मधेश प्रदेशका अनधिकृत १५ अस्पताल बन्द

काठमाडौं । मधेश प्रदेशका विभिन्न स्थानमा अनधिकृत रुपमा सन्चालित निजी अस्पताललाई प्रदेश सरकारले बन्द गराएको छ । मापदण्ड विपरित सन्चालित १५ वटा अस्पताललाई बन्द गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्री, स्वास्थ्य अधिकारी सम्मिलित टोलिले केही दिन देखि मधेश प्रदेशका विभिन्न अस्पतालको अनुगमन गरेको थियो । सो क्रममा मापदण्ड विपरित चलिरहेका अस्पताल बन्द गरिएको छ भने नविकरण विना सन्चालनमा रहेका अस्पताललाई नविकरण गरि प्रक्रियामा आउन भनिएको जनस्वास्थ्य अधिकृतले जानकारी दिएका छन् ।
मुख्यमन्त्री सिंहले निजी अस्पतालको अनुगमन गरी सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए ।
प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराइ सञ्चालनमा रहेका अधिकांश अस्पतालसँग अस्पताल सञ्चालन अनुमति थिएन । अनुमति प्राप्त केही अस्पतालले नवीकरण गरेका छैनन् ।