महिला टि ट्वान्टी विश्वकपको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि

महिला टि ट्वान्टी विश्वकपको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि
  • १ आश्विन २०८१, मंगलवार २२:५७

एजेन्सी – अर्को महिनामा संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि ट्वान्टी विश्वकपको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) का अनुसार यस पटकको विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन अस्ट्रेलियाले जितेको रकमको तुलनामा १ सय ३४ प्रतिशतले बढी हो । अस्ट्रेलियाले विश्वकप जित्दा १० लाख अमेरिकी डलर पाएको थियो ।

आइसिसीले यस संस्करणको विश्वकपमा कुल पुस्कार राशीमा २ सय २५ प्रतिशत वृद्धि गराएको छ । आइसिसीले महिला र पुरुष विश्वकपमा समान पुरस्कार प्रदान गर्ने पहलमा यो कदम चालिएको हो ।

आइसिसीले २०२४ को पुरुष टि ट्वान्टी विश्वकपको विजेता भारतले २४ लाख ५० हजार अमेरिकी डलर प्रदान गरिएको थियो । महिला विश्वकपमा सहभागी रहने टोली अनुसार पुरुषको तुलनामा यो पुरस्कार राशी धेरै नै बढी हो ।

पुरुष टि ट्वान्टी विश्वकपमा २० राष्ट्र सहभागी हुँदा महिला टि ट्वान्टी विश्वकपमा १० राष्ट्रको मात्र सहभागिता रहनेछ ।

२०२४ को महिला विश्वकपको उपविजेताले ११ लाख ७० हजार अमेरिकी डलर पाउनेछ । यो गत संस्करणको तुलनामा १ सय ३४ प्रतिशतमा नै वृद्धि भएको छ । गत वर्ष उपविजेता दक्षिण अफ्रिकाले ५ लाख अमेरिकी डलर पाएको थियो ।

२०२४ मा सेमिफाइनलमा पराजित दुई टोलीले ६ लाख ७५ हजार अमेरिकी डलर पाउनेछन् । जुन अघिल्लो संस्करणमा २ लाख १० हजार अमेरिकी डलर थियो । सन् २०२४ मा सहभागी हुने सबै १० टिमले १ लाख १२ हजार ५ सय अमेरिकी डलर पाउने छन् ।

नवौं संस्करणको महिला टी ट्वान्टी विश्वकप ३ अक्टोबरबाट युएईमा सुरुवात हुँदैछ । बंगलादेशमा सुरक्षाको कारण देखाउदै प्रतियोगिता युएई सारिएको थियो ।