खरिद हुने भयो बाँकेका किसानको धान
काठमाडौं । किसानहरुले उत्पादन गरेको वस्तुहरुले उचित बजार नपाएको गुनासो चलिरहँदा बाँकेमा भने किसानहरुले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गरिदिने भएको छ ।
बाँकेमा उत्पादिन ४० हजार क्वीन्टल धान खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिक्विन्टल मध्यम धान रु तीन हजार पाँच सय ८० र मोटो धान रु तीन हजार चार सय १० मा खरिद गर्न मूल्य निर्धारण गरिएको छ ।
धान खरिद गर्न तयार भएपनि चाडपर्व र प्रतिकुल मौसमका कारण केही ढिला भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिएका छन् ।
किसानको धान खरिद गर्न भने केही प्रक्रिया तोकिएको छ । जसमा कुन वडामा उत्पादन भएको हो सो वडा कार्यालयको सिफारीस र पहिचान खुल्ने कागजपत्र वा नागरिकता भने अनिवार्य गरिएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार यस बर्ष बाँकेमा एकलाख पचासहजार मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको छ ।