी मन्त्री ११ थिए भने सुशील कोइराला सरकारमा दुई उपप्रधानमन्त्री, २२ मन्त्री र दुई राज्यमन्त्री थिए ।
![]() |
![]() |
![]() |
|---|
तीनपटक प्रधानमन्त्री भएका केपी ओली सरकारमा नौजना उपप्रधानमन्त्री, ५८ मन्त्री, १६ राज्यमन्त्री र दुई सहायकमन्त्री भएका थिए । गणतन्त्र स्थापनापछि दुईपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा सरकारमा तीन उपप्रधानमन्त्री, ५६ मन्त्री र ३३ राज्यमन्त्री भएका थिए ।
प्रधानमन्त्री को कतिपटक बने ?
पुष्पकमल दाहाल प्रचण्ड (२०६५ साउन ३१–२०६६ जेठ ११, २०७३ साउन २०– २०७४ जेठ २४, २०७९ पुस १०) ।
Image Source: © https://mulpatra.com
माधव कुमार नेपाल (२०६६ जेठ ११–२०६७ माघ २२) ।
झलनाथ खनाल (२०६७ माघ २३–२०६८ भदौ ११) ।
बाबुराम भट्टराई (२०६८ भदौ १२– २०६९ फागुन ३०) ।
खिलराज रेग्मी (२०६९ चैत १–२०७० माघ २८) ।
सुशील कोइराला (२०७० माघ २८–२०७२ असोज २४) ।
केपी ओली (२०७२ असोज २५–२०७३ साउन १९, २०७४ फागुन ३– २०७८ वैशाख ३०, २०७८ वैशाख ३०–२०७८ असार २८) ।
शेरबहादुर देउवा (२०७४ जेठ २४ – २०७४ फागुन ३, २०७८ असार २९ –२०७९ पुस १०) ।
गणतन्त्र स्थापनापछि दुई–दुईपटक संविधानसभा र संघीय संसद्को निर्वाचन सम्पन्न भइसकेको छ । यस अवधिमा संविधानसभा सदस्य एक हजार २०७ निर्वाचित भए । ५५१ जना प्रतिनिधिसभा सदस्य र ११८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
यस्तै २०७४ को निर्वाचनबाट पहिलोपटक कार्यान्वयनमा आएको प्रादेशिक सरकार संघीय सरकारको छायामा परेको छ । संघमा सरकार परिवर्तन हुँदासाथ प्रादेशिक सरकार परिवर्तन हुने रोगले प्रदेशलाई गाँजेको छ ।
६ वर्षको अवधिमा दुईपटक प्रदेशसभाको निर्वाचन भइसकेको छ । यस अवधिमा सात प्रदेशमा ३१ वटा सरकार बनिसकेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम सरकार संवैधानिक संकटमा फसेको छ । सात प्रदेशमा अहिलेसम्म एक हजार १०१ जना प्रदेश सांसद निर्वाचित भइसकेका छन् ।



