फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डमाथि अविश्वसनीय पुनरागमन गर्दै २–१ को जित निकालेको छ। खेलको अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै अर्जेन्टिनाले स्पेनसँगको फाइनल यात्रा तय गरेको हो।
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। मैदानमा शारीरिक प्रतिस्पर्धा उच्च रहँदा पहिलो हाफमै धेरै फाउल र दुई पहेँलो कार्ड देखाइएका थिए।
दोस्रो हाफको ५५औँ मिनेटमा इङ्ग्ल्यान्डका एन्थोनी गोर्डनले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि इङ्ग्ल्यान्डले लामो समयसम्म खेल नियन्त्रणमा राखेको देखिए पनि अर्जेन्टिनाले हार मानेन।
८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। त्यसपछि थप गरिएको समयमा कप्तान लियोनेल मेस्सीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै विकल्पका रूपमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले निर्णायक गोल गरे। उक्त गोलसँगै अर्जेन्टिनाले २–१ को रोमाञ्चक जित हात पार्यो।
३९ वर्षीय लियोनेल मेस्सीले खेलमा गोल नगरे पनि एक निर्णायक असिस्ट गर्दै आफ्नो प्रभाव फेरि प्रमाणित गरे। प्रतियोगिताभर उनले ८ गोल र ४ असिस्ट गर्दै गोल्डेन बुटको दौडमा अग्रता कायम राखेका छन्।
यो खेल केवल फुटबल प्रतिस्पर्धा मात्र नभई अर्जेन्टिना–इङ्ग्ल्यान्डबीचको दशकौँ पुरानो ऐतिहासिक प्रतिद्वन्द्विताको निरन्तरता पनि बन्यो। विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ूह्यान्ड अफ गडू गोलका कारण यी दुई राष्ट्रबीचको भिडन्त सधैं विशेष रूपमा हेरिन्छ। खेलअघि दुवै देशका सञ्चारमाध्यम र समर्थकहरूले यही इतिहासलाई व्यापक रूपमा स्मरण गरेका थिए।
अब अर्जेन्टिनाले विश्वकपको उपाधिका लागि स्पेनसँग फाइनल खेल्नेछ भने इङ्ग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। एजे्न्सी