पशुपतिनाथ, बिहान २ बजेदेखि नै भक्तजनको भीड
काठमाडौं– आज महाशिवरात्रि पर्व। काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागिरहेको छ । पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए ।

सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ। यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गर्ने उनले बताए ।
निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ । महाशिवरात्रिका अवसरमा आज बुधबार बिहान २ बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको कोषले जनाएको छ । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले व्यवस्था गरेको छ ।
यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेबमोजिम फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ। पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ। बेलुकी पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ। यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए ।
