लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेश्रो महाधिवेशन शुरु
चितवन । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेश्रो महाधिवेशन शुरु भएको छ । नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको संगठनको महाधिवेशन नवलपुरको गैडाकोटमा शुरु भएको हो ।
बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले महाधिवेशनको उद्घाटन गर्दै नेपालका यातायात क्षेत्रमा रहेको समस्याहरुको समाधानका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।
पार्टी केन्द्रबाट एमाले उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटि सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकाल केन्द्रीय सदस्य तथा नेपाल उद्योग तथा व्यवसायी महासंघका इन्चार्ज रचना खड्का उपस्थित हुने भनिएपनि मौसमको प्रतिकुलताले चितवनको सबै हवाई उडान बन्द भएकाले गर्दा बाग्मती प्रदेशका मन्त्री प्रमुख अतिथि रहेका थिए ।
केन्द्रिय नेताको अनुपस्थितिमै उद्घाटन सत्र सकेको संगठनको महाधिवेशनको बन्दसत्रमा भने केन्द्रीय सदस्य तथा नेपाल उद्योग तथा व्यवसायी महासंघका इन्चार्ज रचना खड्का र नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भगीरथ सापकोटा उपस्थित भएका थिए ।
करिब १२ खर्ब रुपैया लगानी भएको र करिब १५ लाख जनतालाई रोजगारी दिइरहेको यातायात क्षेत्रलाई सम्मानित क्षेत्रका रुपमा स्थापित गर्न आवश्यक रहेको भन्दै संगठनका वर्तमान अध्यक्ष श्रीप्रसाद मैनालीले सार्वजनिक क्षेत्रको सुधारका लागि नीतिगत कार्ययोजना बनाएर अघि बढीरहेको जनाएका छन् ।
महाधिवेशनमा देशभरबाट ४४५ प्रतिनिधि सहभागी भएका छन । महाधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेसँगै भोली विहिबार महाधिवेशन सकिने वर्तमान महासचिव डेकनाथ गौतमले जानकारी दिएका छन् ।
महासचिव डेकनाथ गौतमले पेश गरेको सांगठानीक प्रतिवेदन र कोषाध्यक्ष शान्तप्रसाद तिमिल्सीनाले पेश गरेको आर्थिक प्र्रतिवेदनमा प्रतिनिधिहरुले आफ्ना सुझावहरु राख्दै सर्वसम्मतीले पारित गरेका छन् ।
महाधिवेशनमा नेपालका यातायात व्यवसयायी संघ, संगठन र यातायात मजदुरसम्वद्ध संघ संगठन तथा यातायात सम्वद्ध महासंघको सहभागिता छ । अधिवेशनमा अग्रज यातायात व्यवसायीहरु चितवनका कृष्ण अधिकारी, धरानका सरोज श्रेष्ठ र कृष्णप्रासद सुवेदी र चितवनका रामप्रसाद सुवेदीलाई सम्मान गरिएको छ ।
यातायात व्यवसायीहरुको पीर मर्का र हकहीतको रक्षाको लागि महासंघ विच एकता आवश्यक रहेको बताउँदै अध्यक्ष श्रीप्रसाद मैनाली भन्नुहुन्छ ‘समाजमा साना भन्दा साना समस्यामा गाडी छेक्ने बानी विकास भएकोले छ । राज्यले समेत उपयुक्त वातावरण तयार गर्न सकेको छैन । व्यवसायीहरुको लेबीबाट जोडेको सम्पत्ति समेत राज्यले फुकुवा नगरीरहेकोले व्यवसाय मर्कामा परिरहेका छन् । राज्यले तत्काल यसको सम्बोधन गर्नुपर्छ ।’
बन्दसन्त्रको अतिथिका रुपमा रहेकी एमाले केन्द्रिय सदस्य तथा नेपाल उद्योग तथा व्यवसायी महासंघका इन्चार्ज रचना खड्काले राज्यलाई व्यवसायीको हकहितको रक्षाको लागि झकझकाइ रहने प्रतिवद्धता व्यक्त गरेकी छिन् । व्यवसायीहरुको रोक्का रहिरहेको सम्पत्ति फुकुवा गर्न एमाले नेतृत्वको सरकार समेत लागिपरेको र केही दिनभित्र सम्पत्ति फुकुवा हुने आश्वासन समेत दिएकी छिन् ।
नेतृत्व चयनका लागि भोली बिहीबार तोकिएपनि सर्वसम्मतीले निर्वाचन प्रक्रिया सुरु गर्ने अध्यक्ष मण्डलले जनाएको छ । नयाँ नेतृत्व चयन गरेर भोली नै महाधिवशेन सकिने समेत अध्यक्ष मण्डलले जनाएको छ ।