अमेरिकाले २०५ अवैध भारतीयलाई भारत नै ल्यायो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेसँगै गरिएको अवैध आप्रवासीलाई आफ्नै देश फर्काउने कामअन्तर्गत भारतीयहरूलाई फिर्ता गरिएको छ ।
अमेरिकामा कागजात नभएर बसिरहेका भारतीयहरू बोकेको सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।
बीबीसी हिन्दीका अनुसार ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि पहिलोपटक त्यहाँ रहेका भारतीयलाई देश निकाला गरेका हुन् ।
त्यहाँका सुरक्षा अधिकारीहरूले डिपोर्ट भएका भारतीयहरूको सूची जाँच गरिसकेका छन् भने उनीहरू कुनै अपराधमा नजोडिएको पनि पुष्टि गरेका छन् ।
रविदास विमानस्थलमा ओर्लिने केही भारतीयलाई भारतीय प्रहरीको गाडीमा उनीहरूकै गाउँसम्म पु¥याउनेछ। अन्य राज्यका नागरिकलाई भने विमानमार्फत नै घर पठाइने बताइएको छ ।
बीबीसीका अनुसार विमानस्थलमा सुरक्षा अवस्था कडा पारिएको छ। मिडियालाई प्रवेश अनुमति पनि दिइएको छैन। तर, डिपोर्ट भएर आएकाहरूसँग विमानस्थल बाहिर केहीबेर कुराकानी गर्न दिइने बताइएको छ । पन्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाबाट भारतीयहरूलाई देश निकालाको समाचारबारे प्रश्न गर्दा गम्भीर काम भएको जवाफ दिए ।
उनले आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, ’२०५ भारतीयहरू अमृतसरस्थित विमानस्थलमा अवतरण गर्नेछन्, जहाँ म आफैँ उनीहरूलाई स्वागत गर्न जानेछु ।’ त्यस्तै पञ्जाबका डीजीपी गौरव यादवले मुख्यमन्त्रीलाई उदृत गर्दै आफ्ना नागरिकलाई सरकारले मैत्रीपूर्ण रुपमा स्वागत गर्ने बताए ।