प्रसाईले भनेको प्रमाणित: अग्रवाल परिवारसँगै कर्णाली डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर, डुब्ने खतरा
काठमाडौं–नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार बिहीबारदेखि रोक्का गरिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी अग्रवाल परिवारमा रहेको पाइएको छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतका अनुसार अग्रवाल परिवारसँग ५ लाख १७ हजारभन्दा बढी कित्ता शेयर रहेको छ ।
मङ्गलवारसम्म यस बैंकको शेयर कारोबार भएको थियो । बुधवार शेयर बजार बन्द रहेकाले कारोबार भएन । मङ्गलवार बैंकको शेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँ थियो । अब यस बैंकको शेयर कारोबार पुनः हुन समय लाग्ने देखिन्छ । लामो समयसम्म यस बैंकको शेयर बन्धक हुने देखिन्छ ।
![]() |
![]() |
![]() |
|---|
नेप्सेका सूचना अधिकारी मुरहरी पराजुलीले अर्को व्यवस्था नभएसम्मका लागि कर्णाली डेभलपमेन्ट बैंकको संस्थापक लगायत सबै शेयर कारोबार रोक्का गरिएको जानकारी दिए । उनले भने, ‘आजदेखि हामीले यस बैंकको शेयर कारोबार रोक्का गरेका छौँ । अब अर्को व्यवस्था नभएसम्म यस बैंकको शेयर कारोबार हुँदैन ।’
कोसँग कति शेयर ?
स्मरण रहोस्, शेयर बजारमा अग्रवाल परिवारको चर्चित नाम हो, दीपेन्द्र अग्रवाल । नेपाली शेयर बजारमा दीपेन्द्र अग्रवाल परिचित छन् । उनकै एकाघरको परिवारले कर्णाली डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी खरिद गरेको पाइएको छ । तर, आफूसँग भने यस बैंकको शेयर ५० कित्ता मात्रै रहेको अग्रवालले दाबी गरे ।
Image Source: © https://mulpatra.com
‘मसँग कर्णाली डेभलपमेन्ट बैंकको शेयर धेरै छैन । जम्मा ५० कित्ता मात्रै छ’, उनले नेपाल प्रेससँग भने, ‘मेरा एकाघरका परिवारले खरिद गरेको हुनसक्छ ।’
यसबाहेक कलश स्टक मार्केट प्रालीको नाममा ९२ हजार २१० कित्ता शेयर रहेको छ भने महेशलाल बतासको नाममा ५६ हजार १७६ कित्ता शेयर रहेको छ ।
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै आजैदेखि लागू हुनेगरी व्यवस्थापन नियन्त्रणमा लिएको हो । नेपाल राष्ट्र बैंकले बाँके केन्द्रीय कार्यालय रहेको यस बैंकलाई समस्याग्रस्त घोषणा गर्दै नियन्त्रणमा लिएको छ ।
राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारण सभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।
‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ बमोजिम मिति २०८१ मङ्सिर ११ देखि लागु हुनेगरी शीघ्र सुधारात्मक कारबाही गरिएको थियो ।
राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएको हुँदा उक्त संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरेको हो ।
उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप– निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहलाई सदस्य तोकिएको छ । समूहले भोलिदेखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रसाईको भनाइ सावित
यस विषयमा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले दुई वर्षदेखि केही व्यक्तिसँग बैंकको पैसा भएको बताउँदै आएका थिए । आज उनैले भनेजस्तै कर्णाली डेभलपमेन्ट बैंकको अवस्था भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको छ । यस बैंकमा सबैभन्दा बढी शेयर अग्रवाल परिवारकै भएको देखिन्छ । प्रसाईले उठाएको आवाज सत्य सावित भएको सर्वसाधारणले बताउन थालेका छन् ।
व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।यस्तो विषयमा दुई वर्षदेखि प्रसाईले बताउँदै आएका छन् ।



