कोशीका पूर्वमन्त्री लीलावल्लभमाथि मुद्दा नचल्ने निर्णय सर्वोच्चबाट सदर
काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयलाई सदर गरेको छ ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट निवेदन अस्वीकार गर्ने रजिस्टारको निर्णयलाई निरन्तरता दिएको हो ।
सरकारी वकिलको कार्यालयले मानव तस्करी आरोपमा पूर्वमन्त्री अधिकारीमाथि मुद्दा चलाउन नपर्ने ठहर गरेपछि त्यसविरुद्ध अधिवक्ता त्रिपाठी सर्वोच्च गएका थिए, तर उनको रिट निवेदन सर्वोच्चका रजिस्टार भद्रकाली पोखरेलले दरपीठ गरिदिइन् । उक्त दरपीठविरुद्ध त्रिपाठीले दिएको निवेदनमा आज सुनुवाइ भएको हो ।
न्यायाधीश चुडालले जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयलाई सदर गरिदिएका छन् । यसपश्चात अब अधिकारीमाथि मुद्दा चल्ने बाटो बन्द भएको छ ।
मानव तस्करीमा संलग्न एक समूहले तत्कालीन मन्त्री अधिकारीलाई जापान पु¥याएको थियो, तर उनलाई जापानको अध्यागमनले फर्काइदिएपछि प्रहरीले उक्त समूहका व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
मन्त्री अधिकारी पनि पक्राउ परे, तर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई छाडियो । सरकारी वकिलले अधिकारीलाई छाडेर अन्य ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।