वैरो संघमा लोकतान्त्रिकका दुई खेमामा, अरुको तालमेल

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा गरेका छन् ।
संघको निर्वाचनमा मुख्य तीन दल निकट व्यवसायीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा भने दुई खेमा प्यानल बनाएर मैदानमा उत्रिएको छ । बैरो संघको २७ औँ साधारणसभा फागुन २ गते हुँदैछ ।
साधारण सभाको मिति नजिकदै जाँदा नेतृत्वका आकांक्षीहरू मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन । संघमा निर्वाचनबाट नयाँ नेतृत्व तय हुने भएसँगै कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्षसहितका उम्मेदवार टुंग्याएको छ ।
एसोसिएसनले अध्यक्ष पदका लागि संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङलाई उम्मेदवार बनाएको छ । प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र महासचिवमा महेशकुमार बस्नेतलाई उम्मेदवार बनाउने निर्णय भएको छ । तर महासचिवका उम्मेदवार बस्नेतले भने एशोसियसनमा तीब्र बिबाद भएकाले आफुले मार्गप्रशस्तको गर्न भन्दै महासचिव पद त्यागेको बताएका छन ।
एसोसियसनमा तीब्र बिबाद भएपछि नेपाली काङ्ग्रेस पार्टीमा नै कसलाई उम्मेदवार बनाउने भनेर छलफल भइरहेको छ । यता गुरुङको उम्मेदवारीलाई लिएर एसोसिएसनमा असन्तुष्टि चुलिएपछि असन्तुष्ट समूह अध्यक्षका ६ दावेदारले छुट्टै प्यानल बनाएर मैदानमा उतारेको छ । उनीहरूले एशोसियसनका पुर्व अध्यक्ष एबम संघको पुर्व प्रथम उपाध्यक्ष कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरेका छन ।
एसोसिएसनमा अध्यक्ष पदको आकांक्षा राख्नेमा संघका वर्तमान महासचिव मेघनाथ भुर्तेल, प्रज्ञान न्यौपाने, चिरञ्जीवी बस्याल, किशोर केसी र सुजितकुमार श्रेष्ठ थिए । अघिल्लो साधारणसभामा विद्रोह गरी उम्मेदवार दिएर एसोसिएसनका अध्यक्ष हराउन सक्रिय गुरुङलाई कांग्रेसले अध्यक्षको उम्मेदवार उठाएपछि एसोसिएसनमा आबद्ध यी ६ जना व्यवसायीलगाएतको टिम असन्तुष्ट भएका हुन ।
उनीहरूलाई मिलाउन गृहमन्त्री रमेश लेखक र महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरु लागिरहेका छन । अध्यक्षका उम्मेदवार खनालले अघिल्लो साधारणसभामा गुरुङकै कारण एसोसिएसनको आधिकारिक उम्मेदवारले हार्नुपरेको बताए ।
एसोसिएसनका उम्मेदवारका लागि भएको निर्णय तत्काल सच्याउन कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराएको खनालले बताए । गुरुङभन्दा योग्य र व्यवसायीका हकहितमा काम गर्ने व्यवसायीलाई बाइपास गरेर उम्मेदवार बनाउनु समस्या भएको खनालले बताए ।
गुरुङकै कारण गत निर्वाचनमा एसोसिएसनले बढी संख्या भए पनि हार्नुपरेको उनको दावी छ । यता गुरुङले भने पार्टीको निर्णयअनुसार एसोसिएसन निर्वाचनमा जानुपर्ने बताए । विगतका गल्तीको समीक्षा गर्दै एक भएर साधारणसभाको तयारीमा लाग्नुपर्ने उनले बताए । ‘एसोसिएसनभित्रको समस्याले अर्को पार्टी निकट व्यवसायी संघलाई फाइदा पुग्दै आएको छ ।
‘यसअघि पनि यही समस्याका कारण एसोसिएसनले हार्नुपरेको थियो । मैले त्यति बेला गल्ती स्वीकारेको थिए,’ गुरुङले बताए ।
उनले पार्टीको आधिकारिक संस्था एशोसियसनको निर्णयलाई मानेर अगाडि बढनुपर्ने बताए । यस्तै संघको अध्यक्षमा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका तर्फबाट नरेश गेलाल र महासचिवमा जनक रावल सर्वसम्मत उम्मेदवार घोषणा भएका छन । गेलाल मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव र रावल मञ्चका वर्तमान अध्यक्षसमेत हुन ।
यस्तै माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चका पूर्वअध्यक्ष रामप्रसाद भन्तनाको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल घोषणा गरिएको छ । गणतन्त्रिक मञ्चले अन्य केही व्यवसायीसँग सहकार्य गर्ने भएको छ । भन्तनाले सबै व्यबसायिक संस्थासङ्ग छलफल भैरहेकोले छिट्टै पुरै प्यानल बनाएर ब्याबसायीमाझ जाने बताए ।
बैरो निर्वाचनमा संख्यात्मक हिसाबले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन बलियो मानिन्छ तर, एशोसियसनको विवादका कारण संघ निर्वाचनमा एशोसियसन पराजित हुने गर्दछ । संघमा एसोसिएसनका ३ सय ६० भन्दा बढी सदस्य रहेका छन ।