देशभर मौसमको प्रभावः झापामा अति भारी बर्षा
काठमाडौं । हिजो राती देखि देशका विभिन्न स्थानमा भएका बर्षा र भारी बर्षाका कारण जनजीवन प्रभावित वनेको छ । झापामा परेको अविरल बर्षाले दक्षिणी भेग डुबानमा पर्न थालेका छन ।
आज बिहान ९ बजे झापाका तीन बर्षामापन केन्द्रले २४ घण्टामा भारी वर्षा भएको देखाएको छ । केचनामा १७९.८, गौरादहमा १६२.२ , चन्द्रगढी एयरपोर्टमा १४४.२ र अनारमनी बिर्तामोडमा ११६.६ मिमि बर्षा भएको हो ।
भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याव्सन, एन प्याव्सनले पनि विद्यालय बन्द गराएका छन्। अविरल वर्षाका कारण इलाम, पाँचथर, ताप्लेजुङ लगायतका हिमाली तथा पहाडी जिल्लाका केही सडकहरू अवरुद्ध बनेका छन्।
जल तथा यातायात मौसम विभागले सचेतनाका लागि सबैको मोलाइलमा सूचना पठाएको छ । सुचनामा भनिएको छ । ‘पछिल्लो ३ घण्टामा झापा जिल्लाको गौरादह, चन्द्रगढी,केचना, अनरमनी बिरता, इलाम जिल्लाको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको, सो क्षेत्र भइ बहने कन्काई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाइराखौँ ।’
त्यस्तै गरि प्रदेश २ अन्र्तगतका जिल्लाहरु र लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको डण्डा, दुमकौली, सेमारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको देउराली नवल, रुपन्देही जिल्लाको तिलोत्तमा, भैरहवा, लुम्बिनीस्थित वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
उक्त क्षेत्र भएर बहने कालीगण्डकी नदी, तिनाउ नदी, निस्ती खोला, बिनइ नदी, मुकुन्डे खोलालगायत स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको विभागको भनाइ छ ।
तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूलाई भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।
देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने बाढी, पहिरो र डुबानको जोखिमका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन ती भेगका सर्वसाधारणमा विभागले अनुरोध गरेको छ ।