मेचिनगर स्थिति टिमाई खोलामा नमुना आर्क ब्रिज बन्ने

मेचिनगर स्थिति टिमाई खोलामा नमुना आर्क ब्रिज बन्ने
  • ११ माघ २०८१, शुक्रबार २०:३५

झापा । झापाको मेचिनगर नगरपालिका स्थिति टिमाई खोलामा आर्क ब्रिज बन्ने भएको छ । एसियाली डेभलपमेन्ट बैंक (एडीबी) को ८४ दशमलव १० प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव ९० प्रतिशत लगानीमा बनिरहेको काकरभिट्टा लौकही सडक खण्ड अन्र्तगत रहेको टिमाई पुलमा सिग्नेचर पुलका रुपमा आर्क ब्रिज बन्ने भएको हो ।


सिग्नेचर पुलसँगै एसियन हाइवे अन्र्तगत मेचीनगरपालिका क्षेत्र भित्र चारआली बजारमा ओभरपास र चारआली जंगल क्षेत्र भित्र हात्ति लगायत जनावरको आवत जावतका लागि क्रसिङ वे भन्ने भएको छ ।


चार लेनको रहने हाइवेको मेचिनगर क्षेत्रभित्र टिमाई सहित आठ वटा पुल, दुई वटा बक्स ब्रिज र सतचालिसवटा बक्स कल्भर्ट रहने आयोजना कार्यालयले जनाएको छ ।


सडकको सुरक्षाको लागि मेचिनगर नगरपालिका क्षेत्र भित्र दुई दशमलव पाँच एक कि.मि रिटर्नीङ वाल, तीन दशमलव आठ दुई कि.मि. साइड ड्रेन र छ दशमलव चार दुई कि.मि.फुटपाथ समेत बन्ने भएको छ ।

२०८१ जेठ ९ गते शिलान्यास भएको आयोजनाको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको बताइएको छ। आयोजना प्रमुख जगत प्रजापतिका अनुसार १९ अक्टोबर २०२३ ९२०८० साल कात्तिक २० मा भएको सम्झौता अनुसार २०८६ साल माघमा सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको हो।


३४ अर्ब ९१ करोड लागतमा सम्पन्न हुने आयोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएको बाकी ६ वर्षसम्म मर्मत सम्भारको जिम्मा स्वयम् कम्पनीले लिनेगरी सम्झौता भएको छ।