Close

Recent Posts

चीनका लागि नेपाली राजदूतमा केपी ओली नियुक्त, अमेरिकामा रेग्मी

चीनका लागि नेपाली राजदूतमा केपी ओली नियुक्त, अमेरिकामा रेग्मी
  • २६ कार्तिक २०८१, सोमबार १०:१०

काठमाडौं–विश्व शक्ति सन्तुलनमा ज्यादै प्रतिस्पर्धा गरिरहेका दुई शक्तिराष्ट्र अमेरिका र चीनका लागि नेपालले नयाँ राजदूत नियुक्त गरेको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले यी दुई देशका लागि राजदूत नियुक्त गरेका हुन् ।

mulpatra

छिमेकी चीनका लागि आवासीय नेपाली राजदूतमा प्रा. डा. कृष्णप्रसाद ओली नियुक्त भएका छन् । त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओली र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् ।

१४ साउनमा मन्त्रिपरिषद्ले डेढ दर्जन मुलुकका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पोडेलले ओली र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् ।

mulpatra mulpatra mulpatra

यस पल्ट छिमेकी भारत र चीन सहित शक्ति राष्ट्रहरू अमेरिका, रुस र बेलायतमा पनि राजदूत एकसाथ सिफारिस भएका थिए। भारतमा यस अघिकै राजदूत डा शंकर शर्मालाई पुनः सिफारिस गरिएको थियो भने चीनमा ओली सिफारिस भएका थिए।

त्यस्तै अमेरिकामा नेपाल सरकारका पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका थिए। यीमध्ये शर्मा, रेग्मी र घिमिरे चिनिएकै नाम हुन् । तर ओली अलि कम परिचित व्यक्तित्व हुन् ।

ओली पनि प्रधानमन्त्रीकै जिल्ला झापाकै बासिन्दा हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका नजिकका नातेदार हुन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कृष्णप्रसाद (उनको पनि छोटकरी नाम केपी ओली नै हो)लाई काका सम्बोधन गर्छन् ।

Image Source: © https://mulpatra.com

लामो समय चीनमै बसेर अध्ययन अनुसन्धान गरेका डा. ओली केपी ओलीकै प्रधानमन्त्रीत्वमा ७ वर्ष अघि राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले आफू सरकारबाट बाहिरिनुअघि २०७८ वैशाखमा डा ओलीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरिदिएका थिए।

डा ओली वन तथा वातावरण क्षेत्रका विज्ञ हुन्। विकास र वातावरण संरक्षणको क्षेत्रमा उनको ३५–४० वर्ष लामो अनुभव छ। खासगरी हिन्दु–कुश हिमालय क्षेत्रमा ओलीको विज्ञता रहेको छ। एसियाली विकास बैंक लगायतका संस्थामा उनले परामर्शदाता भएर समेत काम गरेका छन्।

उनले इसिमोडमा वरिष्ठ इकोसिस्टम व्यवस्थापन विशेषज्ञका रुपमा ९ वर्ष काम गरेका थिए। उनी दुई वर्ष अघि विश्व किसान सङ्घको उपाध्यक्षमा निर्वाचित भएका थिए । चीनमा आयोजित विश्व किसान सङ्घको पहिलो अन्तर्राष्ट्रिय महाधिवेशन तयारी समितिको सातौँ बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको थियो ।

डा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्राकृतिक स्रोत तथा वातावरण सल्लाहकारको भूमिकामा रहेर पनि काम गरिसकेका छन् ।