सेयर कारोबारमा नयाँ रेकर्ड, २१ अर्ब ९१ करोड १५ लाख कारोबार

काठमाडौ– पछिल्लो समय सेयर बजार निरन्तर उकालो लागिरहेको छ । लामो समय बजारले गति लिन नसक्दा निराश बनेका लगानीकर्ताहरू बजार बढेसँगै उत्साहित देखिन्छन् । नेप्से परिसूचकसँगै कारोबार रकम पनि आक्रामक ढंगले बढिरहेको छ ।
यस दिन कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाली सेयर बजारमा यो नै सबैभन्दा बढी कारोबार हो । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । आज नेप्से परिसूचक ६४=२५ अंकले बढेर २७६०.९० बिन्दुमा पुगेको छ । बजारले लगातार उकालो यात्रा तय गरेसँगै लगानीकर्ताको मनोबल मात्र बढेको छैन । बजारले यसअघिका रेकर्ड तोड्नेमा समेत उनीहरू विश्वस्त देखिन थालेका छन् ।
सरकार परिवर्तन, लगानीकर्ताले रुचाएका विष्णु पौडेल अर्थमन्त्री र बजारमा लगाइएका कसिलो नीतिहरू खुकुलो हुनेगरी आएको मौद्रिक नीतिले गर्दा पनि बजार नयाँ इतिहास रच्ने यात्रामा रहेको विश्लेषकहरू बताउँछन् । यसअघि २०७८ भदौ २ गते ३१९९ बिन्दुमा बजार बन्द भएर अलटाइम हाइ रेकर्ड बनाएको नेप्सेले त्यसपश्चात उक्त रेकर्ड तोड्न सकेको छैन ।उक्त दिन ‘इन्ट्रा डे’ नेप्सेले ३२१२ बिन्दु चुम्यो ।
यसको भोलिपल्ट भदौ ३ गते बजारपुँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५२ लाख ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भयो । त्यसयता भने बजारले करीब ३ वर्ष अघिको कुनैपनि रेकर्ड तोड्न सकेको छैन । नेपालको सेयर बजारको इतिहासमा २०७८ साल ऐतिहासिक वर्षको रूपमा रह्यो ।