बैंकमा थुप्रियो ६७ खर्बभन्दा माथि, पैसा व्यवस्थापनमा राष्ट्र बैंक
काठमाडौं– बैंकहरुको निक्षेपको आकार ६७ खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार बैंकिङ प्रणालीको निक्षेप ६७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको हो । यस अवधिमा समग्र कर्जा प्रवाह ५४ खर्ब १३ अर्ब रहेको छ ।

निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या यथावत छ । जसको व्यवस्थापनको लागि केन्द्रीय बैंकले आज थप ३० अर्ब तरलता प्रशोचन गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको निक्षेप ५९ खर्ब ६९ अर्ब तथा अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब ३५ अर्ब पुगेको छ । तर, वित्तीय प्रणालीमा निक्षेपको तुलनामा कर्जा भने विस्तार हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले कुल ५९ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले ४७ खर्ब ९९ अर्ब तथा अन्य वित्तीय संस्थाले ६ खर्ब १४ अर्ब कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।
![]() |
![]() |
![]() |
|---|
बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.४५ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब २० अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।
यसैबीच राष्ट्र बैंकले माघ १५ गते मंगलबार (आज) बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि माघ १३ गते केन्द्रीय बैंकले ४० अर्ब तरलता खिचेको थियो । अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन राष्ट्र बैंकले नियमित रुपमा तरलता प्रशोचन गर्दै आएको छ ।
केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
Image Source: © https://mulpatra.com
निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ६ गते हुनेछ । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।
यसअघि गत माघ १३ गते पनि २१ दिने निक्षेप संकलनको माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब खिचेको थियो । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो । त्यसअघि गत माघ ९ गते पनि २१ दिने निक्षेप संकलनको माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब खिच्न चाहेकोमा बैंकहरुले ७७ अर्ब ६५ करोड मात्र बुझाएका थिए । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो ।
हालसम्म राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट तानेको र भुक्तानी दिन बाँकी रकम २ खर्ब ७९ अर्ब १० करोड रुपैयाँ छ । निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले खिचेको २ खर्ब ३१ अर्ब ५ करोड रुपैयाँ तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा रहेको ४८ अर्ब ०५ करोड रुपैयाँ परिपक्क हुन बाँकी छ ।



