महानगरलाई राप्रपाले २४ घण्टा नबित्दै जरिवाना तिरो, एमालेले चार महिनासम्म तिरेन

महानगरलाई राप्रपाले २४ घण्टा नबित्दै जरिवाना तिरो, एमालेले चार महिनासम्म तिरेन
  • २६ फाल्गुन २०८१, सोमबार १५:१४

काठमाडौं– काठमाडौं महानगरभित्र कुनै कार्यक्रमका क्रममा भौतिक सम्पत्तिमा क्षति र वातावरण प्रदुषण भएको खण्डमा महानगरपालिकाले जरिबाना तिराउन थालेको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपासहित राजावादी संगठनका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भेला भएका थिए । तीनकुनेसहित विभिन्न स्थानमा भेला हुने क्रममा उनीहरुले बगैंचा, सडक पेटी तथा रेलिङमा क्षति पु¥याएको भन्दै महानगरले राप्रपालाई १ लाख जरिबानाको पत्र काटेक थियो ।

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले भने जरिबानाको पत्र काटेको २४ घण्टा नबित्दै महानगरलाई १ लाख रुपैयाँ बुझाएको छ । त्यसको २४ घण्टा नबित्दै राप्रपा नेता ज्ञानेन्द्र शाही सोमबार महानगरको कार्यालय पुगे । त्यसक्रममा उनले १ लाख रुपैयाँ जरिबाना तिरेको बैंक भौचर महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई बुझाएका छन् ।

गत मंसिर ७ गते सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा मुख्य सडक अवरुद्ध गर्दै कार्यक्रम गरेको थियो । त्यसक्रममा फोहोर गरिएको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिबानाको पत्र काट्यो ।तर एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिबाना तिर्न नपर्ने भन्दै पत्र लिन अस्वीकार गरे । मंसिर ९ गते महानगर प्रहरीको टोली चिट्ठी बुझाउन एमालेको मुख्यालय च्यासल पुग्यो ।

त्यतिमात्र होइन उनले कार्यक्रमको आयोजक एमाले केन्द्रीय कार्यालय नरहेको बताएका थिए । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्टन्टबाजी गरेको भन्दै उनले सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन आग्रह गरेका थिए ।

सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको दोस्रो पटक पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरु एमाले कार्यालय पुगेका थिए ।

एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले जरिबाना पत्र हुलाक र इमेलमार्फत पठाएको थियो । तर अहिलेसम्म पनि एमालेले उक्त जरिबाना रकम तिरेको छैन ।

काठमाडौं महानगरका मेयर बालेन शाहका प्रेस सहयोगी सुरेन्द्र बजगाईं एमाले अहिलेसम्म जरिबानाको रकम नबुझाएको जानकारी दिए । ‘एमालेलाई इमेल, हुलाकमार्फत पत्र पठाएका थियौं,’ बजगाईंले भने, ‘लामो समयदेखि नतिरेकाले अब कानुनी प्रक्रियामा जाने तयारीमा छौं ।’