फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण दिनः राष्ट्रपति
काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस । १०४ बर्षको जहानियाँ राणा शासनको अन्त्य भएको दिन २००७ साल फागुन ७ लाई देशले प्रजातन्त्र दिवसको रुपमा मनाउँदै आइरहेको छ । सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण दिन रहेको बताएका छन् ।

राणा शासनले प्रजातन्त्रको वकालत गरे वापत मारेका चार सहिदहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री आज पनि सम्झनामा छन । यी चार लगायत मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गर्ने सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रजातन्त्र दिवस मनाइदै छ ।
प्रजातन्त्र दिवसलाई विशेष रुपमा मनाउन सैनिक मञ्च टुँडीखेलमा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ । उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपतिबाट ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम रहेको छ ।
प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ” भनेका छन् ।
प्रजातन्त्र दिवसको दिन शुभकामना सन्देश दिँदै सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् । प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त प्रेरणा दिने बताएका छन् ।
