चुरे दिवसको अवसरमा इलाम कमल सामुदायिक वनमा वृक्षरोपण

चुरे दिवसको अवसरमा इलाम कमल सामुदायिक वनमा वृक्षरोपण
  • ३ असार २०८१, आईतवार ०९:३७

इलाम –चुरे दिवसको उपलक्ष्यमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले इलामको कमल सामुदायिक वनमा वृक्षरोपण गरेका छन् । चुलाचुली–१ स्थित कमल खोला किनारको बाँझो जमीनमा चुरे पहाडको फेदमा बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका १००० बिरुवा रोपिएका छन् । सबडिभिजन वन कार्यालय चुलाचुली, सबडिभिजन वन कार्यालय बेलबारी, र डिभिजन वन कार्यालय त्रिवेणी, उदयपुरले सहयोग गरेको यो कार्यक्रममा चुरे उत्थानशील आयोजनाले बिरूवा उपलब्ध गराएको हो ।

mulpatra

“तराइमा नेपालका आधा जनसङ्ख्या बस्छन्, जसले सारा नेपालका लागि अन्न उत्पादन गर्छन्। तराइ जोगिएन भने यी सब मानिसको जीवन तथा जीविका जोखिममा पर्छ। त्यसैले चुरे क्षेत्र जोगाउने हाम्रो प्रतिबद्धता छ,” प्रमुख अतिथि तथा चुरे उत्थानशील आयोजनाका राष्ट्रिय निर्देशक नबराज पुडासैनी भन्छन् ।

पछिल्लो समयमा वनविनाश, नदीजन्य पदार्थको उत्खनन्, लगायतका मानवीय गतिविधिका कारणले चुरेको क्षेत्रको वातावरण खस्किरहेको, र चुरे क्षेत्रमा बाढी, पहिरो आउने, पानीका मूल सुक्ने, नदी कटानले घर भत्काउने र खेतलाई बञ्जर बनाउने लगायतका समस्या बढ्दै गइरहेको स्थानीयवासीको गुनासो छ। यस्तो सन्दर्भमा वृक्षरोपणले चुरे क्षेत्रमा केही सुधार गर्नेमा स्थानीयवासी उत्साहित छन्। “पहिले चुरे क्षेत्रमा पानी थियो। अहिले १०० फिट भन्दा गहिरो बोरिङ गर्दा पनि पानी पाइँदैन। अब हामीले वृक्षरोपण गरेर यो क्षेत्रलाई पहिलेको जस्तो बनाउने कोशिश गर्नुपर्छ। आयातीत प्रजातीले यहाँको उर्वराशक्ति घटाउने हुँदा रूख रोप्दा स्थानीय प्रजाती छान्नुपर्छ,” वडा १ का कार्यवाहक वडाध्यक्ष लालबहादुर चाम्लिङ बताउँछन्।

mulpatra mulpatra mulpatra

यो क्षेत्रको संरक्षण पछिल्लो समयमा नेपाल सरकारको प्राथमिकतामा पर्दै आएको छ । १० वर्ष अगाडि असार २ गतेलाई चुरे दिवस घोषणा गरियो। तत्कालीन राष्ट्रपति राम वरण यादवले राष्ट्रपति चुरिया तराइ मधेस संरक्षण तथा विकास समिति अन्तर्गत संरक्षणका विभिन्न काम भइरहेका छन। “चुरे क्षेत्रको माटो अत्यन्त कमलो छ । पानी नुहँदा ढुङ्गा जस्तो साह्रो हुन्छ, पानी परेपछि गल्छ, अनि बगेर गइहाल्छ। यो माटोको संरक्षण गर्न सकिएन भने हामीले उर्वर, मलिलो माटो गुमाउँछौँ । त्यसकारण चुरेको संरक्षण गर्नका लागि एकीकृत भएर लाग्नुपर्ने छ,” आयोजनाका कोशी प्रदेश संयोजक राज कुमार गुप्ता भन्छन् ।

चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ । वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्य अन्तर्गत वृक्षरोपण गरिएको हो । चुरे उत्थानशील आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षरोपण गर्दै आएको छ । हाल कोशी प्रदेशमा आयोजनाका ७ वटा नर्सरी रहेका छन् जसमा कूल ४ लाख भन्दा बढी बिरुवा रहेका छन्। यी बिरूवामा रैथाने प्रजातिलाई प्राथमिकता दिइएको छ, र बिरुवा रोप्न चाहने मानिसलाई यी बिरुवा निःशुल्क वितरण गरिनेछन् ।

वृक्षरोपण गरेर वनक्षेत्र बढाउँदै लाने योजना रहेको कमल सामुदायिक वनले बताएको छ। ”वरृक्षरोपण गरेर हामी वनलाई फेरी हराभरा बनाउन चाहन्छौँ। भविष्रयमा यी बिरूवा हुर्काउने र अझै बिरूवा रोप्ने हाम्रो योजना रहेको छ,” कमल सामुदायिक वनकी अध्यक्ष सङ्गीता थलङले बताएकी छिन्।

Image Source: © https://mulpatra.com