सात बर्षदेखि प्रांगारिक कृषि पर्यटन चर्चामै सिमिति
काठमाडौँ– सरकारले २०७४ सालमा नेपाललाई प्रांगारिक कृषि पर्यटन विकास गर्ने अवधारण अघि सारेको थियो। सात बर्षअघि कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले कृषि व्यवसाय प्रवर्द्धन सम्वन्धी ऐन, २०७४ जारी गर्दै तीनै तहको सरकारले प्रांगारिक कृषि पर्यटन विकास लागि काम गर्ने योजना सार्वजनिक ग¥यो ।
त्यतिबेला सरकारले प्रांगारिक कृषि पर्यटनलाई कृषि रुपान्तरण गरि बजारीकरण, विदेशी पर्यटकलाई कोसेलीका रुपमा प्रांगारिक कृषिका वस्तुदिने, अर्गानिक कृषिका उत्पादन बढाउने, नेपाल घुम्न आउने विदेशी पर्यटकलाई प्रांगारिक–अर्गानिक खाना खुवाउने, ग्रामिण कृषिलाई पर्यटनसँग जोड्ने, कृषिमा आधुनिकता, पोषणयुक्त अन्न उत्पादन र युवालाई कृषिमा आकर्षण गर्दै कृषिलाई औद्योगिक विकास गर्दै लैजाने लक्ष्य लिएको थियो ।
तर सात बर्षसम्म प्रांगारिक कृषि पर्यटनको विकास हुन् सकेको छैन। भने सरकारले लिएको लक्ष्यअनुुार तीनै तहको सरकारले योजना बनाएर काम गर्न सकेका छैन ।
कृषि मन्त्रालयले सात बर्षअघि प्रांगारिक कृषि पर्यटन विकास व्यवसाय प्रवर्द्धन गर्न लक्ष्य राखेपनि यसका बजेट छुट्याएको छैन। प्रदेश र स्थानिय सरकारले भने प्रांगारिक कृषि पर्यटन विकासका लागि योजना बनाउँदै आएका छन्। तर त्यसको फाइदा कृषि पर्यटनमा नपुगेको कृषि मन्त्रालयकै विभिन्न अध्ययनमा उल्लेख छ ।
कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर कार्कीका अनुुसार सरकारले प्रांगारिक कृषि पर्यटन विकासका लागि योजना र यसका फाइदाका बारेमा अध्ययनसँगै सम्बन्धीत क्षेत्रका सरोकारवाला संस्थासँग छलफल गर्दै आएको छ ।
आगामी बर्षको बजेटमा प्रांगारिक र अर्गानिक कृषिलाई पर्यटन विकाससँग जोडन तीनै तहका सरकारले महत्वमा राखेको उनले बताए । ‘तीनै तहका सरकारले प्रांगारिक कृषि पर्यटन विकासका लागि काम गरिरहेका छन्। कतिपय स्थानियले तहले प्रांगारिक र अर्गानिक कृषिका बस्तु उत्पादन गरेर बजारमा बिक्री गर्न थालेका छन् ।’
यस्तै, पूर्वकृषि सचिव डा. गणेश जोशीले कृषि क्षेत्रको सुधार गर्ने मुख्य आधार अनुसन्धान भएका बताएका छन्। उनका अनुसार सरकारले केही योजना अघि सार्नुअघि अनुसन्धान गर्नुपर्छ ।
नेपाल जस्तो देशमा कृषि क्षेत्रमा वृद्धि हुनु भनेको वार्षिक ३ देखि ४ गुणा गरिबी घटाउन सहयोग पुग्ने उनले बताए । ‘कृषि पर्यटनको बजारको खासै समस्या छैन। उत्पादित वस्तुले सहजरुपमा बजार पाउन सकेको छैन। यसका लागि सरकारले नै जोड गर्नुपर्छ’ उनले भने, ‘प्रांगारिक कृषि पर्यटनको मुख्य आयस्रोत बनाउन समस्या छैन। कृषिमा निर्वाहमुखी र फार्म केन्द्रित कृषि प्रणालीको विकास गर्नुपर्छ। त्यसपछि कृषिका उत्पादित बस्तुको व्यापारका लागि सरकारले बजार खोज्नुपर्छ’
यसैगरी, २०१३ सालदेखि शुरू भएको योजनाबद्ध विकासले नेपालको रूपान्तरण कृषिबाटै सम्भव भएको बनाउँदै आएको छ । सरकारको नेतृत्वमा पुगेका पार्टीले योजनाका बारेमा भाषण मात्र गरे तर काम गर्न नसकेको कृषि विज्ञहरुको आरोप छ ।
सरकारले २०१३ सालदेखि प्रांगारिक कृषि पर्यटन विकासमा जोड दिएपनि यसले निरन्तरता पाउन नसकेको कृषिविज्ञ कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार नेपालका ६५ प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित छ । उनीहरुपनि प्रांगारिक कृषि पर्यटनसँग जोडिएको उनले बताए । ‘सरकारले पर्यटनलाई प्रांगरिक कृषिसँग जोडनुपर्छ । यस्तो गर्दा नेपालको ग्रमिण क्षेत्रको कृषि पनि फस्टाउँछ ।’ उनले भने। प्रांगारिक कृषि पर्यटन विकासमा सरकारले जोड गरे गाँउ–घरमा पनि कृषिको आकर्षण बढ्न सक्ने उनको भनाइ छ ।
प्रांगारिक कृषि पर्यटनको सम्भावना
कृषि पर्यटनको गन्तव्य प्रायः ग्रामीण भेगमा मात्र छ भन्ने बुझिन्छ, तर कृषि व्यवसाय शहरमा पनि हुन्छ। शहरभन्दा कृषि पर्यटन गाँउमा रमाइलो र आकर्षण हुन्छ ।
कृषकसँगै प्रत्यक्ष रुपमा कृषि कार्यमा संलग्न भएर गाउँघरको घुमघाम सबैलाई रमाइलो लाग्छ। गाँउ घरमा अहिलेपनि भैंसी दुहेको, काठको ठेकीमा दही मोथेको, दहीबाट मही, नौनी उत्पादन र घाँस–दाउरा गर्ने परम्परा नै छ । भने गाँउ घरमा गरिने खेतीपनि कृषि पर्यटनको आकर्षण हो ।
यस्तै, कृषि उत्पादनका परम्परागत खानपानलाई विभेदीकरण (रूपान्तरण) गरी नयाँ परिकार तयार गरी हिजोको भात, आँटो, ढिँडो, रोटी र अन्य परिकारका खाना शहरमा पाइन्छ छ । तर गाउँघरमा जस्तो शहरमा अर्गानिक हुँदैन्। शहरमा आकर्षणका लागि कृत्रिम मात्र हुन्छन् । त्यही भएर प्रांगारिक कृषि शहरमा भन्दा ग्रामिण भेदमा अर्गानिक हुन्छ ।
साथै, जातजातिविशेष, घर आवासमा पाहुना (पर्यटक)लाई खुवाउने अर्गानिक परिकारलगायत थरीथरी खाद्य एवं पेय पदार्थमार्फत आतिथ्य गराउने ग्रामिण पर्यटका माध्यम समेत बन्दैछन् । पछिल्लो समयमा शहरमा यीनै वस्तु नक्कल गरेको खोलेको रेष्टुरेन्ट र होटल चलेका छन् ।
कृषि पर्यटनका लागि नेपालको पहिचान झल्कने मौलिक परम्परालाई पनि प्रयोग गरेर विदेशी पर्यटन तान्न सकिन्छ । यसका लागि स्थानीय सीप र ज्ञानको समुचित प्रयोग गर्नुपर्ने प्रांगारिक कृषि पर्यटनविज्ञ संगम शेर्पा बताउँछन् ।
‘कृषि पर्यटनले गाउँमा धेरै कुराको अध्ययन र अवलोकन गर्न पाइन्छ । यसका लागि सरकारले कृषिलाई कृषि पर्यटनसँग जोड्न समय–समयमा कृषि पर्यटन अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना गर्नुपर्छ’ उनले भने, ‘कृषि पर्यटनका लागि चिनारी एवं चिनोको रुपमा प्रदान गरिने स्थानीय उत्पादनको उपहार जस्ता वस्तुको बजार विस्तार हुन्छ। यसबाट मौलिक घरेलु वस्तुहरुको उत्पादन बढ्छ’
कृषियोग्य भूमिमा आधुनिक कृषि खेती प्रणाली, उपयुक्त कृषि भौतिक पूर्वाधार र संचरना विकास गरी कृषि पनि पर्यटन पनि तान्ने प्रकृतिको काम गर्नुपर्ने उनको भनाइ छ। शेर्पा काठमाडौंको कपनमा १४ बर्षदेखि प्रांगारिक कृषि पर्यटन व्यवसाय क्षेत्रमा काम गर्दै आएका छन्।
ग्रामीण विकासको आधार पनि कृषि पर्यटन हो। गाउँमा जाने पर्यटकहरुलाई अर्गाानिक र पोषणयुक्त खानाको स्वादसमेत लिने गरेका छन्। कृषि पर्यटनले एकातिर कृषकलाई खाद्यान्न उत्पादन र पशुपालनमा आकर्षित गर्दै लैजान्छ भने अर्कोतिर ग्रामीण पर्यटकलाई कृषि प्रणाली र ग्रामीण जीवनशैलीको बारेमा पर्यटकहरुलाई अध्ययन, अनुसन्धानको मार्ग समेत बन्छ।
कृषि प्रधान देशमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान ३१.७ प्रतिशत मात्रै छ। प्रांगारिक कृषि पर्यटनका विकास हुँदा जीडीपी बृद्धि हुने र कृषकहरुको जीवनशैलीमा पनि परिवर्तन हुने सरोकारवालको भनाइ छ।