Close

Recent Posts

दरवारमार्गमा कांग्रेसी युवाको गुण्डागर्दी, नेताहरु पक्राउ

दरवारमार्गमा कांग्रेसी युवाको गुण्डागर्दी, नेताहरु पक्राउ
  • ७ पुष २०८१, आईतवार १३:१८

काठमाडौं – दरबारमार्गमा भएको एक कुटपिटको घटनामा सत्तारुढ नेपाली कांग्रेससम्बद्ध युवाहरू पक्राउ परेका छन् । जय नेपाल रोडमा सञ्चालित लिक्विड लाउञ्ज बारमा ‘गुड फ्राइडे’ मनाएर घर फर्किन लागेका बैतडीका रमेश भट्टमाथि कुटपिट हुँदा नेपाल तरुण दलका केन्द्रीय सदस्य कूलध्वज लामा, काभ्रेका जिल्ला अध्यक्ष सुजन लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

mulpatra

घटनाका प्रत्यक्षदर्शी नवीन वाइबाका अनुसार शुक्रवार राति नै बारमा पुगेका भट्टले आफू गृहमन्त्री रमेश लेखकको भाञ्जा भनी परिचय दिएका थिए । बिहान करिब पौने ३ बजे काभ्रे तरुण दलका नेताहरू त्यहाँ पुगे । पुग्ने बित्तिकै उक्त बारका सञ्चालक सञ्जीव लामा (स्याल) ले भट्टको परिचय दिए । नाम सुन्नासाथ सुजनले ‘हावा कुरा गर्ने ? फुर्ती लगाएको हो ?’ भन्दै उनी गृहमन्त्रीको भाञ्जा भएको कुरा अस्वीकार गर्दै थिए । पिसाब फेर्नका लागि भट्ट शौचालय गए । निस्किनेबित्तिकै सुजन, कूलध्वजसहितको समूहले भट्टमाथि हातपात गरेको थियो ।

‘धारिलो हतियार प्रयोग भएको छ, घाइतेको खप्पर फुटेको थियो’, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । घाइते भट्ट खतरामुक्त छन् । उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको उनले बताए ।

mulpatra mulpatra mulpatra

घटनाको खबर पाउनासाथ प्रहरी वृत्त, दरबारमार्गको टोली त्यहाँ पुगेको थियो । ‘हामीले कुटपिटमा संलग्न मानिस पहिचान गरी नियन्त्रणमा लियौँ, त्यसपछि जिल्ला प्रहरी परिसरलाई बुझाइदियौँ’, दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठले भने । अहिले पक्राउ परेका ६ जनाका विरुद्ध परिसरले मुद्दा चलाएको छ ।

प्रहरीका अनुसार घाइते भट्ट पेशाले आइटी इञ्जिनियर हुन् । एक निजी कम्पनीमा काम गर्ने उनी काठमाडौं, कलंकीमा गृहमन्त्री रमेश लेखकको घर नजिकै बस्छन् । उनी गाउँले नाताले मात्रै मन्त्रीका भाञ्जा पर्ने हुन् ।

उनीमाथि आक्रमणमा संलग्न तरुण दलका केन्द्रीय सदस्य कूलध्वज लामा, जिल्ला अध्यक्ष सुजन लामा गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका तीर्थ लामा र दावा लामाहरूसँग निकट रहेको प्रहरीले जनाएको छ । तीर्थ नेपाली कांग्रेसका तर्फबाट दोस्रो संविधानसभा सदस्य र अहिले प्रदेशसभा सदस्य छन् ।

Image Source: © https://mulpatra.com

दावा ०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकै तर्फबाट भुम्लु गाउँमा पालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए । त्यसअघि उनी तरुण दलका जिल्ला अध्यक्ष थिए ।

गाउँपालिका उपाध्यक्ष भएपछि उनैले सुजनलाई संगठनको पद हस्तान्तरण गरेका हुन् । सोही घटनामा पक्राउ परेका तिमाल– ७ का २९ वर्षीय मिलन लामा धोविचौरस्थित पब्लिक युथ क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियु उपसभापति निर्वाचित भएका व्यक्ति हुन् । तर, घटना उनीहरूको प्रत्यक्ष निर्देशनमा नभएको प्रहरीले जनाएको छ । ‘उहाँहरूसँग निकटता देखिन्छ’, स्रोतले बतायो ।

कूलध्वज तीर्थकै गाउँपालिका रोशी, महादेवटारका बासिन्दा हुन् । काठमाडौंको बौद्धस्थित सुन्दरटोलमा बस्ने उनी बर्गर हाउसका सञ्चालक पनि हुन् । २०६९ सालमा दरबारमार्गमा सञ्चालित प्लाटिनम क्लबमा एक कर्णेलका छोरामाथि सांघातिक आक्रमण गरेपछि उनीविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

०७२ सालमा डाँका चोरी मुद्दामा ११ महिना धुलिखेलस्थित जिल्ला कारागारमा सजायँ भुक्तान गरेका थिए । तरुण दलका जिल्ला अध्यक्ष सुजन भुम्लु ४ का बासिन्दा हुन् । उनीविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता छ । राजन श्रेष्ठको जाहेरीले दर्ता भएको उक्त मुद्दामा उनी फरार थिए ।

शनिबारको घटनामा पक्राउ परेका काभ्रे, भुम्लु–५ का सुलभ पहारी तरुण दलको गाउँपालिका अध्यक्ष हुन् । तेमाल–५ का २९ वर्षीय युवराज लामा तरुण दलका जिल्ला सदस्य हुन् । सोही घटनामा संलग्न मोरङ, उर्लाबारी– ७, स्कुलडाँडाका३७ वर्षीय डम्बरबहादुर कार्की, सिन्धुपाल्चोकको जुगल– १०, सेलाङका २७ वर्षीय दावा तामाङ, काभ्रेको तेमाल–५ नारायणाथनका २१ वर्षीय शक्ति लामा पनि संलग्न रहेका कारण पक्राउ परेका छन् ।

उनीहरू विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा अगाडि बढाइएको काठमाडौंका प्रहरी प्रवक्ता अधिकारीले बताए ।