९२ प्रतिशत म्यानपावर फ्रि भिसा, फ्रि टिकट बुझाउन हिच्किचाए, १६ ले बुझाए
काठमाडौँ–सरकारले मागेको फ्रि भिसा, फ्रि टिकटको विवरण १६ वटा म्यानपावर कम्पनीले मात्र बुझाएका छन्। गत असार १७ गते वैदेशिक रोजगार विभागले फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाएको विवरण साउन १ गतेभित्र बुझाउने सूचना प्रकाशित गरेकोे थियो ।

उक्त सूचनाका आधारमा १४ वटा म्यानपावर कम्पनीले फ्रि भिसा, फ्रि टिकटमा कामदार विवरण बुझाएका छन्। हाल सञ्चालनमा रहेको करिब नौ सय म्यानपावरमध्ये १६ म्यानपावर कम्पनीले मात्र फ्रि भिसा, फ्रि टिकटको विवरण बुझाएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार हाल सञ्चालनमा रहेको आठ सय ८८ म्यानपावरले भने अहिलेसम्म फ्रि भिसा, फ्रि टिकट विवरण बुझाएका छैन ।
सरकारले फ्रि भिसा, फ्रि टिकटमा वार्षिक कति कामदार वैदेशिक रोजगारीमा जान्छन् भनेर तथ्यांक राख्न म्यानपावरसँग यसको विवरण मागेको उनले बताए । ‘फ्रि भिसा, फ्रि टिकटको विवरण बुझाउने समयअवधि अझै एक साता छ । विभागले दिएको समयसिमामा सबै म्यानपावरले फ्रि भिसा, फ्रि टिकटको विवरण बुझाउँछन् भन्ने आस छ ।’ उनले भने ।
फ्रि भिसा, फ्रि टिकटको विवरण नबुझाउन म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार ऐनअनुसार कारवाही र जरिवाना समेत हुने उनको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
विभागले मागेको फ्रि भिसा, फ्रि टिकटको विवरण बुझाउन अधिकांश म्यानपावर हिच्किचाइरहेको विगागकै कर्मचारी बताउँछन् । विभागका एक उच्च अधिकारीका अनुसार कतिपय म्यानपावरले सरकारको समीकरण फेरिएपछि राजनीतिक शक्तिका भरमा विभागले मागेको फ्रि भिसा, फ्रि टिकटको निर्णय उल्टाउने धम्की समेत दिइरहेका छन् । त्यही भएर अधिकांश म्यानपावर कम्पनीले फ्रि भिसा, फ्रि टिकटको विवरण बुझाउन हिच्किचाइरहेको उनको दाबी छ ।
तत्कालीन श्रम, रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकालमा २०७२ सालमा फ्रि भिसा, फ्रि टिकटको व्यवस्था लागू गरेका थिए । उनले खाडीका देश र मलेसिया जाने कामदारका हकमा फ्रि भिसा, फ्रि टिकटका अनिवार्य लागू गराएका थिए ।
वैदेशिक रोजगार व्यवसायी संघले उक्त निर्णयको नौ बर्षयता विरोध गर्दै आएका छन्। त्यही भएरपनि संघमा आवद्ध म्यानपावर कम्पनीले फ्रि भिसा, फ्रि टिकटको विवरण बुझाउन नचाहेको विभागका कर्मचारी बताउँछन् ।
फ्रि भिसा, फ्रि टिकटमा ४ प्रतिशत कामदार मात्र वैदेशिक रोजगारीमा जाने गरेको म्यानपावर व्यवसायीहरु नै बताउँछन्। श्रम मन्त्रालयले मागेको फ्रि भिसा, फ्रि टिकटको विवरण ९२ प्रतिशत म्यानपावर कम्पनीले बुझाउन नसक्ने एक रोजगारी व्यवसायीको दाबी छ । उनका अनुसार सरकारले लागू गरेको फ्रि भिसा, फ्रि टिकटमा नौ बर्षको अवधिमा ९० हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छैन । ‘अधिकांश म्यानपावर कम्पनीसँग फ्रि भिसा, फ्रि टिकटको विवरण पनि छैन । त्यही भएर फ्रि भिसा, फ्रि टिकटको कतिपय म्यानपावरले नक्कली विवरण बनाएर बुझाउँछन् । ’ उनले भने ।
यस्तै, वैदेशिक रोजगार व्यवसाय संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार खाडी र मलेसिया गएका सबै कामदार फ्रि भिसा, फ्रि टिकटमै गएका हुन् । उनीहरुको दैनिक, मासिक र वार्षिक विवरण विभागसँग सुरक्षित छ। जसका कारण यसको विवरण म्यानपावर सञ्चालकसँग माग्नुपर्ने जरुरी नभएको उनको भनाए छ ।
Image Source: © https://mulpatra.com
फ्रि भिसा, फ्रि टिकटको विवरण पठाउने म्यानपार
विभागले दिएको समयसीमाभन्दा एक हप्ताअघि नै १६ म्यानवार कम्पनीले फ्रि भिसा, फ्रि टिकट विवरण पठाएको विभागले सार्वजनिक गरेको सूचिमा छ ।
वाइज इन्टरनेशनल नेपाल, एफएसआई वल्र्डवाइड नेपाल, गुड एलायन्स ओभरसिज, ब्रोडलिंक ओभरसिज, सोलो एशिया रिक्रुटमेन्ट, मित्र ओभरसिज, सुनकोशी म्यानपावर सर्भिस, नवजीवन इन्टरनेशनल, टाइटानिक म्यानपावर सप्लायर्स, रिलायन्स एचआर सोलुसन, स्टेभान गुर्खा सर्भिस, ब्रिटिश गुर्खा ओभरसिज सर्भिस, मिराकल इम्प्लोइमेन्ट सर्भिस, इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट, आकर्षण इन्टरनेशनल र नासा ह्युमन रिसोर्स प्रालिले फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाएको विवरण विभागमा पेश गरेका छन् ।
इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट र आकर्षण इन्टरनेशनका नाम प्रकाशित गर्न छुटेपनि ती दुवै म्यानपापरले फ्रि भिसा, फ्रि टिकटको विवरण पठाएको विभागले जनाएको छ । यस्तै, फ्रि भिसा, फ्रि टिकटको विवरण बुझाएका म्यानपावरले नौ देखि १० हजार कामदार पठाएको हुनसक्ने विभागको अनुमान छ ।
विभागले म्यानपावर कम्पनीसँग फ्रि भिसा, फ्रि टिकटअन्तर्गत पठाएको श्रम गन्तव्य देश, रोजगारदाता कम्पनीको संस्था, कामदारको नाम, उनीहरूको नेपालको सम्पर्क नम्बर, काम, तलबलगायतका विवरण मागेको छ। तर यस्तो विवरण म्यानपावर कम्पनीसँग नभएको रोजगार व्यवसायी नै बताउँछन् ।



