Close

Recent Posts

पुर्व प्रदेशमन्त्री मनाङे पक्राउ, आजै जेल चलान गरिदैँ

पुर्व प्रदेशमन्त्री मनाङे पक्राउ, आजै जेल चलान गरिदैँ
  • २७ कार्तिक २०८१, मंगलवार १२:४२

काठमाडौं–सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्‍याइएको छ ।

उनी केहीबेरअघि काठमाडौंबाट पक्राउ परेका थिए । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ । उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।

२०७४ को निर्वाचनमा उनी मनाङबाट प्रदेशसभामा निर्वाचित भए। उनलाई पहिलोपटक सांसदमा निर्वाचित हुँदा नेकपा एमालेले साथ दिएको थियो। एमालेको साथपाएपछि नेपाली कांग्रेसका कर्म गुरुङलाई पराजित गर्दै पहिलोपटक सांसदमा निर्वाचित भएका थिए ।

सांसद निर्वाचित भएपछि पनि शपथ लिनै उपस्थित नभएका मनाङेलाई प्रहरीले ५ महिनापछि पक्राउ गर्‍यो । उनी डिल्लीबजार कारागार चलान भए ।

निवेदन दर्ता मात्रै भएन १० वर्षभन्दा कम सजाय तोकिएको अवस्थामा थुनाबाहिरै रहेर मुद्दा लड्न पाउने सुविधा पनि सर्वोच्चले दियो। जेलबाट छुटेको ५ दिनपछि पुस ११ गते उनले शपथ लिन पाऊँ भन्दै प्रदेश संसद्‌मा निवेदन दिए। निवेदन दिएको झण्डै एक महिनापछि उनले माघ १४ गते प्रदेश सभामा शपथ लिएका थिए।

सांसद निर्वाचित भएको लामो समयसम्म शपथ नै लिन नपाएका उनी त्यसपछिका तीन वर्ष भने मन्त्री बन्न सकेनन्। तर २०७८ वैशाख १६ गते गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलोपटक मन्त्रीको जिम्मेवारी दिएका थिए । उनी युवा तथा खेलकुद मन्त्री बने ।

तर उनलाई मन्त्री बनाएका मुख्यमन्त्री गुरुङले भने विश्वासको मत पाउन सकेनन्। नेकपा फुटेपछि गण्डकी सरकार पनि अल्पमतमा पर्‍यो । विश्वासको मत नपाए पनि संसद्‌को ठूलो दलको हैसियतमा पुनः पृथ्वीसुब्बा नै मुख्यमन्त्रीमा दोहोरिए। २०७९ वैशाख २९ गते मुख्यमन्त्री बनेपछि मन्त्रीमा उनले मनाङेलाई पनि दोहोर्‍याए ।