काठमाडौं । अब कृषि उपजको दैनिक थोक मूल्य मोबाइलमैःहेर्न सकिने भएको छ । सरकारले ल्याएको मोबाइल एप ‘एएमपिआइएस ampis नेपाल’ र वेभसाइटमार्फत देशभरका १२ वटा सङ्घीय कृषि उपज बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य हेर्न सकिने भएको छ। वेभसाइट एएमपिआइएस डट कम डट एनपी ampis.com.np मा समेत हेर्न सकिने छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि बजार सूचना प्रणालीलाई डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने उद्देश्य अनुरुप उक्त एप र वेभसाइट सञ्चालनमा ल्याइएको जनाएको छ ।
एप सन्चालन भएपछि बजार मूल्यसम्बन्धी भरपर्दो सूचना सर्वसाधारण सम्म पुग्ने र बिचौलियामाथिको निर्भरता घटाउने, उचित मूल्यमा कृषि उपज बिक्री गर्न सहयोग गर्ने तथा कृषि बजार प्रणालीलाई थप व्यवस्थित बनाउने छ ।
एपमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसहित देशका १२ वटा प्रमुख सङ्घीय कृषि बजारको दैनिक थोक मूल्य एपमार्फत सार्वजनिक गरिनेछ। एप र वेवसाइटमा कालिमाटी (काठमाडौं), सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी, रुपन्देही, बाँके, सुर्खेत, कैलाली तरकारी बजाको बजार मुल्य हेर्न सकिने छ ।
एप र वेभसाइटमा कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, विभिन्न बजारबीच मूल्य तुलना, मूल्यको दैनिक तथा समयानुसारको प्रवृत्ति, कृषि मौसमी सल्लाह बुलेटिन, बजारसम्बन्धी अद्यावधिक जानकारी प्राप्त गर्न सकिनेछ ।
यसले किसानलाई कुन बजारमा कुन कृषि उपजको मूल्य बढी छ भन्ने जानकारीका आधारमा बिक्रीको निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
‘एएमपिआइएस नेपाल’ एप एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने छ भने वेभसाइट आफ्नो ब्राउजरमा गई खोल्न सकिने छ ।
सरकारले यो प्रणालीले कृषि बजारमा सूचना पहुँच विस्तार गर्दै किसानलाई समयमै सही बजार मूल्य उपलब्ध गराउने, मूल्य पारदर्शिता बढाउने तथा कृषि उपजको बजारीकरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।