काठमाडौं– नेपालमा आज पहिलो दोस्रो कोदो दिवस २०८३’ मनाइँदैछ । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो।
धान, मकै र गहुँपछि नेपालको चौथो प्रमुख खाद्यान्न बालीका रूपमा रहेको कोदोको महत्वलाई उजागर गर्न यो दिवस मनाउन लागिएको हो ।कृषि, वन तथा पर्यावरण मन्त्रालयका कोदो चौथो प्रमुख खाद्यान्न बाली भएको जनाएको छ ।
कोदोको महत्व र विशेषता
कोदो विशेषगरी पहाडी क्षेत्रमा मकैपछिको महत्वपूर्ण बाली मानिन्छ। यसको विशेषता भनेकै कम सिँचाइ, कम मलिलो र पाखोबारीमा पनि राम्रो उत्पादन दिन सक्नु हो ।
आकाशे पानीको भरमा पनि यसको खेती गर्न सकिन्छ, जसले नेपालको अधिकांश खेतीयोग्य जमिनलाई उपयुक्त बनाउँछ । कोदोको खेतीमा कम रासायनिक मल र विषादी प्रयोग हुने भएकाले यसले हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ को तथ्यांक अनुसार, नेपालमा २ लाख २४ हजार ९३५ हेक्टर जमिनमा कोदो खेती गरिन्छ र यसबाट ३ लाख ७३२ टन कोदो उत्पादन भएको छ ।
तर, प्रतिहेक्टर उत्पादन १.३३ मेट्रिक टन मात्रै रहेको छ, जुन निकै कम हो। सन्जेलका अनुसार उन्नत प्रविधि, सिँचाइ र मलखादको उचित व्यवस्थापनले यसको उत्पादन र उत्पादकत्व बढाउन सकिने सम्भावना छ ।
संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रूपमा मनाएपछि नेपालमा पनि यसको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
तर, भन्सार विभागको तथ्यांकले भने फरक चित्र देखाउँछ। गत आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ टन कोदोजन्य उत्पादन आयात भएको छ भने ९४ लाख ७ हजार रुपैयाँ बराबरको ७० टन मात्र निर्यात भएको छ । यसले कोदो उत्पादन बढाउनुपर्ने आवश्यकता स्पष्ट देखाउँछ ।
पोषण र स्वास्थ्यका लागि कोदो
कोदो प्रोटिन, फाइबर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका पोषक तत्वहरूको राम्रो स्रोत मानिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नसर्ने रोगहरूको वृद्धि जनस्वास्थ्यको ठूलो चुनौतीका रूपमा देखिएको छ ।
यस समस्या समाधानका लागि कोदोको उत्पादन र उपभोग बढाउनु महत्वपूर्ण योगदान हुन सक्ने विज्ञहरू बताउँछन् ।
परिकार विविधीकरण र बजारीकरणको आवश्यकता
परम्परागत खेती प्रणाली र परिकारको विविधीकरणको ज्ञानको अभावले कोदोको उत्पादन र उपभोग न्यून छ । हाल कोदोबाट रोटी, ढिँडो र सातुजस्ता परम्परागत परिकार मात्र बन्ने गरेका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म कोदोका ६, चिनोको १ र कागुनोको १ गरी ८ वटा उन्नत जातहरू उन्मोचन तथा दर्ता गरिसकेको छ ।
नेपाल सरकारले प्रादेशिक सरकार र स्थानीय तहसँगको सहकार्यमा विगत पाँच वर्षदेखि कोदोजन्य बालीलाई केन्द्रमा राखी संघीय सशर्त अनुदान उपलब्ध गराउँदै आएको छ ।
प्रादेशिक र स्थानीय तहले पनि स्थान विशेष कोदोजन्य रैथाने बाली उत्पादन तथा प्रवद्र्धनमा सहयोग पुर्याएका छन् । कोदोको महत्वलाई बुझेर यसको उत्पादन बढाउन र परिकारमा विविधीकरण ल्याउन हामी सबैले मिलेर काम गर्नु आवश्यक छ ।