Close

Recent Posts

बिजय बरालले थामेको ‘पूर्ण बहादुरको सारङ्गी’ मा महिलाकाे कथा कमजोर

बिजय बरालले थामेको ‘पूर्ण बहादुरको सारङ्गी’ मा महिलाकाे कथा कमजोर
  • २० कार्तिक २०८१, मंगलवार १७:५६

काठमाडौं–सन्तानको उज्ज्वल भविष्यका लागि आफ्नो चोट र व्यथा लुकाएर अभिभावकले गरेको संघर्षको कथा हो पूर्ण बहादुरको सारङ्गी । सरोज पौडेलको कथा र निर्देशन रहेको चलचित्रको पटकथा महेश दवाडीले गरेका छन् । आफ्ना सन्तान आफु जस्तै भएको मन पर्छ, आफुले अंगालेको पेशा नै अगालेको मन पर्छ वा सन्तानलाई डाक्टर इन्जिनियर नै बनाउनु पर्छ ? शुरुवातमा यी दुई विचारको द्वन्द्व चलचित्रमा देखिएको छ ।

mulpatra

जीवन संघर्षको बाटोमा परम्परागत पेशाले जीवन धान्न गाह्रो देखिएपछि परिवर्तन जरुरी ठानेकी फिल्मकी पात्र बाटुलीले जसरी पनि सन्तानलाई बाबुको पेशा अंगालेर हिड्न नदिने अड्डि लिएपछिको परिणाम सन्तान डाक्टर बन्न सफल त हुन्छ तर परिवर्तनकारी तिनै महिलालाई अर्कासँग पोइल गएको देखाएर भुमिका विहिन बनाउनु चलचित्रको नकारात्मक पक्ष बनेको छ ।

चलचित्रले जातिगत विभेद त भन्न खोजेको छ तर आफै समाज परिवर्तनमा महिलाको भुमिकालाई तिरस्कृत गरेर माथि उठ्न सकेको छैन । त्यसैले महिला मैत्री छैन भन्दा अनुचित हुँदैन । रोधीमा हारेर आएकी जन्म घरसँग विद्रोह गरेकि महिला हुन महिला पात्र बाटुली । परिवारले भागी भनेर कुशको चिता बनाएर दाहसंस्कार गरे भन्ने सुनेपछि विचलित बाटुलीको विद्रोह घरमा पनि कायम हुन्छ । ‘छोरालाई पनि आफुजस्तै माग्ने बनाउने भयो, मलाई यो भुमरीबाट निकाल्ने मन छ हर्के’ भनेर मनको व्यथा पोखेकी बाटुली हर्केको जालमा फसेपछि निकाल्ने प्रयास नगर्नु फिल्मको कथा पक्ष कमजोर हुनु हो ।

समाज परिवर्तनको संवाहक मानिन्थ्यो गाइने समुदाय । गाउँ गाउँमा गएर शोषण, उत्पीडनको गीत गाउँदै जनता जागरुक गराएको तथ्य र इतिहास पनि छैन चलचित्रमा । उल्टै समाज परिवर्तनका लागि निरकुंश राजतन्त्रको विरुद्धमा लागेका शिक्षकहरुले आन्दोलनमा महिला सहभागिता नगराउनु, आन्दोलनलाई सहयोग गर्नुपर्यो भनेर भन्दा ‘हामी क्रान्ति गर्न जन्मेका होइनौ’ भन्ने शैलीको जवाफले चलचित्रले प्रजातन्त्र र स्वतन्त्रताका लागि गरिएको विद्रोह, भुमिगत आन्दोलनलाई समेत समर्थन गरेको छैन । बरु विद्यालयमा ‘श्रीमान गम्भिर नेपाली प्रचण्ड प्रतापी भूपति’ गान पुरा गाएर देखाउन खोजेको छ जुन जरुरी नै थिएन ।

रोधी खेल्दै माइती घरमा विद्रोह गरेर गाइनेसँग भागेर आएकी छोरी जब आमा बन्छे तब उसको रहर छोरालाई पढाउने हुन्छ । गाइने पेशामै रमाइरहेको श्रीमानको कमाइले जति दुःख गर्दा पनि भरपेट खान र लाउन नपुग्ने र आफ्नो तिलहरी लाउने सानो इच्छा पनि पुरा नहुने बुझेकी बाटुलीले कुनै पनि हालतमा छोरालाई सारङ्गी रेट्ने नबनाउने उदघोष गरिरहन्छे । तर हजुरबुबा र बाबु पुर्णबहादुर परिवारको पेशा धान्ने चाहिन्छ भन्दै उसलाई गाइने नै बनाउने भनिरहन्छन ।

समाजको अवहेलना र खासगरि बाटुलीकै विद्रोहले नै पुूर्णबहादुरले छोरा पढाउन थालेको भएपनि त्यसको श्रेय बाबु एक्लैले लिन खोजिरहनु र छोराले ‘आमा कहाँ होलिन’ भनिरहँदा छोराको दिमागमा नेगेटिभ धारणा विकास गर्नु पनि चलचित्रको राम्रो पक्ष मानिँदैन ।


यति हुँदा हुँदैपनि गन्धर्व समुदायको पेसा, पेसाको पुस्तान्तरण, समाजले हेर्ने दृष्टिकोण, छोराछोरीको पढाइलेखा र जीविकोपार्जनको कथालाई चलचित्रमा सिगो विजय बरालको काँधले भरथेग गरेको छ । पुर्णबहादुरको रुपमा बिजय बरालसँगै बाटुली बनेकी अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ र प्रकाश सपुतको वरिपरि चलचित्र घुमको छ ।

पुर्ण बहादुरको सारङ्गीको सबैभन्दा सबल पक्ष बिजय बरालकै अभिनय हो । चलचित्रको नायक बनेका बिजय बरालको अभिनय कलालाई सबैले सम्मान गरेका छन । यो चलचित्रबाट उनले थिएटर कलाको सम्मान झन बढाएका छन । उनले अभियन गरेका २० औं चलचित्र भन्दा फरक र खारिएको अभिनय गरेर सिंगो चलचित्रको भारी बोकेर सफल अवतरण गराएका पनि छन ।

पुर्ण बहादुर पछि चलचित्रको मुख्य भुमिकामा रहेका मुकुन पनि सफल बनेका छन चलचित्रको भुमिकामा । सुरु देखि अन्तिमसम्मै भुमिकामा रहेका मुकुनको युवा देखि वृद्धसम्मकै अभिनयलाई राम्रो भन्न सकिन्छ ।

बुद्धि तामाङ र प्रकाश सपुतको अभिनय चलचित्रमा औषत नै छ । पुर्णबहादुरको साथीका रुपमा रहेका बुद्धिले चलचित्रमा फरक रुप दिन खोजेका छन् ।

बाबु वितेको थाहा पाएपछि डाक्टर बनेर आएका प्रकाश सपुतको जबरजस्त रुवाईले दर्शकको भावना जित्न खोजेपनि कमसल अभिनय र वातावरणले सहजै सफल हुँदैनन ।

चलचित्रमा पाश्र्च संगीत कमजोर रुपमा रहेको छ । यति हुँदा हुँदै पनि काँधेकुरी गीतको धुन र गीतले सबैको मन जीतेको छ । गीत उत्कृष्ट छ ।

केही पात्रको भुमिका र घटनाहरुले चलचित्रलाई कमजोर बनाएको छ । कथा वस्तुमा उभिएका पात्रहरु मध्ये बाटुलीलाई अलपत्र पारेर उसको महत्वपूर्ण भूमिकाको अवमुल्यन गर्नु । क्रान्तिमा लागेका हेडसरले विद्यार्थीले लगाएर फालेका पुराना लुुगा गरिबले लाउँदा पनि फुकाल्न लाउनु जस्ता कमजोर विषयवस्तुमा निर्देशक फेल खाएका छन ।

एसएलसी छात्रवृत्तिमा पढेको गाइनेको छोरो शहरमा बसेर आइएसी पढेर डाक्टर पढिन्जेलको उसको चेतना स्तर, उसको घरप्रतिको दायित्व र जिम्मेवारीमा फेल बनाएर प्रकाश सपुतको कमजोर प्रस्तुती दिएको छ चलचित्रले ।

गाउँ समाजको परिवार र व्यक्तिप्रतिको जिम्मेवारी बोध नगराएकोले समाज अध्यननमा चुकेको जस्तो देखिन्छ चलचित्र । पुर्णबहादुरको स्वरै जानेगरि गरिएको आक्रमण र त्यसभन्दा पछिल्ला घटना क्रममा कथावस्तु अपत्यारिलो छ । पुर्णबहादुरको आवाज गुमेपछि पटक पटक छोरासँग फोन उठाएर गफ नगर्दा पढाइमा एकमुष्ट पैसा तिरिदिने पसलेको जिम्मेवारी होस वा बाबु मरेपछि सहरमा भएको छोरालाई खबरै नगरी लास जलाउने र महिनौ वित्दा पनि खबर नगरिदिने समाजबारे कमजोर प्रस्तुती छ । समाजलाई नै जिम्मेवारीवोधबाट पन्छाएर कथा सबल बन्न सकेको छैन ।

समग्रमा चलचित्रले इतिहास र परम्परा पनि गतिलो गरि भन्न सकेको छैन न चलचित्रमा देखाइएको परिवेश अहिले मेल खान्छन जसले समाजले केही सिक्छ सकुन । तर पनि पुर्णबहादुरको दुःख हेर्दै दर्शकले समय भने कटाउँछन त्यहि हो चलचित्रले जितेको पक्ष । तसर्थ यस चलचित्रमा बिजय बराल उच्चतम अंक हासिल गर्न सफल भएपनि औषत अंकमा चलचित्र रहेको छ ।