हुन्डाई आयोनिक फाइभ अब १०० किलोवाटमा पनि आउने, कति सस्तो भयो मूल्य ?
काठमाडौं– कोरियाली ब्राण्ड हुण्डाईका गाडी नेपालमा निकै लोकप्रिय छ । खास गरी क्रेटा मोडलको गाडी भारत र नेपालमा पनि ज्यादै लोकप्रिय मानिन्छ । क्रेटा त नेपालको बेस्ट सेलर नै हो ।
तर विद्युतीय गाडीमा हुण्डाईले अघि सारेको आयोनिक फाइभले नेपालमा अपेक्षित बजार लिन सकेन । स्तरीय गाडी हुँदा हुँदै पनि बजार लिन कठिन पर्नुको कारण हो, यसको क्षमता । यो गाडी १२५ किलोवाट मोटरमा आएको थियो ।
तर नेपालमा धेरै चिनियाँ ब्राण्डका गाडीहरु १०० किलोवाट मोटरमा आइदिए । सरकारले १०० किलोवाटसम्मका गाडीको आयातमा कम राजस्व लगाएका कारण यस्ता गाडीको भाउ पनि सस्तो पर्ने भयो । त्यसैले हुण्डाईका गाडी महँगो पर्ने अवस्था थियो । यही परिस्थितिसँग जुध्न अब हुण्डाई आयोनिक फाइभ पनि १०० किलोवाटमै बजारमा उपलब्ध हुने भएको छ । हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अबको एक महिना भित्रै आयोनिक फाइभको नयाँ भेरियन्ट नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।
यसका लागि कम्पनीले प्रि–बुकिङ खुल्ला गरिसकेको छ । लक्ष्मी हुण्डाई पनि भनिने यस कम्पनीले नयाँ १०० किलोवाट क्षमताको आयोनिक फाइभ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यो नेपालमा उपलब्ध प्रिमियम सेग्मेण्टकै गाडी भएको कम्पनीले जनाएको छ । यो सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिने कम्पनीको दाबी छ ।
सन् २०२२ मा विश्वकै ‘कार अफ दि इयर’, विश्व ‘इलेक्ट्रिक कार अफ दि इयर’ र विश्व ‘कार डिजाइन अफ दी इयर’जस्ता सम्मानित पुरस्कारहरू प्राप्त गरिसकेको आयोनिक फाइभ ले अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा पाइसकेको छ । यो गाडी नेपालमा पनि सन् २०२२ कै फेब्रुअरीमा भित्रिएको थियो । त्यसको करीब ३ वर्ष पछि यसको नयाँ र सस्तो भेरियण्ट भित्रिन लागेको हो ।
्र
अहिले १२५ किलोवाटको अल इलेक्ट्रिक एसयुभी गाडी १ करोड ३ लाख ९६ हजारमा बेचिरहेको छ । यसअघि पनि १०० किलोवाटमा इकोनोमिक मोडल कोना बेचिरहेको हुण्डाईले अब प्रिमियम सेग्मेण्टमा पनि १०० किलोवाटमा गाडी बेच्न लागेको हो । अहिले कोनाका दुई भेरियण्टको मूल्य ५९ लाख ९६ हजार र ६४ लाख ९६ हजार तोकिएको छ ।
नयाँ आयोनिक फाइभ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । यसले पनि अहिलेकै जस्तो एक पल्ट फुल चार्ज गरेपछि ३७५ किलोमिटरसम्मको रेन्ज दिने दाबी कम्पनीको छ ।
स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध रहेको गाडीमा प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड र पिक्सेल टेललाइटजस्ता फिचर्सले धेरैको मन लोभ्याउने कम्पनीको अपेक्षा छ ।
आयोनिक फाइभ ईभीको नयाँ भेरियण्टमा मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै हुने कम्पनीको दाबी छ। प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्जसहित आयोनिक फाइभ गाडी नेपालमा लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय सवारीसाधन हो ।