वीरगन्जबाट काठमाडौँ हुँदै पोखरा पठाइयो रविलाई
काठमाडौं– पर्साको वीरगन्जस्थित सानो पाइला सहकारी ठगी प्रकरणमा बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पठाइएको छ।

पर्सा जिल्ला प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौँ हुँदै विमानमा पोखरा पठाइएको हो। यसअघि उनलाई बाराको सिमराबाट काठमाडौँ ल्याइएको थियो। अहिले उनलाई पोखरा पठाइएको हो।
पर्सा प्रहरीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलाको रोहवरमा लामिछानेसँग बयान लिएको थियो। वीरगन्जको सानो पाइला सहकारी ठगी अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट विमानमा काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो।
लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।
![]() |
![]() |
![]() |
|---|
यसै प्रकरणमा अनुसन्धानमा रहेका पूर्वडीआईजीसमेत रहेका छविलाल बन्जाडे जोशीलाई मंगलबार नै पोखरा फर्काइएको छ। उनको बयान सोमबार लिइएको थियो। रविका व्यावसायिक साझेदारसमेत रहेका बन्जाडेलाई आइतबार बेलुका पोखराबाट स्थलमार्ग हुँदै वीरगन्ज लगिएको थियो।
आइतबार जिल्ला अदालत, कास्कीले ४ दिन म्याद थप गरेकाले यस अवधिमा उनीहरूको बयान सक्ने पर्सा प्रहरीको तयारी छ। त्यसपछि उनीहरूलाई बिहीबार पुनः अदालतमा उपस्थित गराउनुपर्नेछ। लामिछाने कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालय, काठमाडौँबाट पक्राउ परेका हुन्। उनलाई त्यसै दिन कास्की लगिएको थियो।
यसबीचमा उनलाई बुटवल, काठमाडौँ र चितवनका सरकारी वकिलसमक्ष उपस्थित गराएर पनि प्रहरीले बयान लिइसकेको छ।
Image Source: © https://mulpatra.com



