Close

Recent Posts

भूकम्पले कोसी प्रदेशमा ५ घर भत्किए, चीनमा ५३ को मृत्यु

भूकम्पले कोसी प्रदेशमा ५ घर भत्किए, चीनमा ५३ को मृत्यु
  • २३ पुष २०८१, मंगलवार १२:३८

काठमाडौं– मंगलबार बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भुईँचालोका कारण ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन्।

mulpatra

भूकम्पका कारण चारवटा घरमा आंशिक क्षति र एउटा घर पूर्ण रूपमा भत्किएको प्रहरीले जानकारी दिएको छ। कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ओखलढुंगामा क्षतिग्रस्त दुई घरमध्ये चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण क्षति भएको छ।

ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख निवास, कार्यालय र मेस भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ।

mulpatra mulpatra mulpatra

ओखलढुंगाको सिद्धिचरण नगरपालिका २ चुहानछापका हिमाल कार्कीको घर, सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ७ लुरुवाका हर्कबहादुर खत्री र खुम्बु पासाङ ल्यामु गाउँपालिका ५ हेलाजुङका आङ ङिमा शेर्पाको घरमा सामान्य क्षति भएको प्रदेश पहरी कार्यालय विराटनगरले जनाएको छ।

सङ्खुवासभाको भोट खोला गाउँपालिका १ किमाथांकाका तेन्छेदी शेर्पाको घरमा पनि सामान्य क्षति भएको प्रहरीले जनाएको छ। क्षतिबारे बुझ्ने क्रम जारी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जानकारी दिए।

उता भूकम्पको केन्द्रबिन्दु तिब्बतमा भने अहिलेसम्म ५३ जनाको मृत्यु पुष्टि भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

Image Source: © https://mulpatra.com

यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।

उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनस्र्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिए ।

सीले भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैको सुरक्षित तथा न्यानो जाडो सुनिश्चित गर्न आवश्यक छ ।’

समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।