दृष्य

दृष्य जतासुकै छरपस्ट छन् । जे उठाएर आँखामा हाले पनि हुन्छ । त्यो दुःख नगरे पनि चारैतिरबाट सोहोरिएर दृष्यहरु स्वाट्ट–स्वाट्ट आँखामा पसिरहन्छन् । कुनै दृष्यहरु बडा सितालु हुन्छन्–आँखै रमाउने, कुनै–कुनैचाहिँ भर्खर सिस्नाघारीबाट उछिट्टिएर आएजस्ता हुन्छन्– सर्वाङ्ग पोल्ने । कहिलेकाहीँ दृष्यहरु कानबाट पनि पस्छन्, छाला र जिब्रोबाट पनि र तिनीहरु एकैचोटी मर्मलाई चिमोट्न पुग्छन् । एकैचोटी मर्मलाई हल्लाउन पुग्ने ती दृष्यहरुको अघि गुप्तबाटोबाट काठमाडौं पसेका अँग्रेजका अघि घुँडा टेकेको सुगौली सन्धीझैं थेचारिन्छु म । मलाई दृष्यहरुले यति दुखाउने गर्दछन् कि कहिलेकाहीँ दुनियाँको माया पनि बिझाउन थाल्छ आँखाकै नानीमा ।
घरलाई सडकको छेउमा ल्याउने रहरले मलाई धोखा दिएछ । बार्दलीबाट सडकमा देखिने दृष्यहरुले मलाई साह्रै पिरोल्न थालेका छन् । छि कति केटाकेटी छ मन, केही खप्नै नसक्ने ? हिँड्छन् त हिँड्नेहरु सडक भनेको हिँड्नेहरुकै लागि त हो नि । राम्री दुलही लिएर आउने जन्ती हुन् या लक्का जवानको अर्थी बोकेर घाट हिँड्ने मलामी हुन् । पागल होस् कि भिखारी होओस् । मातेर गाउँ नै थर्काउने खसीकट्टा कार्की होस् कि उमेर पुगेकी वस्त्रहीन छोरी भगी होस्, दृष्यहरु नै त हुन्–मलाई सबैले पीर नै पारेर जान्छन् । कहिलेकाहीँ लाग्छ– यी सबैले सल्लाह नै गरेर कहीँ मैले सडक छेउ बनाएको घरप्रति रोष प्रकट गरेका त होइनन् ?
एकाविहानै चम्लागाईं मामालाई गाडीमा सुताएर आँत्तिदै लगे । बिष खाएछन् उनले । च्वास्स मनमा घोच्यो, आँखामा गहिरो गरी बिझायो । सोचें– मरून् यी बूढा पनि, साठी नाघिसकेपछि किन हतार गर्नुपथ्र्यो ? काल उनकै नजिकै त थियो नि !
दृष्यका अनगिन्ती रुपहरु थाक लागेर संस्मरण नै एकदम साँघुरो हुनपुगेको छ अब त । बितेका केही संस्मरण सम्झन खोज्छु तर एकैचोटी कैयौं कुराहरु आँखामा आइदिन्छन् सिलसिला भत्काउँदै । आकाशमा आँखाको ज्योति टिप्ने घामको टाटो चम्किरहेछ र त्यसका उज्यालामा कैयौं अध्यारा कुरा भइरहेका छन् । भित्री तार चुँडिएका आँखाहरु नाकका दुवैपट्टि खोपिल्टामा परेलाको सहायताले पिर्लिक–पिर्लिक पल्टिरहेछन्, उनीहरु केही देख्दैनन् । कहिलेकाँही झुक्किएर आफ्नै छायाँलाई देखे भने तर्सन्छन् र हेर्छन् वरिपरि शंकालु गाला र निधारहरुले । किनकि आँखा त उनीहरुका टोड्कामात्र छन्, तिनले देख्दैनन् ।
मेरा आँखामा कहिलेकाँही धेरै ठूला–ठूला मान्छे पनि आऊँछन् । तर, उनीहरु सानातिना कुरा जान्दैनन् । राष्ट्रवादी वा विश्ववादी भइसकेका उनीहरुलाई एउटा मान्छेको वा एउटा स्याल, कुकुर वा गिद्धको कुरा अत्यन्त निम्न हो । त्यो कुरालाई दृश्य मान्न पनि सक्तैनन् । तर, मेरा यी आँखाचाहिँ कसरी सङ्कुचित भएका छन् भने सबभन्दा काम नलाग्ने कुराले सबभन्दा धेरैबेर खुल्लम् खुल्लाभित्र पस्न पाउँछ । अनि भित्र पसेर मर्मलाई गिजोल्न थाल्छ र त्यसबेला मात्र दुनियाँको समस्याबारे अलिकति अनुभव हुन्छ ।
त्यसै कारणले मैले सडकतिर हेर्नै छाडिदिएँ । बरु बार्दलीतिर ननिस्केर घरको उत्तर फर्किएको झ्यालबाट उँभैमात्र हेर्नथालें । यसो गर्दा मनमा सम्झना झ्यास्स आयो । पाण्डवहरु पनि जानुपर्दा उत्तरतिरै गएका थिए, जानुपर्ने होस् वा हेर्नुपर्ने मान्छेले वास्तवमा उत्तरोन्मुख भएकै राम्रो हो । तर, यसरी उत्तरतिर हेर्दाहेर्दै मेरो आँखामा एउटा सुकेको रुख र त्यसको टुप्पोमा बसिरहेको एउटा गिद्धको दृष्य आएर पस्यो । अनि खुत्रुक–खुत्रुक ओर्लिहाल्यो त्यो हृदयतिर । अहो ! कस्तो पीडा ?
घरदेखि अलिक पर एउटा ठूलो सुकेको रुख छ, केही वर्ष अघिसम्म त्यो रुख झ्याम्म परेको रहरलाग्दो र शितल थियो । केटाकेटी छँदा साथीहरुसँग कैयौंपल्ट मैले त्यस रुखको फेदमा बनभोज खाएको छु । रमाई–रमाई त्यसको फेदमा दिन बिताएको छु । अझै पनि गर्मीमा कहिलेकाँही राम्रो किताब वा कलमखाता बोकेर त्यो रुखको फेदमा गई घण्टौं बिताउन आनन्द आऊँथ्यो । यो आनन्द कहाँँबाट कतिबेला आएर जान्छ मैले आजसम्म पत्तो पाएको छैन । सायद अज्ञानता नै कुनै आनन्द हुँदो हो ।
ज्ञानमा कुनै आनन्द मैले भोगेको छैन । किनकि ज्ञान भनेको बौद्विकताको उपज हो र बौद्विकता कैयौं तर्कको निस्कर्षमा पुगेपछि मात्र ज्ञान हुन्छ । कि त कुनै दृष्यले बिस्तारै काउकुती लगाएको मनको परिस्थिति– आनन्द हुनुपर्छ वा हृदयभित्र एकाएक उठेका उत्तेजनाको क्षणिक झन्कार हुनुपर्छ त्यो आनन्द । खै के होला आनन्द ? मैले बुझेको छैन । केवल एकक्षण त्यसलाई भोग्नुको अत्यन्त अल्पअनुभूतिमात्र छ मसँग र अहिले त त्यसको बदला एउटा गह्रुङ्गो ढुुङ्गाको एकोहोरो थिचाइ भोगिरहेछु मनमा । किनभने जुन रुखको सितल छहारीमुनि बसेर मैले कैयौं गीत र कविताहरु लेखेको छु–आज त्यो रुख सुकेको छ । कहावतले भन्छ, सालको रुखको आयु हजार वर्ष हुन्छ । तर, त्यसले हजार वर्षको आयु बिताउन पाएन । तीन वर्षअघि त्यसको फेदको वरिपरिका बोक्रा कसैले ताछिदिएका थिए । दुई वर्षअघि त्यसका फेदमा कसैले आगो जोरेर छोडिदिएका थिए । ती दृष्यहरुले मलाई त्यसबेला गहिरो गरी घोचेका थिए । मैले त्यसको संरक्षण गर्न सकिनँ । किनभने त्यो कसैको धनीपूर्जाको अधिकार क्षेत्रभित्र थियो ।
धेरै दिनदेखि त्यस रुखलाई मैले हेर्न भ्याएको रहेनछु । रुख अलिक टाढै पथ्र्याे र नजिककै दृष्यहरुले नै मलाई खिचिसकेका थिए । अनि एकाएक देखें रुखका सबै हाँगाहरुमा सयौं गिद्धहरु बसेका थिए । छिमेकीको एउटा भैंसी पाडी पाएको भोलिपल्टै भँडाल्नो निस्किएर मरेको थियो र त्यसलाई त्यही रुखको आसपासमा गाडिएको थियो । गाउँभरिका भुस्याहा कुकुरहरु उतै बसाइँ सरेका थिए र दूर देशदेखि ती गिद्धहरु पनि आएर कयौं दिनदेखिको भोक मेटिरहेका थिए । रुख झ्याम्म हुदाँ सयौं चराहरुले गुँड बनाएका थिए । त्यो नाङ्गिएपछि सुरक्षाको अभावमा चरा अन्तै गए र गिद्धहरु पाहुना लागे । सुकेको रुख र गिद्ध साह्रै नराम्रो दृष्य देखिँदोरहेछ ।
विस्तारै गाउँमा चर्चा चल्नथाल्यो–घरका छेउछाऊमा गिद्ध आएर बस्यो भने निश्चय पनि केही अशुभ हुन्छ । सबै गिद्धहरु गइसकेपछि पनि त्यो रुखको टुप्पामा एउटा गिद्ध बसिरहेकै थियो । त्यो गिद्धले पक्कै केही रुँगेरै बसेको छ । यो अशुभको चिन्ताले गाउँभरि नै एउटा अज्ञात त्रास फैलाउँदै गयो । कोही अलिकति विरामी हुनासाथै सबैका आँखा रुखका टुप्पातिर जान्थे । मन–मनै गिद्धलाई सराप्थे । गिद्ध निमग्न ध्यानावस्थित वालक धु्रवजस्तो बसिरहेको थियो– एउटै हाँगामा कैयौं दिनदेखि ।
कसैकसैले त्यो गिद्धलाई त्यहाँबाट खेद्नुपर्ने प्रस्ताव पनि राखे । फेदमा गएर ढुङ्गा पनि हानिहेरे । तर, रुख धेरै अग्लो थियो । टुप्पासम्म ढुङ्गो कसैले पु¥याउन सकेन । त्यसलाई बन्दुक हानेर खसाउनेबारे पनि कसै–कसैको सुझबुझ भयो । तर, बन्दुकको अभावले त्यो काम पनि त्यत्तिकै रोकियो ।
मलाई भने ती कुनै जनचर्चाले छोएनन् । बरु सुकेको रुख र बूढो गिद्धको दृष्यले अत्यन्तै विरक्त चलेर आयो । कुनै–कुनै दृष्यहरुले मनलाई साह्रै पिरोल्ने गरी छोइदिन्छन् । छुनुपर्दाे पनि रहेछ । छोइरहन्छ पनि प्रायशः । यही छुवाईले मनको परिस्थिति जन्माउँछ । अनौठो भावुकताले मलाई गाँज्दै ल्यायो । जीवनको सयकडौं अड्कलबाजीमध्येको एउटा यथार्थ परिस्थिति त्यो गिद्ध हुनुमा पनि थियो । वस्तुगत रुपमा सुकेको रुख र बूढो गिद्ध केही पनि होइनन् । तिनीहरु जब जीवनको प्रतीक बन्छन् अनिमात्र बोध हुन्छ– वास्तवमा त्यो दृष्य कति पीडादायी छ ? यदि त्यो गिद्ध आफ्ना पखेटाले शरीरलाई इच्छित ठाउँमा पु¥याउन सक्दो हो त महिनौं एउटा रुखको हाँगोमा भोकै कक्रिएर कुनै गाउँको अलक्षण किन हुन्थ्यो !? उसको पनि आफ्नो एउटा समाज थियो, बथान थियो, गिद्धगत मित्रता थियो, जीवन बाँच्नुको प्राकृतिक लिप्सा थियो । कैयौं कुराहरु थिए ऊसँग । तर, समयको कहालीलाग्दो अन्तरालले अङ्गप्रत्यङ्गलाई शिथिल गराएपछि सुरक्षाको अभिलाषाले बाँधिएर एउटा रुखको सुकेको हाँगोमा टाँसिएर बसेको छ । बूढा नङ्ग्राहरुले सशक्तसँग हाँगो समातेर दुनियाँतिर शुष्क दृष्टि फ्याँकिरहेको छ ।
अब उसलाई उसको बथानले छाडेको छ । ऊ बथानलाई पछ्याएर जान सक्तैन । यात्रामा पाण्डवहरुबाट छोडिएकी द्रौपदीजस्तो ऊ मृत्युको लागि छोडियो । मलाई गिद्धको परिस्थितिले अत्यन्तै नराम्रो गरी छोयो । वास्तवमा जीवन कति एक्लो र निरर्थक छ हो कि ? जीवन एउटा हुल, जत्था, समाज र परिवारभित्र रहेरै रहरमा भोग गर्दै आए तापनि वृद्धता कति निरसिलो छ ! कति असहाय !
गिद्धलाई उसका बथानहरुले छोडेजस्तै, सुकेको रुखलाई मैले त्यागेजस्तै के प्रत्येक छोराछोरीहरुले बूढो बाबु वा आमालाई छोड्दैनन् र ? यो कुरो मैले चौरासी वर्षीय हजुरबालाई भनें– उहाँले एकपल्ट पुलुक्क रुखको टुप्पोतिर हेर्नुभो र मौन–लामो मौनता, उहाँले त्यसबारेमा एक शब्द पनि बोल्नुभएन । तर, मैले उहाँको छातीभित्र दन्केको वेदनाको रापलाई उहाँका रसिला आँखाहरुबाट महसुस गरें ।
अन्त्य जुनसुकै कुराको पनि पीडादायी हुन्छ । झन् जीवनको अन्त्य त त्यसको चरमोत्कर्ष हो । त्यो रुख र गिद्ध जीवनको त्यो विन्दुमा छन्, जहाँदेखि उता माटो हुनुको प्रक्रिया मात्र शेष हुन्छ । तर, त्यो सुकेको रुखको टुप्पामा एउटा बूढो गिद्ध माटो हुनुभन्दा अघि अझै कैयौं वर्ष बाँचिरहोस्को कामना गर्छु म । मलाई जीवनको त्रिपक्षीय आयमिक चित्रण साह्र्रै लोभ लाग्छ । ऊ त्यसरी बाँचिरहनुले जीवनको वस्तुगत, विषयगत र दार्शनिकताको जीउँदो प्रतीक भइरहन्छ र देख्ने आँखाहरुले उसबाट जीवनको समग्र तस्वीर उतार्न सक्छन् ।
अचम्म के लाग्यो भने केही दिनअघि एउटा मरेको कुकुर फेरि त्यही रुखको फेदमा लगेर मिल्काइयो । तर, ऊ तल ओर्लिएन टुप्पामा बसि–बसि गन्ध लिइरह्यो । त्यसले महिनौंदेखि केही खाएको थिएन र पनि ऊ जीवित थियो । तल आएपछि फेरि रुखको टुप्पामा पुग्न सक्तिन भन्ने कुरा निश्चय पनि उसलाई थाहा थियो । अनि म सोच्छु– वास्तवमा प्राणीभित्र रहेको यो जीवन कति जब्बर छ ? कति दह्रो छ ? ऊ हार्न चाहँदैन– बाँच्नुको सबभन्दा अन्तिम तृष्णा पनि ऊ लिएरै मात्र छोड्छ ? साँच्चै कति ज्याद्रो छ जीवन ?
जुन गिद्ध सबैको लागि एउटा अशुभ थियो त्यही गिद्ध मेरो लागि जीवनप्रति गहिरो मोह जगाउने वस्तु भयो । गिद्धबाट सायद गाउँका कसैले कुनै पाठ सिकेनन् । मैले पनि कुनै पाठै त सिकिनँ केवल त्यसबाट जीवनका कैयौं पक्षहरुमध्येको एउटा पक्षबोधचाहिँ निश्चय पनि भयो ।
एक दिन विहान म झस्कें । किनभने गिद्ध रुखको टुप्पामा थिएन । म निद्राको आँखा लिएरै रुखको फेदतिर लागें । एकछिनपछि गाउँभरि हल्ला भयो–‘गिद्ध भाग्यो, गिद्ध भाग्यो ।’ सबै रुखको फेदतिर कुदे । सबैको अनुहारमा एक प्रकारको खुशी देखें, सायद अब उनीहरुसँग लक्षणै–लक्षणमात्र बाँकी थियो । रुखको फेदमा पनि गिद्ध थिएन । रुखको अलिक पर एउटा कुकुर कुहेर गन्हाइरहेको थियो । नाक छोप्दै म सिनो भएतिर गएँ । अहो, कति दुःखलाग्दो दृष्य, गिद्ध त कुकुरसँग मरिरहेको थियो । यो दृष्यले एउटा गहिरो वियोगले छोप्यो । छिः, भावुकताको पनि कुनै सिलसिला हुनु नि बरु ।
भोलिपल्ट केही मानिस आएर कुकुर र गिद्धलाई पुरपार पारे र रुखको फेदमा बञ्चरो हान्न थाले । साँझतिर ठूलो आर्तनाद गर्दै रुख ढल्यो । म सिद्धार्थभन्दा पच्चिस वर्षपछि कुनै निर्जन मैदानमा झरेको घाइते हाँसजस्तोभित्र–भित्रै व्यथाको मुक–रोदनमा पिल्सिरहें ।
मलाई यस्ता साना–साना दृष्यहरुले ठूला–ठूलाले भन्दा धेरै दुखाउँछन् । किनभने ठूला–ठूला दृष्यहरुलाई एकैचोटी धेरैले देख्न सक्छन् । तर, यस्ता दृश्यहरु आफूले मात्र देख्नु पर्ने र पिरोलिनु पर्ने हुनाले धेरै पीडापूर्ण हुन्छन् ।
यसरी मैले एउटा सुकेको रुख र बूढो गिद्धलाई आध्योपान्त हेरें । हुन त त्यो फगत दृष्य थियो जो नहेर्दा पनि हुन्थ्यो ।
(रूपरेखा–३०७, वि.सं. २०४३)