कृषि उद्यममा लागेका धेरै राज्यको पहुँच भन्दा बाहिर छन अध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर स्थिति एक होटलमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।
नेपाल बीउ तथा मल परियोजना, सिमिट नेपाल, नेपाल उद्योग बाणिज्य महासंघ कृषि कृषि उद्यम केन्द्र को संयुक्त आयोजनामा कृषिमा आधारित लघु,साना तथा मझौला उद्यमीहरु र सरोकारवालाहरुको राष्ट्रिय गोष्ठी सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय कृषि मन्त्री रामनाथ अधिकारीले गर्नु भएको थियो । कृषि मन्त्रालय, बाणिज्य मन्त्रालय, बैंक तथा विभिन्न सरोकारवालाहरुको संयुक्त उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकार खासगरि कृषि मन्त्रालयले कृषि दशक मनाउँदै गर्दा कृषि विधेयकको तयारी गरिरहेको छ त्यसको लागि यो कार्यक्रमको निष्कर्ष महत्वपुर्ण रहेको जनाउनु भएको छ । उहाँले भन्नुभयो ‘कृषि दशक घोषणा त भयो तर त्यसको उद्देश्य पुरा गर्न गर्नुपर्ने कार्यहरु धेरै छन । कन्ट्याक्ट फार्मिङ, जग्गाको व्यवस्थापन आदि जस्ता कुरा चाहेर पनि गर्न नसकेको कुराहरु छन, खासगरि नेपालमा परम्परागत उत्पादन छ र त्यो पनि निर्वाहमुखि मात्र छ त्यसको लागि आधुनिकीकरण र त्यसको उचित बजारको लागि धेरै कानुनहरुको संसोधन समेत जरुरी रहेको देखिएको छ ।’
निजी रुपमा कृषि उद्यममा लागेकाहरु धेरै राज्यको पहुँच भन्दा बाहिर रहेको हुनाले तिनीहरुलाई समेत समेटन सक्नु आजको चुनौति रहेको छ भन्दै उहाँले भन्नुभयो ‘आधुनिक कृषि प्रणालीलाई आत्मसात गर्न मन्त्रीकै अगुवाईमा चीन, कोरीया, इजरायल र युरोपमा समेत साझेदारी गरि कृषकहरुलाई भ्रमण गराई आधुनिक कृषि पद्धती भित्र्याउन जरुरी रहेको छ । सिप सिकाएर ल्याउन जरुरी छ ।’
‘नीजि क्षेत्र आफ्नै खर्चमा जान चाहेपनि राज्यले त्यसको उचित व्यवस्थापन गर्न सकिरहेको छैन त्यसैले मन्त्रालयले नै त्यसको व्यवस्थापन गर्न सके अझ राम्रो हुने थियो ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेत लगायत कृषि मन्त्रालय, बाणिज्य मन्त्रालय, राष्ट्र बैंक र विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरुले आफ्ना कुरा राख्नु भएको थियो ।