बैशाखीले रोकेन मेयरलाईः १० बिगाहा अतिक्रमित जग्गा फिर्ता

बैशाखीले रोकेन मेयरलाईः १० बिगाहा अतिक्रमित जग्गा फिर्ता
  • ६ मंसिर २०८१, बिहीबार २३:२६

मेचीनगर, झापा । मेचिनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी योजना अनुगमनका क्रममा घाइते भएकाले डेढ महिना देखि बैशाखीको सहारामा काम गर्दैछन् । आज उनै घाइते मेयर कम्पनीले हडपेको १० विगाहा भन्दा बढी सरकारी जग्गा खाली गराउन पुगे स्थानीय र कर्मचारीको सहयोग लिएर ।

नकलबन्दा टि स्टेटले बर्षौ देखि सरकारी स्वामित्वमा रहेको १० बिगाहा ५ कट्ठा ७ धुर जग्गा हडपिरहेकोमा आज उक्त जग्गा नगरपालिकाको बोर्ड राखि खालि गराउन शुरुवात गरेको हो । त्यहिक्रममा मेयर बुढाथोकीले अदालत र नगरपालिकाको निर्णय सुनाउँदै घोषणा गरे ‘मेचीनगर नगरपालिकाले सरकारी जग्गा संरक्षण कार्यको थालनी गरेको छ ।’

सरकारी स्वामित्वमा रहेको जग्गा बर्षौ देखि टि स्टेटले ओगटीरहेकोमा नगरपालिकाले पटक पटक उक्त जग्गा खाली गराउन पत्राचार समेत गरेको थियो । तर पत्रको अवज्ञा गर्दै अटेर गरि टि स्टेटले भोगचलन गरिरहेकोले उक्त जग्गा खाली गराउनु परेको मेचिनगरका मेयर गोपालचन्द्र बुढाथोकीले जनाएका छन् ।

मेचिनगर ५ स्थित उक्त जग्गा २०४८ असोज २५ गते कानुन विपरित छुट जग्गा दर्ताको निर्णय पर्चाबाट दिनेशप्रसाद कानुको नाममा गएको थियो । सोही जग्गा २०५५ असोज ११ मा नकलबन्दा टि स्टेटको नाममा नामसारी भई उसैले भोगचलन गरिरहेको थियो ।

नेपाल सरकार स्थानीय प्रशासन ऐन २०२८ को दफा १० मा उल्लेखित सार्वजनिक जग्गा, पार्टी, पौवा, सत्तल, पार्क, पोखरी, कुवा, गौचर आदिको लगत राख्ने, कसैले त्यस्तो सरकारी वा सार्वजनिक जग्गा सम्पत्ति दर्ता गराएको भए बदर हुने र त्यसमा हदम्याद समेत नलाग्ने व्यवस्था गरेको छ ।

यहि आधारमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरेको निर्णय कानुन विपरित भएको निवेदन परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६६ मंसिर २२ मा उक्त जग्गा सरकारी नै ठहर्ने निर्णय गरेको थियो । सोहि निर्णयलाई टेकेर मातपोत कार्यालय भद्रपुरले २०६६ पौष ६ गते उक्त जग्गामा व्यक्तिको हक हिस्सा हटाउँदै सरकारी कायम गरेको थियो ।

यसरी सरकारी कायम जग्गा अटेर गरि भोगचलन गरिरहेको र स्थानीय सरकार सन्चालन ऐनको परिच्छेद १३ मा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, संरक्षण, मर्मत सम्भार तथा अन्य प्रवन्ध गर्नुपर्ने स्पष्ट व्यवस्था गरेकोले आज देखि नगरपालिकाले यसको संरक्षण गर्ने निर्णय गरेको मेयर बुढाथोकीले जनाउनु भएको छ ।

सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने जिम्मा व्यक्तिको पनि हो भन्दै मेयर भन्नुहुन्छ ‘मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ८ मा उल्लेखित राष्टिय तथा सार्वजनिक सम्पदा विरुद्धका कसुरमा सरकारी वा सार्वजनिक सम्पत्तिको अतिक्रमण, आवाद गर्न नपाइने र त्यसो गरेमा व्यक्तिलाई कारवाही हुने स्पष्ट व्यवस्था समेत गरेको छ । त्यति हुँदा पनि कम्पनीले अटेर गरेकाले हामीले जग्गा खाली गराएका हौं ।’


मेचिनगरमा यस्ताखाले धेरै सरकारी, सार्वजनिक जग्गाहरु विभिन्न फर्म, कम्पनी र व्यक्तिहरुले समेत भोगचलन गर्दै आइरहेकाले सबै खाली गराउन लाग्ने समेत मेयर बुढाथोकीले बताएका छन ।