पतञ्जलीका दोषी शालिग्राम सिंह फरार, पूर्वमन्त्री किसान श्रेष्ठ बचाउन दौडधूप
काठमाडौ । सामाजिक क्षेत्रमा सेवा गरेको नाममा नेपालका विभिन्न औद्योगिक घरानाले ठग्दै आएका छन् । २०७२ मा आएको विनाशकारी भूकम्पमा उजाड नेपालीका घर बनाउन विदेशी सहयोगलाई नेपालीलाई खिस्याउने काम नायिका स्वेता खड्कासहितले गरे । उद्योगपति विनोद चौधरीले भूकम्पपीडितका घर बनाउने घोषणा गरे तर बनाएनन् ।

योगाका प्रचारका नाममा नेपाल प्रवेश गरेको रामदेव र आचार्य बालकृष्णको जोडीले नेपाल सरकारबाट लिनुपर्ने अधिकतम सुविधा र सहुलियत लिएका थिए । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले नेपालमा आयुर्वेद विश्वविद्यालय, योगकेन्द्र, जडिबुटी उद्योग सञ्चालन गर्ने र विश्वबजारमा बिक्री गर्ने परिकल्पना देखाउँदै प्रवेश गरेको पतञ्जली योगपीठले नेपालमा हदबन्दी छुटको जग्गा खरिद गरी बिक्री गर्ने रियलस्टेटको कारोबारमा लाग्यो ।
काभ्रेको बनेपा नगरपालिकाको साँगा क्षेत्रमा हदबन्दी छुट पाएको ८१५ रोपनी जग्गामध्ये ३५३ रोपनी प्लटिङ गरी बिक्री गरेर नेपाल सरकारलाई धोका दिने कार्य गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट दोहोरो छानबिन भइरहेको छ । अख्तियार र सीआईबीबाट छानबिन हुन थालेपछि रामदेवको पतन्जली योगपीठ नेपालका ब्यवस्थापक शालीग्राम सिंह फरार भएका छन् । सीआईबीले पक्राउ गर्ने सूचना पाएपछि उनी फरार छन् ।
![]() |
![]() |
![]() |
|---|
शालिग्राम सिंह को हुन् ?
जनकपुरको अति विपन्न परिवारमा जन्मी हुर्किएका सिंह पेशाले इन्जीनीयर हुन् । सुजाता कोइरालाको भक्ति गरी राजनीतिमा पहुँच पुर्याएका सिंह पतञ्जली योगपीठ नेपालका प्रमुख हुन् । बृहत्तर जनकपुर परिषदको अध्यक्ष भएपछि शालिग्राम सिंहले उक्त संस्था नै तहसनहस पारेका छन् । बृहतर जनकपुरमा उनले बजेट खर्च गर्दा कीर्ते कागजका आधारमा गरेका भुक्तानी र यात्री गेष्टहाउसको सम्झौता हेर्दा नै पुष्टि हुन्छ । सिंहकै कारण परिषद २ बर्षदेखि बन्द छ । कर्मचारीलाई काठमाडौंमा राखी तलव खुवाउने काम हुँदैआएको छ । जहाँ जहाँ शालिग्राम त्यहाँ त्यहाँ कीर्ते र भ्रष्टाचार हुँदैआएको छ । त्यसको ज्वलन्त उदाहरण जनकपुर इन्जीनीयरिङ्ख कलेजदेखि बृहत्तर जनकपुर परिषद हुँदै पतञ्जलीलाई लिन सकिन्छ ।
नेपाल सरकारले पतञ्जली योगपीठलाई योगकेन्द्र, जडिबुटी उत्पादन उद्योग सञ्चालन गर्न हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न अनुमति दियो । खरिद गरेको साढे तीन महिनामै काभ्रेको साँगा क्षेत्रको उक्त जग्गामध्ये ३५३ रोपनी जग्गा प्लटिङ गरी बिक्री गरेका छन् । हदबन्दी छुटमा जग्गा किनेर रियलस्टेट कारोबार गरी शालिग्राम सिंहले पतञ्जलीकै बदनाम गरेका छन् । पतञ्जलीको आवरणमा हदबन्दी छुट लिएर शालीग्राम सिंहले जग्गा कारोबार गरेको पुष्टि भएपछि अख्तियार र सीआईबीले छानबिन अगाडि बढाएका हुन् । उक्त जग्गा बिक्रीबाट आएको रकम समेत शालिग्राम सिंहले हुन्डीमार्फत् भारतमा लगेको आशंका गरिएको छ । पतञ्जलीको नाम जग्गा दुरुपयोग मात्र होइन, अबैध हुन्डी कारोबारमा समेत मुछ्ने काम शालीग्रामले गरेका छन् ।
Image Source: © https://mulpatra.com
त्यसैगरी, शालीग्राम सिंहले पतञ्जलीको नाममा हदबन्दी छुटमा किनेको जग्गा प्लटिङ गरेको रकम मिटरब्याजमा समेत लगाएको आरोप छ । मिटरब्याजमा रकम लगानी गरेकै कारण शालीग्राम सिंहलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले समय समयमा पत्र काटेर बोलाउने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार मिटरब्याजका बिरुद्ध छानबिन समिति गठनपछि उजुरी आह्वान गर्दा उनका बिरुद्ध समेत पीडितले उजुरी दिएका थिए ।
पतञ्जली योगपीठ नेपाल नेपालमा ल्याउनमा ब्यापारी उपेन्द्र महतोको समेत प्रमुख भूमिका थियो । पतञ्जलीबाट आयुर्वेदिक सामान उत्पादन गरी विश्वबजारमा बिक्री गर्ने पवित्र उद्देश्यले खोलिएको थियो । तर त्यस्तो पवित्र उद्देश्यले खोलिएको पतञ्जली शालीग्राम सिंहको निकृष्ट र भ्रष्ट प्रबृत्तिका कारण केही समयमै उपेन्द्र महतो अलग भए । शालीग्राम सिंहले हदबन्दी छुटको दुरुपयोग गर्दै जग्गा बिक्री गरेपछि पतञ्जलीसँगसँगै रामदेव र आचार्य बालकृष्णसमेत बदनाम हुन पुगेका छन् ।
शालीग्राम किन फरार भए ?
पतञ्जली योगपीठको नाममा अवैध रुपमा विना अनुमति हदबन्दी भन्दा बढी जग्गा खरिद गर्ने, बिक्री गर्ने र त्यसबाट आएको नाफा अबैध तरिकाले भारत पठाउने गरेको सूचना अख्तियार र सीआईबीले पायो । सीआईबीले पक्राउ गर्नसक्ने सूचना पाएपछि सिंह फरार छन् । अख्तियार र सीआईबीले पतञ्जलीका सबै जग्गा रोक्का राखेका छन् । हदबन्दी छुटको दुरुपयोग गरी जग्गा अपचलन गरेका सिंह पक्राउ परे पतञ्जलीको थप बदनाम हुने भएपछि आचार्य बालकृष्ण चिन्तित भएर नेपालका पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)लाई गुहार्न पुगेका छन् ।
किसान श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीसँग मिलाउन खोजिरहेका छन् । अख्तियारका प्रमुख राईले किसान श्रेष्ठको उक्त नियत थाहा पाएपछि उनलाई भेट नै नदिएको बताइन्छ । किसान श्रेष्ठ पतञ्जलीबिरुद्ध मुद्दा दर्ता हुन नदिने, अन्ुसन्धान नै तुहाउने र क्लीनचिट दिलाउने आश्वासन दिएर शालीग्राम बचाउमा लागेका छन् । चितवनका कँडेल थरका एक ब्यवसायीमार्फत् किसान श्रेष्ठले आकर्षक सलामी पनि बुझिसकेका छन् ।
सलामी पचाउन उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सीआईबीमा फोन गराई दबाब दिएर शालीग्राम सिंहलाई पक्राउ पर्नबाट तत्काल जोगाउन सफल भएका छन् । शालिग्राम सिंहको पक्राउ रोक्नमात्रै २ खोका सलामीस्वरुप खर्च भइसकेकोे बताइन्छ । शालीग्रामलाई पक्राउ हुनबाट रोक्न र हदबन्दीछुटको जग्गा बिक्री गर्नेलाई क्लीनचीट दिलाउन लागेकोबारेमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले प्रतिक्रिया दिन चाहेनन् ।



