दलाल पुँजीपति र विभिन्न गिरोहले भूलभूलैयामा पारेको प्रचण्डको टिप्पणी
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू, पदाधिकारी र कार्यकर्ताहरू प्रदूषित भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले भने, ‘अध्यक्ष भएको नाताले आफू प्रदूषित भएको आत्मालोचना गर्छु । म मात्रै होइन पदाधिकारी र तपाँईरु पनि प्रदूषित हुनु भएको छ ।’
‘जनयुद्धका बेला हजारौं होलटाइमर कार्यकर्ताहरू थिए । उनीहरूको व्यवस्थापन आफैंले गर्नु पर्छ भनियो । व्यवस्थापनका लागि हामी प्रहर्षित भयौं’, उनले भने, ‘कहिले मेहनत गरेर व्यवस्थापन गर्नु भयो अरूले २ नम्बरी गरेर व्यवस्थापनमा लाग्नु भयो ।’
![]() |
![]() |
![]() |
|---|
अध्यक्ष प्रचण्डले दलाल पूँजीपतिहरूको भुल भुलैयाका कारण पार्टीमा समस्या भएको बताए । उनले भने, ‘हाम्रो पार्टीलाई दलाल पूँजीपति र विभिन्न गिरोहले भुल भुलैयामा पारे । हाम्रो पार्टी नेता र कार्यकर्ताहरूलाई प्रदूषित बनाए ।’
बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा माओवादी त्यति अनुभवी नभएको भन्दै यसैको फाइदा उठाएर दलाल पँुजीपतिहरुले पार्टीमा चलखेल गरेको प्रचण्डको दाबी छ । पार्टीको बैठकमा अध्यक्ष प्रचण्डले माओवादी पार्टीको विभाजनले आन्दोलन नै अर्कै मोडमा पुगेको स्वीकार गरे । उनले पार्टी विभाजन हुनुको कारण पनि आफू भएको बताए ।
उनले भने, ‘हामीले विद्रोह की चुनाव भन्ने कुरालाई छान्न सकेनौं चुनाव पनि भन्यौं र विद्रोह पनि । चुनाव र विद्रोह सँगसँगै भन्नु नै माओवादी आन्दोलनको गल्ती भयो । चुनाव पनि विद्रोह पनि भनेका कारण साथीहरूले पार्टी विभाजन गर्नु भयो । चुनावै हो भनेको भए पनि उहाँहरू जानु हुन्थेन ।’
Image Source: © https://mulpatra.com
‘पार्टी अध्यक्ष भएका नाताले यो गल्तीको जिम्मा पनि मै लिन्छु’, प्रचण्डले थपे, ‘क्यान्टेन्टमेन्टमा जनमुक्ति सेना राखेर विद्रोह गर्छु भन्नु मेरो गल्ती थियो । यो गल्ती नगरेको भए साथीहरू फुटेर जाँदैन थिए । विद्रोह नै भनेको भए पनि हामी एक हुन्थ्यौ ।’
उनले गल्ती गर्न नछाड्ने पनि पार्टीको विशेषता भएको बताए । गल्तीदेखि डराउने पार्टी अगाडि बढ्न सक्दैन । उनले भने गल्ती गर्न डराउने पार्टीले प्रगति गर्न नसक्ने दाबी गर्दै उनले गल्ती थाहा पाएपछि आत्मालोचना गर्न पनि पछि नपर्ने भएकाले हाम्रो पार्टी अरू पार्टी भन्दा फरक भएको बताए ।
उनले पार्टी विभाजन भए पनि पुन एकताको कुरा अगाडि बढेको बताए । उनले विभाजनमा गएकाहरूसँग रिस राग नभएको बताए । अहिले माओवादी केन्द्रसँग एकताका लागि छुटेर गएकाहरू तयार हुँदै गएको बताए । अहिले केन्द्रिकरणको कुरा भइरहेको बताए । या बीचमा धेरै नै प्रदूषित भएको बताए ।
उनले गिरीजा प्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु पनि माओवादी आन्दोलनको गल्ती भएको बताए । उनले कोइरालालाई राष्ट्रपति हुनबाट रोक्न आफूमाथि प्रेसर भएको समेत खुलाए । उनले गिरीजालाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बनेको भए राम्रो संविधान बन्ने जिकिर गरे । गिरीजा प्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु आफ्नो गल्ती भएको उनले स्वीकारे ।



