बैंकबाट एकैदिन बाहिरियो तीन अर्ब, कर्जा प्रवाह ठप्प

काठमाडौं–बैंकिङ्ग प्रणालीबाट एकैदिन तीन अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको हो । हाल बैंक तथा वित्तीय संस्थामा कुल ६४ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यो गत आइतबारसम्मको तथ्याङ्क हो । राष्ट्र बैंकको अनुसार त्यसभन्दा अघिल्लो अर्थात् गत साउन १२ गते बैंक तथा वित्तीय संस्थासँग कुल ६४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो । तर, एकदिनमै ३ अर्ब रुपैयाँ निक्षेप घटेको हो ।
सो अवधिमा वाणिज्य बैंकको निक्षेपमात्रै २ अर्बले घटेर ५७ खर्ब ३ अर्ब रुपैयाँ कायम भएको छ । साउन १२ गतेसम्म भने बैंकहरुको कुल ५७ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । अन्य वित्त कम्पनीहरुबाट पनि १ अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीबाट बाहिरिएको छ । गत १२ गतेसम्म वित्त कम्पनीहरुको कुल निक्षेप ७ खर्ब ३२ अर्ब रहेको थियो । तर, आइतबारसम्म भने घटेर ७ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको छ ।
निक्षेप घटेको छ । तर, कर्जा प्रवाह भने ठप्प छ । आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर, त्यसको अघिल्लो दिन पनि सोही रकम नै थियो । अर्थात् कर्जा प्रवाह स्थिर देखिएको छ । समिक्षा अवधिमा आइपुग्दा वाणिज्य बैंकहरुको कर्जा लगानी ४५ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । यता, अन्य वित्त कम्पनी ५ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंकहरुमा लगानीयोग्य रकम थुप्रिँदा कर्जाको माग भने अझै बढ्न सकेको छैन । कर्जा प्रवाह न्युन हुँदा अन्तर बैंक ब्याजदर पनि घटेको छ । बैंकहरुको तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर पनि घटेको हो । राष्ट्र बैंकका अनुसार हाल ३ प्रतिशत कायम भएको छ । यता, बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) साढे ७८ प्रतिशतको लाइनमा आइपुगेको छ । पछिल्लो समय सीडी रेसियो पनि क्रमिक रुपमा घटी रहेको छ । हाल सीडी रेसियो ७८.४७ प्रतिशत कायम भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।